विशेष
काठमाडौं । देशभर भएका विभिन्न सडक दुर्घटनामा यो वर्षको साउनयतामात्र झन्डै ३ सय जनाको ज्यान गएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला ४२ दिनमा २ सय ९६ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ भने ५ सयभन्दा बढी गम्भीर घाइते भएका छन् ।
साउन महिनामा मात्र सडक दुर्घटनामा परेर १ सय ८० जनाको मृत्यु भएको छ । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै मध्य क्षेत्रमा ७५ जनाको मृत्यु भएको छ । यीमध्ये ५१ पुरुष, १८ महिला, ४ बालक र २ बालिका छन् । मध्य क्षेत्रमा सबैभन्दा धेरै ४३ वटा मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । त्यस्तै १६ वटा बस, २१ वटा ट्रक, ११ वटा कार गरी १ सय ४ वटा सवारी दुर्घटना मध्य क्षेत्रमा भएका छन् ।
त्यसैगरी पूर्व क्षेत्रमा ४७ जनाको मृत्यु भएको छ, जसमा २९ पुरुष, ११ महिला, ४ बालक र ३ बालिका छन् । पूर्वमा पनि सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् । १ सय ३४ मोटरसाइकल, ३९ बस, ४५ कार÷जिप, १६ ट्रक गरी २ सय ७५ वटा सवारी दुर्घटना पूर्व क्षेत्रमा यो अवधिमा भएका छन् ।
साउनयता काठमाडौं उपत्यकामा ९ सय ५० वटा सवारी दुर्घटना भएका छन्, जसमा ६ जना पुरुष र ४ जना महिला गरी १० जनाको मृत्यु भएको छ ।
पश्चिम क्षेत्रमा ७३ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ, जसमा ३१ जनाको मृत्यु भएको छ । मध्यपश्चिममा २५ वटा सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ । त्यसैगरी सुदूरपश्चिममा साउन महिनाभरमा ९ वटा सवारी दुर्घटना भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
प्रहरीको तथ्यांकअनुसार यो भदौमा मात्र देशका विभिन्न स्थानमा गरी ९५ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ । सबैभन्दा ठूलो दुर्घटना आज बिहान त्रिशूलीमा भएको छ, जसमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
प्रहरी प्रवक्ता माधव जोशीका अनुसार गत साउनयता देशभर एक हजारभन्दा बढी सवारी दुर्घटना भएका छन् । “अरु बेलाभन्दा साउन र भदौमा सवारी दुर्घटना धेरै हुन्छन्,” उनले भने, “यातायात व्यवसायीलाई लामो रुटका सवारी चलाउन निश्चित मापदण्ड तोकिए पनि कार्यान्वयन हुन सकेको छैन । त्यसैले पनि सडक दुर्घटना बढ्दो छ ।”
यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भने सडक दुर्घटनामा ८० प्रतिशत चालकको दोष हुने दाबी गर्छन् । उनले बाह्रखरीसँग भने, “सडक र सवारीसाधनको अवस्था नहेरी मुढे बलका भरमा सवारी चलाउन खोज्ने गरेका कारण सवारी दुर्घटना धेरै हुने गरेका छन् ।” यातायात व्यवसायी सरकारको मापदण्डविपरीत चल्ने गरेका कारण पनि सडक दुर्घटनाको स्थिति भयावह भएको उनी बताउँछन् । “यातायात व्यवसायीले चालकको गल्ती छोप्ने भन्दा पनि सडक दुर्घटना रोकथाम गर्नतिर ध्यान दिन जरुरी छ,” उनले भने ।
उता, नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भने सरकारी अधिकारीहरू सडकको अवस्था नहेरी सिधै चालकको लापरबाही भन्दै उम्किने गरेको बताउँछन् । उनले भने, “सडकको अवस्था सुधार हुन जरुरी छ, चालकमा पनि कमीकमजोरी होलान् । तर, सबै दोष उनीहरूको टाउकोमा थोपर्नु सरकारको गैरजिम्मेवारीपन हो ।”
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७३ १५:०४
प्रतिक्रिया दिनुहोस्