site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी भूमिमा नेपाली मृत्युको प्रमुख कारण– ‘हार्ट अट्याक’ र आत्महत्या
फाइल तस्बिर

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्युको संख्या पछिल्ला वर्षमा बढ्दो छ । अझ बढ्दो छ, हार्ट अट्याक (हृदयघात), कार्डियक अरेस्ट र सुसाइड (आत्महत्या) बाट मृत्यु हुनेको संख्या ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीका क्रममा विदेशी भूमिमा ७४० जना नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये ६४५ जनाको मृत्यु कारण खुलिसकेको छ । 

वैदेशिक रोजगार बोर्डको सचिवालयको तथ्याङ्क अनुसार, २०८१ साउन १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा हृदयघात, कार्डियक अरेस्ट र आत्महत्याका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १४६ छ ।  उक्त अवधिमा हृदयघातका कारण ५३, कार्डियक अरेस्टका कारण २७ र आत्महत्याका कारण ६६ जना नेपालीको मृत्यु भएको छ । यो भनेको कारण खुलेका कुल मृत्युको २२.६३ प्रतिशतभन्दा बढी हो । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कारण खुलेका मृत्युमध्ये ८.२१ प्रतिशतको हृदयघात, ४.१८ प्रतिशतको कार्डियक अरेस्ट र १०.२३ प्रतिशतको आत्महत्याका कारण मृत्यु भएको देखिन्छ ।

“नेपाली कामदारको वैदेशिक रोजगारीका लागि गन्तव्य राष्ट्र जानुअघि नेपालमा स्वास्थ्य परीक्षण हुन्छ । स्वास्थ्य परीक्षण पास भएपछि मात्र उनीहरू जान पाउँछन्,” वैदेशिक रोजगार विज्ञ गणेशमान गुरुङले बाह्रखरीसँग भने, “गन्तव्य राष्ट्र पुगेपछि पनि उनीहरूको स्वास्थ्य परीक्षण हुन्छ । परीक्षणमा पास भएपछि मात्र काममा पठाइन्छ । तर यस्ता स्वस्थ्य मान्छे कसरी हृदयघात, कार्डिक अरेस्ट र आत्महत्याको शिकार हुन्छन् । यो एकदमै रहस्यमय छ ।” 

वैदेशिक रोजगार विज्ञ गुरुङका अनुसार, वैदेशिक रोजगारीमा जाने अधिकांश युवा उमेरका छन् । उमेरका हिसाबले उनीहरूको मृत्यु नहुनुपर्ने हो । तर, जुन तथ्याङ्क बाहिर आइरहेको छ त्यो पत्यारिलो छैन । 

“एउटा कारण नेपालमाभन्दा धेरै बढी तापक्रममा (तातो) काम गर्नुपर्दा उनीहरूको शरीर त्यसअनुकुल हुन नसक्दा हृदयघात र कार्डिक अरेस्टको समस्या आएको हुनसक्छ । तर यो पनि त्यति ठूलो संख्यामा नहुनपर्ने हो,” वैदेशिक रोजगार विज्ञ गुरुङले भने ।

‘नेपाल लेवर माइग्रेसन रिपोर्ट, २०२२’ वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युलाई अझ डरलाग्दो गरी चित्रण गरेको छ । प्रतिवेदनमा वैदेशिक रोजगारीका क्रममा १४ वर्षमा अर्थात् आर्थिक वर्ष २०६५/७६ देखि २०७८/७९ सम्म भएका मृत्यु र तिनको कारण खोजिएको छ । 

प्रतिवेदन अनुसार, २०७५ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको १४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका १० हजार ६६६ जनाको मृत्यु भएको थियो । तीमध्ये ३ हजार ३९४ (३१.८२ प्रतिशत) जनाको मृत्युको कारण थियो, हृदयघात, कार्डियक अरेस्ट र आत्महत्या । 

उक्त १४ वर्षमा कार्डियक अरेस्टका कारण १ हजार ४७४ जना (१३.८१ प्रतिशत), हृदयघातका कारण ७३३ जना (६.८७ प्रतिशत) र आत्महत्याका कारण १ हजार १८७ जना (११.१२ प्रतिशत)को मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा मलेसियामा आत्महत्याका कारण ८०, हृदयघातका कारण १४ र कार्डियक अरेस्टका कारण २२ जनाको मृत्यु भएको थियो । 

यस्तै, त्यही तीन वर्षमा साउदी अरबमा आत्महत्याका कारण ७८, हृदयघातका कारण २३ र कार्डियक अरेस्टका कारण २८ जना नेपालीले ज्यान गुमाएका थिए । कतारमा उक्त समयमा आत्महत्याका कारण ५५, हृदयघातका कारण ३५ र कार्डियक अरेस्टका कारण ३३ जना नेपालीको मृत्यु भएको थियो । 

उक्त अवधिमा युनाइटेडर अरब इमिरेट्स (यूएई)मा आत्महत्याका कारण ५८, हृदयघातका कारण २६ र कार्डियक अरेस्टका कारण ५० जना नेपालीले ज्यान गुमाएका थिए । 

नेपालबाट स्वस्थ्य गएको व्यक्ति विदेशमा गएको केही दिनमै आत्महत्या, कार्डियाक अरेस्ट र हृदयघातबाट मृत्यु हुनुलाई सामान्य रुपमा लिन नहुने धारणा वैदेशिक रोजगार विज्ञ गुरुङ्को छ । 

बाहिर आएको मृत्युका कारणको विवरण तथ्यमा आधारित नभएको दाबी उनको छ । कसरी ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “मृत्यु हुने अधिकांश नेपालीको पोस्टमार्टम गरिँदैन । पोस्टमार्टम नगरी मृत्युको वास्तविक कारण कसरी खुल्छ ?” 

वैदेशिक रोजगार विज्ञ गुरुङ्का अनुसार, विदेशबाट नेपालमा शव ल्याउँदा कुनै पनि एयरलाइन्सले मृत्युको कारण खुलाइएको ‘डेथ सर्टिफिकेट’ नेहेरी शव नेपाल ल्याउँदैछनन् । यसैका लागि कुनै एक कारण लेखी डेथ सर्टिफिकेट बनाउने र शव नेपाल ल्याउने गरिएको दाबी उनको छ ।

“कम्पनीले पोस्टमार्टम नगरी अस्पतालबाट डेथ सर्टिफिकेट बनाएर ल्याउँछ र एयरलाइन्सलाई बुझाउँछ । त्यसलाई कसरी आधिकारिक मान्न सकिन्छ,” उनले भने ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको मृत्युको वास्तविक कारण पत्ता लगाउन बीमा प्रक्रियामा नै ‘पोस्टमार्टम’लाई पनि समेट्नपर्ने सुझाव वैदेशिक रोजगार विज्ञ गुरुङको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro