सुर्खेत । "समान हैसियत भएका, समान उद्देश्य भएका र एउटै ठाउँमा बस्ने व्यक्तिहरू भएको स्थानलाई समाज भनिन्छ," दलित महिला अधिकारकर्मी मञ्जु सुनारले भनिन्, "तर, हाम्रो समाज विभेदले भरिएको छ । जहाँ लैंगिक विभेद छ । जातीय विभेद छ । भौगौलिक विभेद छ । वर्ग र धर्मका आधारमा विभेद छ ।"
उनका अनुसार महिलालाई, आमा, छोरी, बुहारी, श्रीमती वा दिदी बहिनीको परिचय त दिइयो । तर, सिंगो मानवका रूपमा आफ्नो पहिचान बनाउनका लागि महिलाले अझै पनि संघर्ष गर्नुपर्ने अवस्था छ ।
वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा महिला अधिकारकर्मी सुनारले सुनाइन्, "हामी अझै पनि परिवार, समाज र राज्यस्तरबाट दबिनुपरेको छ ।"
कर्णाली उत्सवको तेस्रो दिन सोमबार 'समाज र संघर्ष' सत्रमा सुनारले महिला र जातीय विभेदबारे बोलिन् । सुनारसँगै थिए, अधिकारकर्मी ममता नगाल, पवित्रा शाही र टीका बुढाथोकी ।
उनीहरूले समाजमा महिलाले गरेको संघर्षबारे मन्थन गरे । आफ्ना दुःख, भोगाइ र संघर्षबारे खुलेर छलफल गरे ।
राजनीतिक तवरबाट अहिले पनि महिला अधिकार, महिला सशक्तीकरण, समानता र समताको विषयमा जतिसुकै चर्का भाषण गरे पनि कर्णालीका महिला अहिले पनि चुलाचौकाभन्दा माथि उठ्न नसकेको सुनारको अनुभव छ ।
तिस वर्षदेखि दलित महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी सुनार भन्छिन्, "आफ्नै परिवारभित्र विभेद छ । आफ्नै छोरा र छोरीलाई त फरक व्यवहार गरिन्छ । दलित महिलाहरूले त झनै विभेदभित्र विभेद खेप्नुपरेको छ ।"
'पोथी बासेको सुहाँदैन' भन्ने समाजमा अधिकारको आवाज उठाउन सहज नभएको उनी बताउँछिन् ।
"२०५० सालमा शिक्षिका भएर एउटा गाउँमा पढाउन गएँ । त्यो समाजले मलाई कोठा दिएनन् । मेरो शिक्षा चल्थ्यो, तर मलाई बस्ने ठाउँ थिएन," उनले भनिन्, "अधिकारका आवाज उठाउँदा अनेकौँ विभेद र लाञ्छना भोगेकी छु ।"
अर्की अधिकारकर्मी ममता नगालले दुई वर्ष अगाडिमात्रै एउटा पूजामा जाँदा 'विधवा' (एकल महिला)ले पकाएको रोटी चल्दैन भन्दै बाहिर पठाइएको अनुभव सुनाइन् ।
"यो समाज बाहिर एउटा बोल्छ । घरभित्र अर्कै व्यवहार पर्छ । परिवर्तनका चर्का आवाज बोल्नेहरू नै विभेदको कारक हुन्," उनले भनिन्, "कर्णालीमा चरम विभेद छ । अपमान छ । भए नभएका सामाजिक विभेदका बन्धनहरू छन् । त्यही बन्धनमा हामी बाँधिएका छौँ । हामीलाई समाजले स्वीकार्दैन, हाम्रो सम्पतिमा समेत अधिकार छैन ।"
सानै उमेरमा विवाह गरेकी नगालका श्रीमान् सशत्र प्रहरी थिए । माओवादी द्वन्द्वका बेला उनका श्रीमान् मारिए ।
"त्यो समाजले मलाई किरिया गर्नसमेत दिएन । म गाउँमा न्याय नपाएर, एउटा दुधे बालक च्यापेर यो सपनाको सहर वीरेन्द्रनगरमा आएको हुँ," उनले भनिन्, "मलाई थाहा छ, यो समाजले एउटी महिलामाथि लाञ्छना लगाउन सक्छ । कति विभेद गर्न सक्छ ।"
सुर्खेतमा आएपछि नगालले अर्को संघर्ष गरिन् । आफूजस्तै १६–१७ वर्षीया एकल महिलाहरूलाई संगठित गरेर अधिकारका लागि आवाज उठाउन थालिन् । द्वन्द्व प्रभावित महिलाहरूको न्यायका लागि लड्न थालिन् ।
राष्ट्रिय महिला सञ्जाल, सुर्खेतकी अध्यक्षसमेत रहेकी नगाल भन्छिन्, "हामी बसेको घर, हाम्रो नाममा छैन । एकाध महिला पढेलेखेका होलान, जागिर खाएका होलान् । आफ्नो बोली प्रष्टरूपमा राख्न सक्छन् होला । तर, ८० प्रतिशत भन्दा बढी महिला चुलोचौकोभन्दा माथि उठ्न सकिरहेका छैनन् । समाज र सम्पत्तिबाट बहिस्कृत छन् ।"
समाजमा महिलाहरू स्थापित हुन र आफ्नो मर्यादा कायम गर्न छुट्टै संघर्ष गर्नुपरेको महिला अधिकारकर्मी पवित्रा शाही बताउँछिन् ।
"एउटी महिला पूर्ण मान्छे भएर बाँच्न पाएको अवस्था छैन । ऊ परिवारबाट दमित हुन्छे । सामाजिक बन्धनमा बाँधिन्छे," उनले भनिन्, "कर्णालीको समाज अहिले पनि छोरीको बिउ रोप्न चाहदैनौँ । छोरी गर्भमै मारिन्छिन् । यो हाम्रो बाध्यता हो ।"
शक्ति, सत्ता र पहुँचबाट रहेकाहरूले नै महिलामाथि दमन गर्ने गरेको उनले बताइन् ।
"जहाँ सत्ता र शक्ति हाबी हुन्छ, त्यहाँ अन्याय, अत्याचार, विभेद, विसंगति र विकृति हुन्छ," उनले भनिन्, "त्यसैले हामीले सभ्य समाज बनाउनलाई समानता कायम गर्नुपर्छ । मेरो जीवनको संघर्ष नै महिला र पुरुषमा समानता ल्याउनु हो ।"
अर्की अधिकारकर्मी टीका बुढाथोकीले कर्णालीको समाजले अहिले पनि छोरालाई बोर्डिङ र छोरीलाई सरकारी विद्यालय पढाउने गरेको बताइन् ।
"महिला र पुरुषको विभेद प्रत्येक घरमा छ । त्यो यो समाजको उपज हो । चुलोचौकोबाट उठेर यो स्टेजमा आइपुगेका छौँ," उनले भनिन्, "हामीले प्रत्येक पाइलामा विभेद भोगेका छौँ ।"