site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के नेपाली विदेशमा हिँड्न जान्दैनन् ? १४ वर्षमा १३ सय बढीको सडक दुर्घटनामा मृत्यु 
SkywellSkywell

काठमाडौं । कुवेतको महबुला क्षेत्रको समुन्द्री किनारस्थित सडकमा गत फागुन २९ गते सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भयो ।  मृत्यु हुनेमा अछामको पन्चदेवल विनायक–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धिरज मगर र काठमाडौंको नागार्जुन नगरपालिका सुजन कार्की थिए । 

बाटो काट्दै गरेका उनीहरूलाई उच्च गतिमा आएको कारले ठक्कर दिएपछि उनीहरूको मृत्यु भएको थियो ।  वैदेशिक रोजगारीका क्रममा खाडी राष्ट्र तथा मलेसिया जाने नेपालीहरूमध्ये प्रत्येक वर्ष ठूलो संख्याले ज्यान गुमाउने गरेका छन् । नेपालीको ज्यान लिने केही प्रमुख कारणमध्ये एक हो, सडक दुर्घटना । 

कार्डियक अरेस्टपछि सबैभन्दा ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएका नेपालीको ज्यान सडक दुर्घटनाका कारण हुने गरेको तथ्याङ्कले देखाउँछ । बाटो काट्दै गरेका नेपालीलाई सवारी साधनले ठक्कर दिने गरेको पाइन्छ ।

KFC Island Ad
NIC Asia

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्मको १४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका १० हजार ९३२ जनाको मृत्यु खाडी राष्ट्र तथा मलेसियामा भएको छ ।

नेपाल श्रम आप्रवासन प्रतिवेदनअनुसार, उक्त अवधिमा सडक दुर्घटनामा परेर एक हजार ३५९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी कार्डियक अरेस्टबाट एक हजार ४७४ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । 

Royal Enfield Island Ad

बाटो काट्ने क्रममा सडक दुर्घटनामा परी किन यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाइरहेका छन् ? के नेपालीले हिँड्न नजानेका हुन् त ?

समाजशास्त्री तथा वैदेशिक रोजगारका जानकार डा. गणेश गुरुङले बाह्रखरीसँग भने, “हिँड्न नजानेको जस्तो देखिन्छ, किनभने नेपाल र विदेशको सिस्टम नै फरक छ । हाम्रोमा कहाँबाट बाटो काट्ने कहाँबाट नकाट्ने केही मतलब छैन, तर विदेशमा जथाभावी बाटो काट्न पाइँदैन ।” 

वैदेशिक रोजगारीमा पठाउनुअघि राज्यले दिनुपर्ने अभिमुखीकरण तालिम राम्रोसँग नदिएका कारण वर्षेनी ठूलो संख्यामा नेपालीले सडक दुर्घटनामा विदेशी भूमिमा ज्यान गुमाउनु परेको बुझाई उनको छ । 

नेपालमा ट्राफिक नियमको पालना राम्रोसँग हुने गरेको छैन । ट्राफिक नियम सवारी साधन चलाउनेका लागि मात्र होइन पैदल यात्रुका लागि पनि हुन्छ र उत्तिकै पालना गर्नुपर्छ ।
 
तर नेपालमा पैदल यात्रुले ‘जेब्राक्रस’ तथा आकाशे पुलबाट भन्दा पनि आफूलाई जहाँ सजिलो र पायक पर्छ त्यहीँबाट बाटो काट्ने गर्छन् । यही बानी विदेशमा गरिदिँदा दुर्घटनामा बढी पर्ने गरेका छन् । 

“विदेशमा बाटो काट्न खास ठाउँ तोकिएको हुन्छ । अन्यत्रबाट बाटो काट्न पाइँदैन । सडकमा सवारी साधनको गति निर्धारण गरिएको हुन्छ । द्रूत गतिमा सवारी साधन चलाइने सडकमा अनपेक्षित ठाउँमा बाटो काट्दै गरेको देखे पनि गाडीको स्पीडका कारण रोक्न भ्याउँदैनन् । अनि दुर्घटना हुनेगर्छ,” उनले स्पष्ट पारे ।

वैदेशिक रोजगारीमा हाल दिँदै आइएको अभिमुखीकरण तालिमले नेपालको ज्यान जोगाउन नसक्ने ठहर गुरुङको छ । 

उनकै शब्दमा, ‘१२ घण्टे’ तालिमले पुग्दैन । श्रीलंकामा जस्तो ६ महिने अभिमुखीकरण तालिम गर्नुपर्ने सुझाव उनको छ । “काम गर्न जुन देश जाने हो त्यो देशको भाषा, संस्कृति, नीति–नियम जस्ता आधारभूत ज्ञान लिएर जानुपर्छ,” समाजशास्त्री तथा वैदेशिक रोजगारका जानकार गुरुङ भन्छन्, “कम्तिमा पनि सम्बन्धित देशमा गर्न नहुने के के हो त्यो थाहा पाएर जानुपर्छ ।” 

नेपाल श्रम आप्रवासन प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्मको अवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये हृदयघातका कारण ७३३, प्राकृतिक कारण २ हजार ७७, आत्महत्याका कारण १ हजार १८७, कार्यालयमा भएका दुर्घटनामा परी ७५४, कोभिड–१९ बाट २०७ र अन्य कारण २ हजार ८७५ जनाको मृत्यु भएको छ ।

तथ्याङ्कले सबैभन्दा बढी नेपाली कामदारको मृत्यु कार्डियक अरेस्ट, सडक दुर्घटना र आत्महत्याका कारण भएको देखिन्छ । 

सडक दुर्घटनामा परी आर्थिक वर्ष २०६५/६६ मा ८ जना, २०६६/६७ मा ६७ जना, २०६७/६८ मा ६० जना, २०६८/६९ मा १०१ जना, २०६९/७० मा १०४ जना, २०७०/७१ मा ११२ जना, २०७१/७२ मा १२१ जना, २०७२/७३ मा १०३ जना, २०७३/७४ मा १२२ जना, २०७४/७५ मा १२७ जना, २०७५/७६ मा ११५ जना, २०७६/७७ मा ७६ जना, २०७७/७८ मा ११४ जना र २०७८/७९ मा १२९ जना नेपालीले ज्यान गुमाएका थिए । 

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा (दुई वर्ष) सडक दुर्घटनामा परी साउदी अरबमा १२९, कतारमा ६६, युनाइटेड अरब इमिरेट्स (यूएई)मा ५२, मलेसियामा ४०, कुवेतमा १४, जापानमा ४, बहराइनमा २ र ओमानमा १ जना नेपाली कामदारको मृत्यु भएको थियो । 

नेपाल सरकारले तयार पारेको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको नेपालीको तथ्याङ्कको आधार एकदमै कमजोर रहेको भनाई समाजशास्त्री तथा वैदेशिक रोजगारका जानकार गुरुङको छ । 

“मृत्यु हुने नेपाली सबैको पोष्टमार्टम गरिँदैन । पोष्टमार्टम गरे मात्र मृत्युको कारण पत्ता लाग्छ । नेपालीको शव नेपाल पठाउने क्रममा एयरलाइन्सको आवश्यकता पूरा गर्ने उद्देश्यले मात्र कागजमा मृत्युको कारण लेखिदिने गर्छन्, जसलाई पूर्ण विश्वास गर्न सकिदैन,” उनले स्पष्ट पारे । 

६२ लाख वैदेशिक रोजगारीमा जाँदा १३ हजारभन्दा बढीको मृत्यु  

पछिल्लो १५ वर्ष ८ महिनामा अवधिमा ६२ लाख ४३ हजार ३७० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।  वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार २०६५ साउन १ गतेदेखि २०८० फागुन मसान्तसम्मको अवधिमा उक्त संख्यामा नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । 

“आर्थिक वर्ष २०६५/६६ देखि २०८०/८१ को फागुनसम्म वैदेशिक रोजगारीमा गएकामध्ये १३ हजार ३९५ जनाको मृत्यु भएको छ,” वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले बाह्रखरीलाई बताए । 

यो तथ्याङ्कले वैदेशिक रोजगारीमा जानेमध्ये ०.२४ प्रतिशतको मृत्यु विभिन्न कारण गन्तव्य राष्ट्रमा हुने गरेको देखाउँछ । उक्त अवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये २ हजार ८४७ जनाको अंगभंग भएको छ । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ लाख १९ हजार ९६५ जना, २०६६/६७ मा २ लाख ९४ हजार ९४ जना, २०६७/६८ मा ३ लाख ५४ हजार ७१६ जना, २०६८/६९ मा ३ लाख ८४ हजार ६६५ जना र २०६९/७० मा ४ लाख ५० हजार ८८९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

यस्तै, आर्थिक वर्ष २०७०/७१ मा ५ लाख २७ हजार ८१४ जना, २०७१/७२ मा ४ लाख ९९ हजार १०२ जना, २०७२/७३ मा ४ लाख ३ हजार १७४ जना, २०७३/७४ मा ३ लाख ८३ हजार ४९३ जना, २०७४/७५ मा ३ लाख ५४ हजार ८२ जना र २०७५/७६ मा २ लाख ३६ हजार २०८ जना वैदेशिक रोजगारीमा गएका थिए । 

विभागको तथ्याङ्कले आर्थिक वर्ष २०७६/७७ मा १ लाख ९० हजार ४५३ जना, २०७७/७८ मा ७२ हजार ८१ जना, २०७८/७९ मा ६ लाख ३० हजार ९७ जना र २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीमा गएको देखाउँछ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ७१ हजार २१० जनाले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार बोर्डका प्रवक्ता ढकालका अनुसार आर्थिक वर्ष २०६५/६६ मा ७८ जना, २०६६/६७ मा ४२१ जना, २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना र २०६९/७० मा ७७२ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीका सिलसिलामा भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना, २०७२/७३ मा ८२६ जना, २०७३/७४ मा ७५८ जना, २०७४/७५ मा ८२६ जना र २०७५/७६ मा ७६३ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए ।  

बोर्डको तथ्याङ्कले आर्थिक वर्ष २०७६/७७ मा ६७२ जना, २०७७/७८ मा १ हजार २४३ जना, २०७८/७९ मा १ हजार ४७९ जना र २०७९/८० मा १ हजार २०८ जना नेपालको मत्यु वैदेशिक रोजगारीमा भएको देखाउँछ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा गएका १ हजार २५५ जनाको मृत्यु भइसकेको छ । 

‘बाकसमा फर्किने मर्ने उमेरका मान्छे होइनन्’

पछिल्लो आठ महिनाको तथ्याङक् हेर्ने हो भने वैदेशिक रोजगारीमा गएकाहरूमध्ये औषतमा प्रत्येक दिन करिब ५ जना काठको बाकसमा फर्किने गरेका छन् । 

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) सम्मको अवधिमा ४ लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । अर्थात् दैनिक औसतमा १ हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ । यिनीहरूमध्ये दैनिक करिब ५ जना मृत्यु गन्तव्य राष्ट्रमा हुने गरेको छ । 

“वैदेशिक रोजगारीमा जानेहरू जो मृत्युपश्चात काठको बाकसमा फर्कन्छन्, उमेरका हिसाबले उनीहरू मृत्यु हुने उमेरका मान्छे नै होइनन्,” समाजशास्त्री तथा वैदेशिक रोजगारका जानकार गुरुङ भन्छन् । 

वैदेशिक रोजगारीमा जानेहरू प्रायः सबै युवाहरू छन् । वैदेशिक रोजगारीमा जानुअघि उनीहरूको नेपालमा स्वास्थ्य परीक्षण हुन्छ । स्वास्थ अवस्था ठीक भएपछि मात्र उनीहरू जान पाउँछन् ।  वैदेशिक रोजगारीमा जानेहरूको गन्तव्य राष्ट्र पुग्ने बित्तिकै रोजगारदाता कम्पनीले पुनः उनीहरूको स्वास्थ्य परिक्षण गर्छ । त्यहाँ पनि स्वास्थ्य रिपोर्ट राम्रो आएमा मात्र काम लगाउँछ ।

“सबै हिसाबले ठीक देखिएका नेपाली युवाहरूको कसरी र किन मृत्यु हुन्छ राम्रोसँग अनुसन्धान हुन जरुरी छ,” उनले भने । 

कार्डियक अरेस्ट र हृदयघात किन हुन्छ ? ठूलो संख्याले आत्महत्याको बाटो किन रोज्छन् ? के–के कारणले नेपालीलाई तनाव हुने गरेको छ ? यी प्रश्नको जवाफ खोज्न ढिला गर्न नहुने भनाई गुरुङ्को छ । नत्र काठको बाकसमा नेपाल फर्कनेको संख्या अझ बढ्दै जाने उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro