site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालीलाई बोलाएर आफ्नो सेनामा भर्ती नगरेको रूसी राजदूतको स्पष्टोक्ति

काठमाडौं । नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभले नेपालीलाई बोलाएर रूसले आफ्नो सेनामा भर्ती नगरेको स्पष्टोक्ति दिएका छन् । बुधबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा उनले उक्त कुरा बताएका हुन् । 

नेपालीलाई रूसी सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको जनाउँदै राजदूत नोभिकोभले रूसले पनि उनीहरूलाई बोलाएर भर्ती नगरेको तर्क अर्थमन्त्रीसँग गरेका थिए । भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रूपमा गएका नेपाली स्वेच्छाले रूसी सेनामा भर्ती दाबी राजदूत नोभिकोभले गरे । 

यद्यपि, रूसी सेनामा कार्यरत नेपाली मारिएकामा आफूहरू दुःखी भएको उनले बताए । रूसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको दाबी उनको थियो ।  “नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरू सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्कभन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौँ,” राजदूत नोभिकोभले भनेका थिए ।

Dabur Nepal
NIC Asia

राजदूत नोभिकोभले सञ्चार माध्यममा आएका समाचारलाई मात्र आधार बनाएर धारणा नबनाउन अर्थमन्त्रीलाई आग्रह गरेका थिए । उनले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी मन्त्री पुनलाई गराएका थिए । “हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरूसँग साटेर भए पनि नेपालीहरूलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ,” राजदूत नोभिकोभले भने । 

यस्तै उनले अवैध बाटोबाट रूसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने सुझाव समेत दिए । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा अर्थमन्त्री पुनले द्विपक्षीय सम्झौताबिनै रूसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए । 

पुनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत त्यसबारे रूसी सरकारलाई जानकारी गराएको स्मरण गरेका थिए । उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभलाई आग्रह समेत गरेका थिए ।

यस्तै अर्थमन्त्री पुनले रुस–युक्रेन युद्धमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराएका थिए । 

“रूसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेकै छ । तर, पनि विभिन्न बाटो भएर गएका नेपाली रूसी सेनामा भर्ती भएका छन् । यसमा नेपाल सरकार र आमजनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत रूस सरकारलाई रूसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु,” अर्थमन्त्री पुनले भनेका थिए ।   

भेटमा अर्थमन्त्री पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रूसलाई आग्रह गरेका थिए । 
“हामीले विद्युत्का लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो,” मन्त्री पुनले भने, “सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने पनि वातावरण मनाउन हामी तयार छौँ ।”

जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रूसी लगानीकर्तासँग कुरा गर्ने बताएका थिए । भू–राजनीतिक कारणले पनि नेपालमा रूसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो । “हाम्रो नेपालका दुवै छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध छ,” उनले भने, “रूस यस्तो देश हो कि जसले नेपाल, भारत र चीन तीनवटैलाई खुसी पारेर काम गर्न सक्दछ ।”

यस्तै, नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने दुवै सम्भावना रहेको उनले औंल्याए । मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी रूसी लगानीकर्ता आउने वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गरेका थिए । 

राजदूत नोभिकोभका अनुसार रूसको उद्योग वाणिज्य संघको नेतृत्वमा लगानी सम्मेलनमार्फत लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउँदै गरेको जानकारी दिएका थिए । प्रतिनिधि मण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग साक्षात्कार गर्ने उनले बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro