
विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । ‘गाउँको हुल्लडबाज’ले ल्याएर मान्छे जम्मा गर्दैमा त्यसलाई लोकप्रियवादी भन्न नसकिने उनले टिप्पणी गरे ।
राजावादीको आन्दोलनका ‘कमान्डर’ विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं तोकिएका छन् । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा उनको नेतृत्वमा प्रदर्शनकारी हिंसामा उत्रिएका थिए । नेता नेपालले त्यही घटनालाई संकेत गरेका हुन् ।
मंगलबार (चैत १९) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित उनले भने, “मान्छे त जसले पनि भेला गर्न सक्छ, आन्दोलन हो भन्न सक्छ । तर, आवश्यकताअनुसारको मुद्दा बोकेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हो ।”
पार्टीको मोरङ जिल्ला अधिवेशन उद्घाटन गर्न उनी विराटनगर आएका हुन् । बर्खास्त भइसकेका राजा अब फर्कने कुनै सम्भावना नरहेको उनले उल्लेख गरे ।
“कि राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ, कुनै महात्मा वा साधु हुनुपर्छ,” उनले भने ।
गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ भनेको प्रसंगबारे उनले व्यंग्य गर्दै भने, “छोरालाई ल्याउनेहरूको नातिको दारी आएकै छैन, दारी आइसकेपछि थाहा होला ।” अध्यक्ष नेपालले वंशाणुगत राजतन्त्रको औचित्य सकिइसकेको बताए ।