काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको टिजरमा समाजमा बोक्सी भनेर लगाइने आरोप, त्यसकै आधारमा महिलामाथि हुने अन्याय र त्यसको परिणाम देखाइएको छ । समाजमा रहेको अन्धविश्वासका कारण समाज कतिसम्म क्रुर बन्छ भन्ने तथ्यलाई टिजरले उजागर गरेको छ ।
टिजरमा चलचित्रकी मुख्य कलाकार केकी अधिकार लगायत कलाकारलाई देख्न सकिन्छ ।
यसैबीच, नायिका केकी अधिकारीले चलचित्र ‘बोक्सीको घर’ले सिनेमाको धर्मलाइ नबिर्सिएको बताएकी छन् । आफ्नो चलचित्र ‘बोक्सीको घर’ले मनोरञ्जन दिने सिनेमाको धर्मलाई नबिर्सिएको बताएकी हुन् ।
“बजारमा एकखालका सिनेमा चलिरहेका बेला त्योभन्दा फरक खालका सिनेमा पनि बनिरहेका हुन्छन् । यस्तो सिनेमामा रिस्क छ भनेर जान्दाजान्दै पनि रिस्क लिएर केही मेकरहरूले चलचित्र बनाइरहनु भएको हुन्छ,” केकी बाह्रखरीसँग भन्छिन्, “मैले पनि यस्तै एउटा सिनेमा बनाउने प्रयास गरेको हुँ । तर फिल्ममा धेरै इलिमेन्ट छन् । दर्शक सिनेमा हेर्न भनेर आइसकेपछि इन्टरटेनिङ पनि हुनुपर्छ भन्नेमा म र हाम्रो टिम सचेत छ ।”
सिनेमामा मुख्य धर्महरूमध्ये एउटा मनोरञ्जन दिनु पनि रहेको र यसमा ‘बोक्सीको घर’ सचेत रहेको उनी बताउँछिन् । “इन्टरटेन गराउँदै अब्स्ट्रयाकमा रहेरै बलियो सन्देश दिने उद्देश्यले हाम्रो सिनेमा बनेको छ,” उनले भनिन्, “मनोरञ्जनसँगै सन्देश र चेतना दिनेछौँ ।”
केकी मुख्य भूमिकामा रहेको चलचित्र ‘बोक्सीको घर’ वैशाख १४ गतेबाट प्रदर्शनमा आउँदै छ । केकीको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित छ । सोही नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका छन् ।
केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।
महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको छ । चलचित्रले सामाजिक–थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कूप्रथालाई चित्रण गर्नेछ ।
नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने सिनेमालाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने उनको योजना छ ।
केकी स्वयं निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् ।