
काठमाडौं । मंगलबार विहान सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा आगलागी भयो । उक्त आगो निभाउन र उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय खटिएका थिए ।
सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सेन्टर प्लाजामा लागेको आगो निभाउन ९ वटा दमकल प्रयोग गरिएको थियो ।
सेन्टर प्लाजाको चौथो तलामा लागेको आगो नियन्त्रणमा लिन पाँच घण्टाभन्दा बढी समय लागेको थियो । आगलागी हुँदा भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाएको थियो । घटनामा ७ जना उद्धारकर्मी घाइते भएका थिए । आगलागीले ठूलो आर्थिक क्षति गरे पनि समयमै घटनास्थलमा उद्धारकर्मी पुग्दा मानवीय क्षति भने हुन पाएन ।
यो एउटा प्रतिनिधि घटना मात्र हो । नेपालमा अबको लगभग तीन महिना आगलागी र डढेलोको जोखिम उच्च रहन्छ । सावधानी नअपनाए यस्ता घटना दोहोरिनै रहन्छन् ।
“पुस–माघदेखि आगलागी र डढेलोका घटना बढ्न थाल्छन्,” राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले बाह्रखरीसँग भने, “यो क्रम विस्तारै चैत, वैशाख र जेठमा उच्च हुन्छ ।”
चैत, वैशाख र जेठमा बढी हावाहुरी चल्ने, सुख्खा मौसम हुने कारण आगलागीका घटना बढी हुने गर्छन् । यो कुरा तथ्याङ्कले पनि बोल्छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार, २०८१ पुसमा देशभर ३५६ वटा आगलागी तथा डढेलोका घटना रेकर्ड भएका थिए । यो संख्या माघमा ४२६ पुगेको थियो भने फागुनमा ४५४ । चैत १ देखि १३ गतेसम्म ४११ वटा आगलागी र डढेलोका घटना रेकर्ड भइसकेका छन् ।
नेपालमा सबैभन्दा बढी जनधनको क्षति गर्ने विपद्का घटनामध्ये एक हो, आगलागी तथा डढेलो । यसवर्ष अर्थात् २०८१ वैशाख १ देखि चैत १३ गतेसम्म देशभर रेकर्ड भएका ४ हजार ५९६ वटा आगलागी तथा डढेलोका घटना परी ८४ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो करिब साढे ११ महिनाको अवधिमा आगलागी तथा डढेलोका घटनामा परी ४९१ जना घाइते भइसकेका छन् । उक्त अवधिमा आगलागीले १ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको आर्थिक गरेको केन्द्रको तथ्याङ्कले देखाउँछ ।
“आउँदा केही महिना आगलागी तथा डढेलोको हिसाबले बढी जोखिमपूर्ण रहेको देखिन्छ,” प्राधिकरणका कार्यकारी प्रमुख भट्टको तर्क छ, “यसवर्ष पनि हिउँदमा कम वर्षा भएको छ । वर्षा कम हुँदा सुख्खापन बढेको छ । यसले जमिन र जंगल दुवैमा सुख्खापन बढाएको छ, जसले आगलागी भएमा छिटो फैलाउन मद्दत गर्छ ।”
हिउँदे वर्षा राम्रोसँग भएको भए जंगलमा पात–पतिङ्गर भिज्थे । केही बगाएर लैजान्थ्यो पनि । फेरि गाउँमा घरहरू पातलिँदा र अन्यत्र बसाईसराईं हुँदा जंगलमा रहेको पातपतिङ्गरको प्रयोग हुन छाडेको छ । जसकाकारण जंगलमा पातपतिङ्गर थुप्रिने क्रम बढ्दो छ र आगलागीका घटना बढिरहेका छन् ।
“गाउँघरमा दुना–टपरा प्रयोग गर्ने चलन पनि कम हुँदै गएको छ । प्लास्टिक र कागजका प्लेटको प्रयोग बढ्दो छ । हाम्रा यस्ता कार्यले पनि जंगलमा पातपतिङ्गर बढ्ने गरेका छन्,” प्राधिकरणका कार्यकारी प्रमुख भट्टले भने ।
भट्टका अनुसार, आगलागी तथा डढेलोका घटना हुनै नदिन र भइहालेमा पनि जोखिम कम गर्न प्राधिकरणले काम गर्दै आएको छ ।
“चालु आर्थिक वर्ष सुरु भएयता १५८ स्थानीय तहलाई आगो नियन्त्रण गर्ने उपकरणहरू उपलब्ध गरेका छौं,” प्राधिकरणका कार्यकारी प्रमुख भट्टले बताए ।
बजेटले भ्याएसम्म यस्ता उपकरण अन्य स्थानीय तहलाई पनि उपलब्ध गराइँदै जाने योजना प्राधिकरणको छ ।
यसकाअतिरिक्त जनचेतना फैलाउने काम पनि निरन्तर भइरहेको जानकारी उनले दिए । “विपद् पोर्टल, सामाजिक सञ्जालमा स्थानीय भाषामा आगलागीसम्बन्धी जनचेतनामूलक अडियो तथा भिडियो सामाग्री बनाई राख्ने गरेका छौं,” उनले भने ।
अब आगलागीको पूर्वानुमान गरिने
कार्यकारी प्रमुख भट्टका अनुसार, प्राधिकरणले केही दिनमै यस्तो प्रणाली सार्वजनिक गर्न गइरहेको छ जसले दुई दिन अगाडि नै सम्भावित आगलागी तथा डढेलो लाग्नसक्ने स्थानबारे जानकारी दिनेछ । यो परीक्षणका क्रममा छ ।
“यो प्रणालीको औपचारिक लञ्च गरेपछि हामी दुई दिनअगाडि सम्भावित आगलागी तथा डढेलोका क्षेत्रबारे पूर्वानुमान गर्न सक्छौं, जसरी वर्षाको हुनेगर्छ,” उनले स्पष्ट पारे ।
विभिन्न क्षेत्रबाट प्राप्त हुने मौसम, तापक्रम, आद्रता आदिको तथ्याङ्कका आधारमा आगलागी तथा डढेलो जोखिमका क्षेत्र पहिचान गरिनेछ । त्यसपछि सम्बन्धित स्थानीय तहलाई उक्त स्थानमा सम्भावित जोखिमबारे दुई दिनअगावै जानकारी दिइनेछ । यसले सावधानी र सतर्कता अपनाउन सहज हुने धारणा प्राधिकरणको छ ।
चौध वर्षमा ११ सयभन्दा बढीको लियो ज्यान
करिब चौध वर्षमा आगलागी तथा डढेलोका घटनाले नेपालमा १ हजार १२५ जनाको ज्यान लिएको छ ।
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०६८ वैशाख १ गतेदेखि २०८१ चैत १३ गतेसम्मको अवधिमा रेकर्ड भएका ३० हजार ८०५ वटा आगलागी तथा डढेलोका घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् ।
उक्त अवधिमा आगलागी तथा डढेलोका घटनामा परी ३ हजार ८८६ जना घाइते भएका थिए भने ३९ हजार ४७० परिवार प्रभावित भएका थिए ।
बितेको करिब १४ वर्षमा आगलागीले ५ हजार ५५८ घरमा आंशिक र २१ हजार २३८ घरमा पूर्ण क्षति गरेको छ । त्यही समयमा आगलागीले ८ हजार ६४७ घरमा क्षति गरेको छ । यस अवधिमा आगलागी तथा डढेलोका घटनामा परी १० हजार ७२९ वटा पशु चौपाय मरेका छन् ।
यस अवधिमा आगलागीका घटनाले २९ अर्ब २० करोड ४० लाख ४५ हजार १२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।