site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'२–४ जना गार्ड'ले भाटभटेनी जोगाए, हजार प्रहरीले तीनकुने जोगाउन किन सकेनन् ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट गरेर फकिएलगत्तै बिहीबार तीनकुने आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले आफ्नो निवासमा सय बढी युवालाई सम्बोधन गरेर निर्देशन दिए । 

प्रसाईं चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको ‘हिंसात्मक आन्दोलन’का कमान्डर हुन् । उनलाई निकै नजिकबाट सहयोग पुर्‍याउने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा थिए ।

राजावादी समर्थकले तीनकुनेमा उत्पात मच्चाए । उनीहरुकै दाबीअनुसार त्यहाँ ‘घुसपैठ’ भएको थियो । तर प्रहरी उच्च अधिकारीले यो हदसम्म हुन्छ भन्ने थिएन तर रणनीति उनीहरुकै थियो ।

तोडफोड र आगजनीका कारण एक पत्रकारसहित दुई जनाको ज्यान गयो । अर्बौँ रुपैयाँको क्षति भयो । तीनकुनेमा व्यक्तिका निजी सम्पत्ति तोडफोड भए, कैयौँ सवारीसाधनमा आगजनी भयो । 

काठमाडौं प्रहरीका एसपी अपिल बोहोराले नौ वटा कार्यालय र दर्जनौं घरमा क्षति पुर्‍याइएको छ । त्यहाँबाट अनियन्त्रित भएको भिडले जडिबुटीमा रहेको सन्चो कम्पनीमा आगजनी गर्‍यो ।  कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको स्टोर तोडफोड गर्न अनियन्त्रित भिड पुग्यो ।

भाटभटेनीमा सयौंको संख्यामा रहेको भिड पुग्यो । उनीहरुले तोडफोड गर्न थाले । त्यहाँ खटिएका सुरक्षाकर्मीले त्यो उत्पात हेर्न सकेनन् । त्यसमध्येका एक हुन् सिन्धुपाल्चोकका कृष्णप्रसाद पराजुली । 
उनीसहित २–४ जना सुरक्षागार्ड लाठी समातेर अनियन्त्रित भिडमाथि जाइलागे । 

भित्र पसेर लुटिरहेका ‘लुटेरा समूह’ टुलुटुलु हेरेर बस्न सकेनन् । लगातार लाठी प्रहार गरेर उनीहरुले लुटेरा समूहलाई बाहिर निकाले, भाटभटेनीलाई ‘सन्चो’ बनाउनबाट जोगाए । अहिले सामाजिक सञ्जालमा ती गार्डको प्रशंसा भइरहेको छ ।

तर करिब हजार प्रहरी तैनाथ रहेको क्षेत्र किन ‘रणभूमि’ बन्यो ?

तीनकुनेका केही घर र जडिबुटी प्रशोधन कम्पनीमा कसरी ठूलो क्षति पुग्यो ? पूर्ण विवरण प्राप्त नभए पनि प्रशोधन कम्पनीमा मात्रै ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । यसरी अराजकता मच्चाउँदै हिँड्दासमेत प्रहरी किन मुकदर्शक बन्यो ?

घर तोडफोड हुँदा किन रोक्न सकेन ? आजगनी रोक्न किन सकेन ? लगायतका प्रश्न अहिले प्रहरीतर्फ तेर्सिएका छन् ।

आन्तरिक सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी पाएको गृह मन्त्रालय र प्रहरी कमजोर बन्दा राजावादीको प्रदर्शन अराजक बनेको केही प्रहरी अधिकारी नै स्वीकार गर्छन् ।

उनी भन्छन्,‘‘पूर्वनिर्धारित कार्यक्रमअनुसार नै तीनकुनेमा करिब चार हजारको संख्यामा आएका प्रदर्शनकारीले अराजकता मच्चाए । दंगा नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल र प्रहरी पुरै चुके । पछि एकाएक सेना नै सडकमा उत्रिनु पर्‍यो ।’’

सशस्त्र प्रहरी बलको त अश्रुग्यास प्रहार गर्ने ‘ग्यास गन’ नै प्रदर्शनकारीले लुटे । उक्त गन अझै नभेटिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।

किन चुक्यो प्रहरी ?

चैत १५ मा राजावादी र गणतन्त्रवादी दुवै पक्षले काठमाडौंमा प्रदर्शन गर्ने सार्वजनिक कार्ययोजना थियो ।  त्यसको सुरक्षाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋिषिराम तिवारी प्रमुख हुने जिल्ला सुरक्षा समितिको बैठक निरन्तर बसेको थियो ।

सोही बैठकका आधारमा राजावादीलाई प्रदर्शनका लागि तीनकुने र गणतन्त्रवादीलाई प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप उपलब्ध गराइयो । जिल्ला सुरक्षा समितिलाई गणतन्त्रवादीको प्रदर्शन अराजक नहुने भए पनि व्यवस्था विरोधी राजावादीको प्रदर्शन अराजक हुने अनुमान पहिला नै थियो ।

सोही विश्लेषणका आधार प्रहरीले तीनकुनेको सुरक्षा अवस्था मजवुद बनाउने रणनीति तय गर्‍यो । 

काठमाडौंका सबै युनिटका प्रहरीलाई तीनकुने केन्द्रित गरायो । केही मात्रामा मात्रै भृकुटीमण्डप खटाएको थियो । प्रहरीबाहेक सशस्त्र प्रहरी बलका दुईजना एसपीको कमाण्डमासमेत टोली तीनकुने खटिएको थियो ।

