site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हाम्रो संगीतको टेस्ट नेपालीको रगतरगतमा छ 

वर्ष सन् २००६ । महिना कुन थियो, त्यो विस्मृतिको पानाबाट ओझेल परिसक्यो । तर, सुरेन्द्रमान (सिंह)को मस्तिष्कबाट घटना विस्मृतिमा गइसकेको छैन ।

धरानमा कर्मा ब्यान्डको ओपन कन्सर्ट थियो । कन्सर्टमा हजारौँ दर्शक थिए । कर्मा ब्यान्ड लोकप्रियताको उत्कर्षमा थियो । सुरेन्द्रमान त्यसको केन्द्रमा । सेलिब्रिटीपन के हो मजाले महसुस गरिरहेका थिए । त्यही समयको कन्सर्ट, दर्शकको भीड लाग्ने नै भयो ।

धरानमा पनि सुरेन्द्रले त्यस्तै सेलिब्रेटीपन महसुस गर्ने अवसर पाए । कन्सर्ट सकियो । फ्यानहरू उनलाई भेट्न तँछाडमछाड गर्न थाले । सुरक्षाकर्मीको सहारा लिइरहेका सुरेन्द्रलाई तत्काल भीडबाट निकाल्नुपर्ने अवस्था आयो ।

Dabur Nepal
NIC Asia

सुरेन्द्रलाई भीडबाट सुरक्षाकर्मीले बाहिर निकाले । भीड उनको पछि लाग्यो । प्रहरीले उनलाई ग्राउन्डनजिकैको गायक प्रसन्न शाक्यको घरमा लुकायो । तर, भीडले प्रसन्नको घरको ढोका हान्न थाल्यो । घर नै असुरक्षित भएपछि घरका मान्छे तोडफोड हुने भयो भनेर डराए । प्रहरीले सुरेन्द्रमानलाई लुकाएर अर्को घरमा लग्यो । तर पनि भीडले पत्ता लगाइहाल्थ्यो ।

दशवटा घरमा लुकाएपछि अन्ततः भीडलाई छल्दै सुरेन्द्रमानलाई प्रहरीले होटेलमा पुर्‍यायो । बेलुका ७ बजे स्टेजबाट ओर्लिएका उनी होटेल पुग्दा १० बजेको थियो । त्यो भीड सुरेन्द्रमानका डाइहार्ट फ्यानको थियो । उनीसँग भेटेर फोटो खिच्ने, अटोग्राफ लिने र हात मिलाउन चाहनेहरूको थियो । 

० ० ०

एकपछि अर्को गीत हिट भइरहेका थिए । बजारमा नाम थियो । स्रोताको ढुकढुकीमा थिए । क्यासेट बिक्रीबाट पैसा आइसकेको थियो । महिनामै चार/पाँचवटासम्म कन्सर्ट हुन्थे । देशदेखि विदेशसम्म कार्यक्रम हुन्थे । अमेरिकादेखि युरोपसम्म टुर हुन्थे । कोरियादेखि अस्ट्रेलिया पुग्थे । एक झल्को हेर्न पाए हुन्थ्यो भन्नेको संख्या ठूलो थियो । गीत निकाल्न खल्तीबाट पैसा झिक्नु पर्दैन थियो ।

करिअर पिकमा थियो । सुरेन्द्रमान दोबाटोमा पुगे । एउटा बाटो रोजे आफूले ‘विद्रोह’ गरेर रोजेको मार्गमा हिँड्न पाइने । अर्को बाटो रोजे मायाको अँगालोमा बस्न पाइने, तर संगीतको बाटोमा तगारो लाग्ने ।

सामुन्नेमा रहेका दुई विकल्पमध्ये सुरेन्द्रमानले दोस्रो बाटो रोजे । सन् २०११ मा उनले अमेरिका बस्ने निर्णय गरे । उनकी गर्लफ्रेन्ड उतै पढ्दै थिइन् । त्यसैले सुरेन्द्रमान उतै बसे । घरजम गरे ।

अमेरिका बस्दा पनि कन्सर्टमा हिँडे । अमेरिकादेखि युरोपसम्मका कन्सर्ट भ्याए । तर, त्यसलाई विस्तारै कम गरे । एउटा समय आयो, उनी हिँड्न ठप्प भयो ।

अमेरिकामा उनले अनलाइन बिजनेस खोले । फलतः उनले अरूको अन्डरमा बसेर काम गर्नु परेन । तर, सांगीतिक सिर्जना र प्रस्तुति ठप्प भयो । उनको बाटो मोडियो । भलै, सांगीतिक यात्रामा पूर्णविराम लागेको थिएन । अल्पविराम मात्रै थियो । कारण, सांगीतिक प्यास मेटिएको थिएन ।

उनी परिबन्धले सुस्ताका मात्र थिए, तर विगत मेटिएको थिएन । उनको स्वर, शैली र प्रस्तुति मनमा राखेर हिँड्नेको संख्या कम थिएन ।

अमेरिकामा उनलाई भेट्नेहरू थुप्रै थिए, जसले नेपालका कन्सर्टमा उनको स्टारडम देखेका थिए । उनका थुप्रै फ्यान र शुभेच्छुकले अमेरिकामा सुरेन्द्रमानलाई उनको सेलिब्रिटीपन सम्झाइदिन्थे । सुरेन्द्रमान नोस्टाल्जिक हुन्थे । 

एउटा उदाहरण ? 

“म अमेरिका बस्न थालेपछि नयाँनयाँ नेपाली साथी भए । हामी भेट्ने, सँगै खाने हुन्थ्यो कहिलेकाहीँ,” सुरेन्द्रमान भन्छन्, “उहाँहरू भन्नुहुन्थ्यो– तपाईंसँग यसरी सँगै बस्ने, खाने भन्ने त हामीले जिन्दगीमा कल्पना पनि गरेका थिएनौँ ।”

त्यो समय सुरेन्द्रमानलाई महसुस भयो– ओहो, मैले त मेरो जिन्दगीको महत्त्वपूर्ण पाटोलाई त साइड पो लगाएको रहेछु ! “इन्टरनेटले संसार ग्लोबलाइज भयो, संसार सानो गाउँमा परिणत भयो भनिन्थ्यो,” उनी भन्छन्, “संसार सानो भयो सानो भयो भन्दा भन्दै मेरो संसार पनि सानो पो भइसकेछ, म त खुम्चिसकेछु भन्ने भयो । मैले पाएको इज्जतलाई भ्यालु गरिनँ कि भन्ने महसुस भयो ।”

कहिलेकाहीँ केही बिराएँ कि भन्ने लागे पनि आफूलाई नेम र फ्रेम दुवै दिने नेपाली संगीतलाई सधैँ इज्जत गरेको उनी बताउँछन् । ‘समय नमिलेको मात्रै हो, जब समयले साथ दिन्छ, फेरि उसैगरी नेपाली संगीतलाई निरन्तरता दिन्छु’ भन्ने लागिरहन्थ्यो उनलाई । उनी भन्छन्, “चटक्कै ब्रेक गरेँ, तर जथाभावी गरिनँ ।” 

० ० ० 

अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन । प्रत्यक्ष भेटघाटको विकल्प थिएन । आफूलाई मन परेको सेलिब्रिटीलाई फ्यानहरूले चिठी लेख्थे ।

“त्यो बेला डायहार्ट फ्यानले रगतले चिठी लेख्ने चलन थियो । मलाई रगतले लेखेर पठाएका चिठी अहिले पनि छन् । सातवटा डायरी अहिले पनि छन्,” सुरेन्द्रमान भन्छन्, “एउटा ठूलो बोर्डमा ५० जना लेडिजले केही विशेष कुरा लेखेर दिनुभएको थियो । त्यो अहिले पनि मसँग छ ।”

वीरगन्जमा कन्सर्ट थियो । भ्यालेन्टाइन डेको दिन थियो । पैसामा नाम र नम्बर लेखेर दिएको सुरेन्द्रमानको सम्झनामा ताजै छ । उनी भन्छन्, “त्यहाँ दिएका पैसा र डायरी अहिले पनि मसँग छँदै छ । फ्रेस फूल सुकाएर त्यसलाई डायरीमा राखेर दिने चलन थियो ।”

उपहार थुप्रै आउँथ्यो । ससानो सामानदेखि लुगासम्म दिनेहरू थुप्रै हुन्थे । तर, सुरेन्द्रलाई लुगा गिफ्ट दिएको पटक्कै मन पर्दैन थियो । यद्यपि, नाइँ भन्न सक्दैन थिए ।

“विदेशमा सपिङ गरिदिन्छु भन्नेहरू थुप्रै हुन्थे । तर, मलाई अरूले सपिङ गरिदिन्छु भन्दा अपमान भएको फिल हुन्थ्यो,” उनी भन्छन्, “त्यसैले मैले कहिल्यै मानिनँ । लुगा गिफ्ट दिएको लिए पनि कहिल्यै लगाइनँ । कहिले साथीभाइ त कहिले आफन्तलाई दिन्थेँ ।” ड्रेसमा उनी निकै चुजी छन् । त्यसैले अरूले दिएको लुगा लगाएनन् । ठूलो गिफ्ट उनले स्वीकारेनन् ।

० ० ०

२०१९ मा सुरेन्द्रमान काठमाडौं फर्किए । उनले त्यो बेला थाहा पाए, नेपाली कलाकारको पारिश्रमिक दश वर्षदेखि जहाँको त्यहीँ रहेछ । “नेपालमा सबै कुराको भाउ बढेछ, तर नेपाली आर्टिस्टको पारिश्रमिक दश वर्षअगाडि जति थियो, त्यति नै रहेछ,” उनी भन्छन्, “त्यो बेला मैले अठोट गरेँ, अब मैले कन्सर्ट गरेँ भने एउटा स्ट्यान्ड लिन्छु, यतिभन्दा तल कन्सर्ट गर्दिनँ ।”

अमेरिका जानुअघि एउटा कन्सर्टको एक लाखमाथि पारिश्रमिक लिने सुरेन्द्रमानले दश वर्षपछि नेपाल फर्कंदा पनि त्यतिमै नेपाली कलाकारले काम गरिरहेको थाहा पाएका थिए । 

० ० ०

अमेरिका बसेर त्यहाँबाट अरू देशमा कन्सर्ट गरे पनि नेपालमा ‘कर्मा’ फ्रिज प्रायः थियो । नेपालमा ‘कर्मा’ ब्यान्ड पलायन भयो भन्ने सन्देश गइरहेको थियो ।

सुरुका ६ महिना सांगीतिक टुरमै बिताए । बाँकी दुई/अढाई वर्ष अमेरिकाको रमझममा बिताए । नेपालको बिजनेसबाट अलग भए । उता नयाँ बिजनेस सुरु गरे । बिजनेस त थियो, तर संगीत जीवनबाट टाढा भइरहेको थियो । संगीतको तिर्सनाले पोलिरहन्थ्यो । विस्तारै त्यहाँको रमझमभन्दा पनि नेपालको क्राउडको माया लाग्न थाल्यो । नेपाली जनजीवन र शैलीले सताउन थाल्यो । कीर्तिपुरको होहल्लाको सम्झनाले जसै सुरेन्द्रमानलाई एकोहोरो बनाउँथ्यो, उनी अब चाँडै नेपाल फर्किन्छु र पुरानै कर्ममा लाग्छु भनेर प्रण गर्थे । तर, अब भन्दा भन्दै १२ वर्ष बित्यो ।

१२ वर्षपछि खोलो फर्कियो । सुरेन्द्रमान नेपाल फर्किए । भोकलिस्ट नै नभएपछि ब्यान्ड सक्रिय हुने सम्भावना थिएन । त्यसैले उनी नेपाल फर्किए । कारण, हामी थियौँ र छौँ भन्ने सन्देश दिनु थियो । अब रिकभर हुनु छ । पहिलाकै सानसौकत फर्काउनु छ । त्यसको प्रयास गर्दै छन् उनी । मंसिर २२ मा कीर्तिपुरमा कन्सर्ट गर्दै छन्, जसबाट सुस्ताएको आफ्नो छवि र ब्यान्डलाई उठाउने सुरेन्द्रमानको लक्ष्य छ ।

सुरेन्द्रमान अमेरिका गए, उनका स्रोताले सायद अरूका गीत सुन्न थाले । अब उनी नेपाल फर्किए, उनीसँगै उनका स्रोता फर्किएलान् ?

“हामीले जति समय ग्याप गर्‍यौँ, त्यो समय भर्पाइ गर्न हामी सकेसम्म प्रयास गरिरहेका छौँ । सानोसानो कुरामा मिहिनेत गरिरहेका छौँ,” जवाफमा उनी भन्छन्, “हामीले कठिनाइ छ भन्ने स्वीकार गरेका छौँ । वर्ल्डवाइड नै म्युजिकको सिनारियो परिवर्तन भइसकेको छ । हाम्रो पुरानो धार र अहिलेको टेस्टलाई मर्ज गरेर नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरिरहेका छौँ ।”

० ० ० 

सुरेन्द्रमान नेपाली पपगीतको विधामा फरक टेस्ट लिएर भित्रिएका गायक हुन्, जसका कारण उनका दर्जनभन्दा बढी गीत लोकप्रिय भए । ‘हुक्का मेरो’, ‘कहाँ होला घरबार’, ‘को हौ तिमी’, ‘यानी माया’, ‘सुपारी दाना’ हुन् अथवा स्रोताको जिब्रोमा झुन्डिएका अरू गीत हुन् – बजारमा चलनचल्तीमा रहेका भन्दा केही फरकपन थियो, यी गीत र लयमा ।

त्यो लय र टेस्टले अहिले काम गर्छ ? ‘किन नगर्नु !’ नयाँ पुस्ताले आफूलाई रुचाउनेमा उनी ढुक्क सुनिए । “हाम्रो टेस्ट त नेपालीको रगतरगतमा बग्ने संगीत हो नि,” उनी भन्छन्, “जेनेरेसन जति गए पनि रगतमै रहेको टेस्ट हराउँदैन ।” राम्रो संगीत कहिल्यै नमर्ने उनको तर्क छ । राम्रो भाका र मेलोडी कहिल्यै नहराउने उनको भनाइ छ ।

यसमा सुरेन्द्रमान आफ्नै उदाहरण दिन्छन् । “म इन्डियामा पढेँ, हुर्किएँ । त्यो बेला मैले सुनेको वेस्टर्न म्युजिक हो । तर, म जब कीर्तिपुर आएर संगीत गर्न थालेँ, यहीँको टेस्ट आयो,” सुरेन्द्रमान अगाडि थप्छन्, “किनभने, मैले जति अंग्रेजी र हिन्दी गीत सुने पनि मेरो रगतमा नेपाली संगीत थियो ।”

कर्मा ब्यान्डले सकेसम्म सरल र सहज गीतसंगीत पस्कँदै आएको उनी सुनाउँछन् । जब शब्द सरल र मेलोडी तथा लय क्याची हुन्छ, स्रोतादर्शकले मन पराउँछन् । भर्खरै म्युजिक सिक्दै गरेको संगीतको विद्यार्थीले पनि आफ्नो गीत गाउन सक्ने र त्यसमा प्राक्टिस गर्ने उनी बताउँछन् ।

“अहिले हामीले स्कुलमा हाम्रो गीत सुनाउँदा पनि बच्चाहरू हामीसँगै गाउनुहुन्छ, किनभने हाम्रो गीतको शब्द सरल छ, मेलोडी क्याची छ,” सुरेन्द्रमान भन्छन्, “अहिलेको पुस्ताले हाम्रै गीत सुनेर सिकिरहेका छन् ।” 

० ० ०

ती दिन,
बुवा सरकारी जागिरे थिए । छोराले पनि आफ्नै पदचाप पछ्याओस् भन्ने थियो । अथवा, कुनै व्यापार–व्यवसाय गरोस् भन्ने थियो । तर, नौ कक्षामा पढ्दा नै ‘न्यारो बिट्स’ खोलेर गाउने सुरेन्द्रमान सुर र तालसँग नजिकिइसकेका थिए ।

बुवा भन्थे, ‘तलाइँ मैले यत्रो खर्च गरेर पढाएको यही गाइने बनाउन हो ?’

गीतसंगीतमा लाग्नु भनेको आवारा भएर हिँड्नु हो भन्ने भाष्य समाजमा थियो । त्यसको असर अभिभावकमा पर्नु स्वाभाविक थियो । तर, जिद्दी भएरै सुरेन्द्रमान संगीतको यात्रामा अघि बढे । पहिलो एल्बम फ्लप भयो । परिवारले ‘अब त रहर पूरा भयो होला, यो बाटो छोड्दे’ भन्यो ।

संगीतसँग सुरेन्द्रमानले साइनो गाँसिसकेका थिए । त्यसलाई भत्काउन सकेनन् ।

उनका दर्जनौँ गीत हिट भइसकेका थिए । तर, सुरेन्द्रमानका बुवालाई छोरो हिँडेको बाटो मन परेको थिएन । “म अमेरिका गइसकेको थिएँ । हेटौँडाको सिनेमा हलमा तपाईं सुरेन्द्रमानको बुवा होइन ? भनेर बोल्न आएपछि उहाँलाई बल्ल मप्रति गर्व फिल भएछ,” सुरेन्द्रमान नोस्टाल्जिक हुन्छन्, “बुवाले आमासँग यसले आफूलाई प्रुभ गरेर देखायो, राम्रै काम गरेछ भन्नुभएछ । तर, मसँग कहिल्यै तँ ठिक बाटोमा हिँडेको रहिछस् भनेर भन्नु भएन ।” 

० ० ० 

पहिलो एल्बम ‘सहर तिम्रो’ सुपरफ्लप भयो । किन ? सुरेन्द्रमानले कारण खोजे । वेस्टर्न म्युजिक सुन्ने बानी थियो, त्यसकै प्रभाव परेछ । नेपालमा बनिरहेका र बजिरहेका त के गीत हुन् भन्ने लाग्थ्यो । सायद उमेर र बुझाइ नै त्यस्तै थियो । गल्ती त्यहीँ भएछ । सेल्फ रियलाइजेसन गरे । कमजोरी पत्ता लगाए । कस्तो संगीत नेपाली स्रोताले सुन्छन् भन्ने उनले सेल्फस्टडी गरे ।

वीरगन्ज बस्दा सुरेन्द्रमानले बुवाका सहकर्मीसँग तपाईंको तिर कस्तो गीत हुन्छ ? भनेर सोधेका थिए । उनले एउटा गीत लेखेर दिए ।

त्यो गीत थियो, हुक्का मेरो । तर, पहिलो एल्बम निकाल्ने बेलामा उनले त्यो गीत राखेनन् । कारण, मन परेको थिएन । हाम्रो जानराको गीत होइन भन्ने निष्कर्षमा पुगेर त्यसलाई पाखा लगाएका थिए ।

दोस्रो एल्बममा त्यसलाई नेपालीपन दिएर कम्पोज गरे । यो कम्पोज गर्न उनलाई लामो समय लाग्यो । शब्दशब्दमा खेलेर कम्पोज गरे । त्यो समय आफूलाई अब प्रमाणित गर्नुपर्छ भन्ने चुनौती पनि थियो । त्यसैले लामो समय लगाएर कम्पोज सकाएका थिए ।

“मिहिनेत त गरेका थियौँ, रेकर्डिङ सकेपछि सुन्नेले राम्रो पनि भनेका थिए । तर, बिल्कुल फरक मेलोडीमा भएकाले स्रोताले मन पराउनुहुन्छ कि हुन्न भन्नेमा ठूलो शंका थियो,” सुरेन्द्रमान अतीततिर फर्किन्छन्, “त्यही भएर हामीले कसैलाई नदिई आफैँ कम्पनी खोल्यौँ । भिडियो पनि आफैँ बनाएर बजारमा ल्यायौँ ।”

रिलिज भएको एक महिनाभित्रै गीत चर्चामा आइसकेको थियो । त्यो बेलाका चलेका म्युजिक कम्पनीले क्यासेट निकाल्न अफर गर्न थाले । त्यसपछि बल्ल सुरेन्द्रमानलाई लाग्यो, अबचाहिँ स्ट्याबलिस हुन सकिन्छ ।

रेकर्डिङमा करिब डेढ लाख रुपैयाँ लगानी भएको थियो । ३५ हजारमा भिडियो बनेको थियो । क्यासेट कम्पनी स्यावले चार लाख दिएर क्यासेट किन्यो । त्यो गीतका कारण एल्बम लाखौँ कपी बिक्री भयो ।

‘हुक्का’ एल्बममै ‘मौनता’ गीत थियो । यो गीत पनि हिट भयो । ‘हुक्का मेरो’ले सुरेन्द्रमान र कर्मा ब्यान्डलाई चिनायो । ‘मौनता’ले फ्यान फलोइङ दियो ।

“मौनता हिट भएपछि बल्ल म र मेरो ब्यान्ड चिनिन थाल्यो । म गायक भएँ, अब मान्छेले मेरो नाम र ब्यान्डको नाम सुन्न थाले भन्ने फिल गरेको हुँ,” उनी सुनाउँछन् ।

‘मौनता’ आफ्नै रङ र ढंगको गीत भएको सुरेन्द्रमान बताउँछन् । संगीतका सम्पूर्ण सिद्धान्तलाई भत्काएर आफूलाई जे गाउन मन लाग्छ, त्यसैगरी उनले यो गीत तयार गरेका थिए । शंका थियो, तर केही ढुक्क थिए । जब यो गीत आयो, यसले सुरेन्द्रमान र कर्मालाई थप उचाइ दियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro