site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

भनिन्छ - खानेपानी स्वच्छ भए धेरै प्रकारका रोगबाट जोगिन सकिन्छ । यसैले होला विकसित देशहरूमा खानेपानीको स्वच्छतामा निकै ध्यान दिइन्छ । नेपालमा भने अझै खानेपानीको स्वच्छतामा उति ध्यान पुगेको देखिँदैन ।  

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जिल्लाका १० स्थानीय तहका २ सय ८५ स्थानमा परीक्षण गर्दा १ सय ६ खानेपानीका मुहानमा ‘कोलिफर्म’ नामको जीवाणु भेटिएको छ । कोलिफर्म मानिसको दिसामा हुने हानिकारक जीवाणु हो । 

गण्डकी प्रदेशको बागलुङ जिल्ला अपेक्षाकृत चेतनशील र सम्पन्न जिल्लामै पर्छ । तैपनि, त्यहाँका खानेपानीका मुहानहरूको परीक्षण गर्दा यस्तो कहालीलाग्दो अवस्था देखियो । मूलतः खुला स्रोतबाट आपूर्ति सङ्कलन र वितरण गरिने सबैजसो खानेपानीको अवस्था यसभन्दा खासै फरक नहोला । 

सरकारी तथ्याङ्कमा जति देखिए पनि नेपालमा पर्याप्त खानेपानी उपलब्ध हुन सकेको छैन । त्यसैले स्वच्छताप्रति उपभोक्ता र खानेपानी कार्यालय कसैको पनि पर्याप्त ध्यान नपुगेको हुनुपर्छ । त्यसो त खुला स्रोतको पानीको मुहान स्वच्छ राख्नु निकै चुनौतीपूर्ण पनि हुन्छ ।  

अधिकांश पहाडी बस्तीहरूमा पहिले खुला धारा, कुवा भएका पँधेराबाट खानेपानी आपूर्ति गरिन्थ्यो । मधेसमा खोला र इनारहरू खानेपानी आपूर्तिका मुख्य स्रोत थिए । पछि प्रायः तिनै स्रोतबाट पानी सङ्कलन गरेर वितरण गरिएका छन् । 

खानेपानी सङ्कलन गरिने खोलाहरूमा मानव वा पशुपंक्षीको मलमूत्र मिसिनै  नदिन असम्भव प्रायः हुन्छ । साथै खानेपानी वितरण गर्ने उत्साहमा  सम्बन्धित निकायका अधिकारीले ‘स्वच्छता’मा खासै ध्यान पनि दिँदैनन् । यसैले खानेपानीका मुहानहरू यति धेरै प्रदूषित भएका हुनुपर्छ । 

प्रदूषित मुहानबाट आपूर्ति गरिने खानेपानी विभिन्न सरुवा रोगको कारक हुनसक्छ । प्रदूषित खानेपानीबाट फैलने बिरामीले यदाकदा महामारीको रूप पनि लिनसक्छ । अर्कातिर, जति प्रदूषित भए पनि खानेपानीको मुहान फेर्न पनि सम्भव हुँदैन । 

यसैले विशेषगरी खानेपानी समितिहरू, जनस्वास्थ्य कार्यालयहरू र स्थानीय पालिकाहरू सबैले खानेपानीको स्वच्छतालाई प्राथमिकता दिनुपर्ने देखिन्छ । मुहान तथा वितरित पानीको परीक्षणलाई अभियानकै रूपमा सञ्चालन गरेर खानेपानीलाई खान योग्य स्वच्छ बनाउनुपर्छ । 

खानेपानीको स्वच्छतालाई प्राथमिकता दिने हो भने जनतालाई रोगबाट जोगाउन त सकिन्छ नै उपचारमा हुने खर्च बचाउन पनि सकिन्छ । यसैले खानेपानीको परीक्षण र स्रोतको संरक्षणमा राज्यले प्राथमिकता देओस् । साथै, जनतालाई पानी प्रदूषित भएको र स्वच्छ बनाउने विधिको जानकारी दिने अभियान पनि चलाउनु उचित हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro