
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा यतिखेर प्रहरी हिरासतमा छन्, राजतन्त्र पुनःस्थापना आन्दोलनलाई हिंसात्मक बनाएवापत । क्यान्सर रोगको उपचारबाट फर्केका राणा चैतको उजाड दिनलाई अझ विरक्त बनाउँदै छन् ।
धवलशमशेर राणा र रवीन्द्र मिश्र एकाएक ‘राजावादी कित्ता’ प्रखर बनाउँदै सत्ता हातमा लिन सकिन्छ कि भन्ने धूनमा लीन भएपछि मुलुकले सकस खेप्नुपरेको छ ।
कसैगरी राजतन्त्र फर्कियो भने ‘मनोनीत मन्त्री’ पाइन्छ भन्ने सपना तिनमा देखिन्छ । किनभने २०५९ असोज १८ पछि २०६२ सम्म ज्ञानेन्द्रले सडकबाट टिप्दै मन्त्री बनाएको दृश्य तिनको आँखामा कैद छ नै । अनि पञ्चायतकालभरि त मनोनीतकै रजगज थियो ।
धवलशमशेरलाई साथ दिन बुढ्यौली उमेरमा पशुपतिशमशेर राणा पनि सक्रिय हुन खोज्दै छन् । अनि, पशुपतिशमशेर–धवलशमशेर राजतन्त्रलाई खोपीमै राख्दै शासकीय सत्तासहित भोगविलासमै रमेका ‘शमशेर’ खलकका नाति–पनाति पुस्ता हुन् ।
धवलशमशेर श्री ३ देवशमशेरका पनाति हुन् भने पशुपतिशमशेर श्री ३ चन्द्रशमशेरका ।
यद्यपि देवशमशेर चाहिँ सीमित समयमात्र श्री ३ महाराज बने, किनभने उनी अलि सुधारवादी शासक ठानिन्थे । त्यहीकारण उनी १९५७–१९५८ सालमा छोटो समय प्रधानमन्त्री भए । देवशमशेर, जसलाई आफ्नै भाइहरु चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेरले मिलेरै धनकुटा लखेटे, ‘कमजोर शासक’ ठान्दै ।
अर्थात्, मुलुकभित्र रहेर लामो समय शासकीय शक्ति भोगविलास गर्न नपाएका राणाका सन्तान भन्दा हुन्छ, धवलशमशेरलाई ।
शक्ति–धनको हिसाबले देवशमशेरका सन्तानको इतिहास त्यति दरिलो छैन, जति चन्द्रशमशेर, भीमशमशेर, जुद्ध शमशेरका खलकको छ । अर्थात्, देवशमशेरका खलकले धेरै समय मुलुक ‘लुट्न’ पाएनन् ।
आफ्नै भाइहरुले श्री ३ को श्रीपेच मात्र झिकेनन् कि देवशमशेरलाई काठमाडौंबाट धनकुटा लखेटे ।
त्यसपछि भाइहरुसँग धनकुटाबाट इलाममा बस्न इच्छा जाहेर गरे । दाइको आग्रहलाई टार्न सकेनन्, इलाम बस्न दिइयो । तर, त्यहाँबाट छलेर दार्जीलिङमा ब्रिटिश सरकार लिँदै पलायन भए । आफू पलायन हुनुअगावै सम्पत्ति भारत पुर्याइसकेका थिए । त्यसपछि भारतको मसुरीमा महल निर्माण गरी देवशमशेर त्यतै रमाए ।
अनि, यो मुलुकमा ३१ वर्ष एकछत्र निरंकुश शासनकर्ता बने, चन्द्रशमशेर । तिनैका पनाति पशुपतिशमशेर राणा पञ्चायत–बहुदल–गणतन्त्रमा शासकीय वृत्तमै छन्, कुनै न कुनै पदसहित ।
चन्द्रशमशेर छोरा मोहन शमशेर, तिनका छोरा विजय शमशेरका छोरा हुन्, पशुपति शमशेर । अर्थात्, अन्तिम राणा शासक मोहनशमशेरका नाति हुन्, पशुपति शमशेर । अनि, जन्मदै जर्नेलबाट परिचित ।
राजा त्रिभुवन स–परिवार भारत शरण गएपछि नेपालमै छुटेका ज्ञानेन्द्र राजा भए, २००७ सालमा । ज्ञानेन्द्रको त्यो सपथका एक साक्षी हुन्, पशुपतिशमशेर । उनले ज्ञानेन्द्रको टाउकामा दुईपटक श्रीपेच परेको देखिसकेका छन् ।
कांग्रेसले सशस्त्र क्रान्ति नगरेको भए, ज्ञानेन्द्रको त्यो पहिलो खेपको श्रीपेच खोसिने थिएन कि ? त्रिभुवनलाई पुनः राजाकै रुपमा गद्दीमा राख्न कांग्रेसकै क्रान्तिले भूमिका खेलेको थियो ।
तर, दरबारले गुनको बदलामा निरन्तर दुःख–पीडा र सकस दिएपछि श्रीपेच खोस्न अन्ततः कांग्रेस पनि अग्रसर बन्यो । अन्ततः २०६५ जेठमा श्रीपेच संग्रहालयमा थन्काउने काम कांग्रेसले नै गर्यो ।
यतिखेर ८३ वर्षीय पशुपति शमशेर, ६३ वर्षीय धवलशमशेर संविधानतः पदच्यूत पूर्वराजा ज्ञानेन्द्रलाई स्थापित गर्न बढेशकालमा हड्डी खियाउँदै छन् । तिनको कुनै न कुनै किसिमको स्वार्थ अन्तर्निनिहित हुनुपर्छ नै ।
धवलशमशेरका हजुरबुवा मसुरीशमशेर प्रवासी जीवन त्याग्दै मसुरीबाट नेपालगञ्ज बसाईँ सरेका थिए । नेपालगन्जमै मिल खोल्दै व्यापार–व्यवसायमै लागे ।
निस्कासित राणा परिवार काठमाडौं खाल्डोमै सहजै फर्कन कठिन थियो, राणा शासन हुँदासम्म । धेरैजसो भारतमै भासिए, कोही–कोही मात्र फिर्ता भए । तिनीहरु कोही नेपालगन्ज, कोही पर्सा–रौतहटमा रहे ।
धवलशमशेरका बुबा कैलाशशमशेर चाहिँ ‘कृषि इन्जिनियर’ बनेका थिए । उनलाई नेपालको पहिलो कृषि इन्जिनियर मानिन्छ ।
धवलशमशेर नेपालगन्जमै जन्मिए । तर, शिक्षा–दिक्षा चाहिँ मसुरीमै भयो, जहाँ उनको विरासत थियो । राजनीति शास्त्र पढेका र नगरविकास विद्यावारिधि गरेका छन् ।
अनि उनी शक्तिका लागि दलीय रंग बदल्न माहिर छन् । अर्थात् जता शक्ति बलियो हुन्छ, त्यतै खुट्टा लम्क्याउन माहिर छन् भन्दा हुन्छ । २०४८ प्रजातन्त्र पुनःस्थापनासँगै पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिए । त्यो पार्टीको त्यति भविष्य नदेखेपछि उनमा ‘कम्युनिष्ट मोह’ देखा पर्यो ।
उनी २०५४ सालमा नेकपा एमालेको टिकटमा नेपालगन्जको मेयर जिते । जतिखेर एमाले कडा कम्युनिष्ट मानिन्थ्यो । त्यो पार्टीबाट मेयर जिते । पछि फेरि आफ्नै मातृ पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमै फर्किए ।
२०७० सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संविधानसभा सदस्य बन्ने लक्ष्य पूरा भएन । तर, २०७४ को स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका मेयर जित्न सफल भए ।
उनी पछिल्लो २०७९ संसदीय निर्वाचनमा बाँके–२ बाट विजयी हुँदै प्रतिनिधि सभा सदस्य सफल भए । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेल मिलेको हुँदा चुनाव जित्न सफल भएका हुन् । अर्थात्, एमालेले उनी राप्रपामा गए पनि माया नै गर्यो ।
धवलशमशेर सक्रिय राजावादी हुुनुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भावी अध्यक्ष बन्ने योजना अन्तर्निहित हुन सक्छ । किनभने, राप्रपाभित्र दरबारको पकड बलियो छ । कमल थापाले आफू अध्यक्षमा पराजित हुनुको पूरै दोष ज्ञानेन्द्र शाहमाथि पोखेका हुन्, सार्वजनिक रुपमै ।
त्यतिखेर दरबारको आशीर्वाद राजेन्द्र लिङदेनलाई मिल्यो । अब उनै लिङदेनको उत्तराधिकारी बन्ने धूनमा धवलशमशेरको सक्रियता बढेको टिप्पणी राष्ट्रिय प्रजातन्त्र पार्टीकै मानिसहरु गर्छन् ।
त्यसकारण पनि धवल शमशेरका निम्ति ‘राजतन्त्र पुनःस्थापना’ होस् या नहोस् राजावादी शक्ति रहिरहँदा फाइदाको हिसाब–किताब बढी नै लगाएका छन् ।
उता पशुपतिशमशेरको मनमा चाहिँ दरबारले आफ्नो वंशजको सत्ता मात्र होइन कि सम्पत्ति खोसेको पीडा पछिसम्म पनि देखिन्थ्यो । उनी अनौपचारिक कुराकानीमा भन्ने गर्थे, ‘दरबारले चन्द्रशमशेर खलकलाई खसाल्ने र बुख्याँचा बनाउने काम मात्र गरेको छ । जुद्धशमशेरका खलकसँग माया–प्रीति गासिइनै रह्यो ।’
त्यो विषय खोतल्ने हो भने लामै इतिहास बन्छ । अनि पशुपतिशमशेर हकमा प्रश्न उठ्छ नै, ‘जीवनको उत्तराद्र्धमा पुगेका राणालाई के फाइदा होला ?’
त्यसो त, दाउपेच र षड्यन्त्रका गोटी चलाइरहनु राणाजीहरुको पुस्तैनी सोख हो । कतै त्यही सोख पूरा गर्ने मेलोमा मुलुकलाई फेरि हिंसाजन्य भूमि त बनाउँदै छैनन् ?