तर, राजावादीको प्रदर्शन सुरु नुहँदै तीनकुनेको माहोल बिग्रँदै गयो । कोटेश्वरबाट तीनकुने पुगेका ‘सन्तोष राजावादी’को समूहले तीनकुने हुँदै बानेश्वरतर्फको निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि माहोल बिग्रँदै गयो । 

त्यसैको केही समयपछि राजावादीको प्रदर्शनका कमान्डर तोकिएका दुर्गा प्रसाईंले आफ्नो गाडीमा आएर प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीलाई नै जबर्जस्त गाडी कुदाएर निषेधित क्षेत्र तोड्न सफल भए ।

उनी गाडीसहित बानेश्वर सिभिल अस्पताल नजिक पुगे । प्रहरीले दुर्गाको गाडी र उनलाई नियन्त्रणमा लियो । तर, होल्ड भने गर्न सकेनन् । उनी पुनः प्रदर्शनमा नै उत्रिए ।  दुर्गा प्रसाईंलाई फेरि तीनकुने पुगेर प्रदर्शनमा उत्रिए पछि भने झन् माहोल अराजक बन्दै गयो । 

प्रहरी र सशस्त्र प्रहरी बलको पुरै टोली निरीह बन्यो । प्रदर्शनकारीले लगाएको घरमा लागेको आगोमा फसेका पत्रकार सुरेश रजकको बारेमा जानकारी गराउँदासमेत उद्दार गर्न सकेनन् ।

फिल्डमै खटिएका प्रहरीका अनुसार बल प्रयोग गरेर सुरेशको उद्धारका लागि खटिने अवस्था हुँदासमेत प्रहरी र सशस्त्र प्रहरी बलको टोली अघि नै बढ्न सकेन । 

काठमाडौं महानगरपालिकाले पठाएको दमकलकोसमेत सुरक्षा गर्न पुरै सुरक्षा निकाय चुक्यो ।

व्यावसायिक मनोबल गुम्दाको परिणाम

शुक्रबार दुर्गा प्रसाईंको हर्कत र प्रदर्शनमा उत्रिएका अराजक भिडलाई नियन्त्रण गर्न प्रहरीले किन समयमै बल प्रयोग गरेन भन्ने प्रश्न उज्जिएको छ ।  तर, प्रहरी संगठन राजनीतिक दलले नै थिलोथिलो हुनेगरी कमजोर पारेका छन् ।

प्रहरीमा ‘राइट म्यान राइट प्लेस’ भन्ने अवधारणा नहुँदा समस्या देखिएको एक उच्च अधिकारीको तर्क छ । राजनीतिक शक्तिकेन्द्र मार्फत् हुने दबाबका भरमा प्रहरी महानिरीक्षकले सरुवा र बढुवा गर्नुपर्ने हुन्छ । प्रहरीमा व्यवसायिक मूल्यांकन शून्यजस्तै भइसकेको छ । प्रदर्शनमा अराजक गतिविधि गर्ने समूहमाथि बल प्रयोग गर्ने प्रहरी अधिकारीमाथि नै कारबाहीका डण्डा बजारिएका उदाहरण छन् ।

जसकारण प्रदर्शनमा खटिने प्रहरी अधिकारी बल प्रयोग गर्ने अवस्थाबाट पछि हट्ने गरेको फिल्डमा खटिने प्रहरी अधिकारी नै स्वीकार गर्छन् ।  त्यसैको एउटा उदाहरण राजावादीले गरेको वितण्डामा प्रहरीले देखाएको निरीहता हो ।  

गएको फागुन १८ गतेमात्रै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शन उग्र बनेपछि नियन्त्रण गर्न खोज्दा प्रहरी वृत्त सिंह दरबारका प्रमुख डीएसपी गंगा पौडेल नै घाइते भए । 

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले डीएसपीको टाउको नै फुट्ने गरी बाँस प्रहार गरे । उनी अस्पताल भर्ना हुनुपर्‍यो । पछि प्रहरीले डीएसपीमाथि नै आक्रमण गर्ने प्रदर्शनकारीलाई पक्राउ गरेर मुद्दा नचलाई् छाडियो । 

२०८० पुस १३ मा ललितपुर बालकुमारीस्थित कोरियन भाषा परीक्षा विवादका क्रममा भएको प्रदर्शनका बेला तत्कालीन भौतिक योजना तथा यातायत मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।  मन्त्री ज्वालालाई नै उनीहरुले गाडीभित्र जलाउने प्रयास गरे । त्यही बेला फिल्डमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरमा डीएसपी उमेश लम्सालले अवस्था नियन्त्रणमा लिन गोली चलाए ।

प्रहरीको गोली लागेर अछामका युवा २१ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन राउतको मृत्यु भयो ।  भाषा परीक्षार्थीको ढुंगा प्रहारबाट केही प्रहरीसमेत घाइते भए । 

तर, प्रहरीले बल प्रयोग गरेर युवाको ज्यान गएको भन्दै डीएसपी लम्साल र प्रहरी सहायक निरीक्षक (असई) बोधराज अधिकारी निलम्बनमा नै परे । यी बाहेक प्रहरीलाई कमजोर पार्ने अन्य थुपै्र घटना भएको हुनाले पनि मनोबल कमजोर भएको उच्च अधिकारीको टिप्पणी छ ।

सुन तस्करीको अनुसन्धानमा खटिएका प्रहरीदेखि निर्मला पन्तको अनुसन्धानमा खटिएका प्रहरीमाथिको कारबाहीले प्रहरी व्यावसायिकता देखाएर निर्भिकताका साथ अघि बढ्न नसक्ने अवस्थामा पुगेको ती अधिकारीको टिप्पणी छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro