
काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईका एक सल्लाहकारले अमेरिका वा यसका सहयोगीले आफ्नो देशमाथि आक्रमण गरे आणविक हतियार बनाउन बाध्य हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम बन्द गर्ने सम्झौता नगरे बम प्रहार गर्ने धम्की दिएपछि इरानका तर्फबाट यस्तो चेतावनी आएको हो ।
फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार, खामेनेईका सल्लाहकार अली लारिजानीले इरानको राष्ट्रिय टीभीसँगको कुराकानीमा आफ्नो देश आणविक हतियार बनाउनेतर्फ नलागेको बताए । तर, अमेरिकाले इरानी आणविक विषयमा गलत कदम चाले आफूलाई बचाउन पनि त्यसतर्फ अघि बढ्न बाध्य हुने उनले स्पष्ट पारे ।
“इरान आणविक हतियार बनाउन चाहँदैन । तर, अमेरिका आफैँले वा इजरायलको माध्यमबाट बम प्रहार भएमा त्यसको अर्को विकल्प हुने छैन,” उनले थपे ।
गएको शनिबार एनबीसी न्युजसँग अमेरिकी राष्ट्रपति ट्रम्पले इरान आणविक सम्झौता गर्न सहमत नभएमा बम प्रहार गर्ने धम्की दिएका थिए ।