site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडियाे सार्वजनिक

गाजा । गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडियाे शनिबार सार्वजनिक गरेको छ । यो भिडियो प्यालेस्टिनी लडाकू समूहद्वारा तीन दिन पहिले पनि अर्को एक भिडियोमा एक बन्धकद्वारा आफूहरूको जीवन रक्षाका लागि केही गर्न याचना गरेका थिए । 

हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका दुई व्यक्तिको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ, जसलाई इजरायली अभियान समूह होस्टेज एण्ड मिसिङ फ्यामिलिज फोरमले किथ सिगेल र ओमरी मिरानको रूपमा पहिचान गरेको छ।

भिडियोमा मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताए । अमेरिकी नागरिक सिगलले पनि भिडियोमा हालैको लामो बन्दी जीवनबारे उल्लेख गरेका छन् । भिडियाेबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूको सकुशल फिर्तीका लागि आफूहरूले संघर्ष जारी राख्ने बताएका छन् । उनीहरूले इजरायली सरकारसँग बन्धकहरूलाई मुक्त गर्ने सम्बन्धी नयाँ सम्झौता गर्न आग्रह समेत गरेका छन् ।

युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै : हमास

हमासले युद्धविरामका लागि इजरायलले अघि सारेको प्रस्ताव आफूले अध्ययन गरिरहेको बताएको छ ।  मध्यस्थताकर्ता इजिप्टको एक प्रतिनिधिमण्डल इजरायलमा रहेको र रोकिएको वार्ता सुरु गर्न प्रयासरत रहेको सञ्चारमाध्यममा आएको समाचारको एक दिनपछि हमासले शनिबार गाजा युद्धविरामका लागि इजरायलको पछिल्लो प्रतिप्रस्तावको अध्ययन गरिरहेको जनाएको हो ।

संयुक्त राष्ट्रसंघले ठूलो मात्रामा खाद्यान्न सहयोग नआएसम्म आगामी ६ हप्ताभित्र गाजामा अनिकालको सीमा नाघ्ने चेतावनी दिएपछि युद्धविराम वार्ताको नयाँ संकेत देखिएको हो ।

इजरायलले गाजाको दक्षिणी रफाह सहरमा रहेका हमासका लडाकुमाथि आक्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेकाले गाजाको पहिलेदेखि नै भयावह मानवीय अवस्था अझ भयावह हुने सहायता समूहहरूले बताएका छन् ।

इजिप्टसँगको सिमानामा पर्ने रफाहमा इजरायल र प्यालेष्टिनी इस्लामिक समूह हमासबीच करिब सात महिनादेखि चलेको युद्धका कारण विस्थापित भएका लाखौं प्यालेस्टिनीको भीड लागेको छ ।

“हामी निरन्तर आतंकित, बारम्बार विस्थापन र आक्रमणको डरमा बाँचिरहेका छौँ,” उत्तरमा इजरायली आक्रमणबाट भागेर आफ्ना पति र छोराछोरीसहित रफाह आएकी ३० वर्षीया निदा साफीले बताइन् । 

उक्त क्षेत्रमा नियमित बमबारी हुने गरेको छ । अस्पतालका अधिकारीका अनुसार रफाह र अन्य स्थानमा भएको हवाइ आक्रमणमा शनिबार एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । मृतकमध्ये एक परिवारका सदस्य रहेको उनका आफन्त मोहम्मद युसुफले जानकारी दिए । उनले भने, “ मेरो घरलाई निशाना बनाउँदा बाबु, आमा, एक छोरी र दुई छोराको मृत्यु भयो । कोही पनि बाँकी रहेनन् ।”

युद्धविरामका लागि मध्यस्थता गरिरहेको इजिप्टले अवरुद्ध वार्ता अघि बढाउनका लागि ताजा जानकारीसहितको प्रतिनिधिमण्डल इजरायल पठाएको विवरण सञ्चारमाध्यमहरूमा आएका छन् ।

इजरायलका विदेशमन्त्रीले बाँकी बन्धकहरूलाई मुक्त गर्ने सहमति भए इजरायलले गाजाको दक्षिणी सहर रफाहमा गर्ने तयारी गरिरहेको स्थल कारबाही रोकिन सक्ने शनिवार बताउनुभएको थियो । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro