site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
झलनाथ भन्छन्– पछिल्लो घटनाक्रम सकारात्मक, सम्मानपूर्वक वार्ता गरिनुपर्छ 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले लिइएको बताएका छन् ।

बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा उनले दक्षिणपन्थीका ठाउँमा वामपन्थी गठबन्धन निर्माण भएको बताए । उनले नेताहरू फराकिलो छातीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

“जुन घटनाक्रम विकसित भएको छ, त्यसलाई हामीले सकारात्मक ढंगले लिएका छौँ । हिजोको दक्षिणपन्थी गठबन्धनको ठाउँमा वामपन्थी गठबन्धन निर्माण भएको छ,” उनले भने, “यो आफैँमा सकारात्मक कुरा हो । यसलाई पूर्णता दिन सबैभन्दा ठूला वामपन्थी समूहका नेताबीच फराकिलो छाती, फराकिलो दृष्टिकोण लिएर अघि बढ्नुपर्छ ।”

सरकारमा सहभागी हुने विषयमा एकापसमा सम्मानपूर्वक वार्ता गरिनुपर्ने उनले बताए । सबैलाई समेट्ने ढंगले अघि बढे सहमतिमा पुग्न सकिने उनको भनाइ छ ।

“एकापसमा सम्मानपूर्वक वार्ता गर्नुपर्छ । सबैलाई समेट्ने हिसाबले एउटा सहमतिमा पुग्नुपर्छ । नीतिगत सहमति, प्रक्रियागत सहमति, संरचनागत सहमति तीन’टै कुरामा सहमति हुनुपर्छ । त्यो भयो भने अघि बढ्न सकिन्छ,” उनले भने ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)बीचको नयाँ गठबन्धनमा सहभागी हुन एकीकृत समाजवादीलाई नेताहरूले आह्वान गरिरहेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भेट गरी सहकार्यका निम्ति आग्रह गरेका थिए । त्यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाललाई फोन गरेको बताइन्छ ।

एकीकृत समाजवादी नयाँ गठबन्धनमा सहभागी हुने/नहुने भन्ने निर्णयमा पुगिसकेको छैन । बुधबार बिहान ११ बजेका निम्ति सो पार्टीको सचिवालय बैठक बोलाइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro