site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले सय दिनमा गरे चार हजार विदेशी विद्यार्थीको भिसा रद्द 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ट्रम्पको दोस्रो कार्यकालको पहिलो एक सय दिनमा चार हजार विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ । 

भिसा रद्द गरिएका विद्याथीमध्ये ९० प्रतिशतको गम्भीर आपराधिक इतिहास पाइएको अमेरिकाको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले पुष्टि गरेको फक्स न्युजले जनाएको छ ।

“हाम्रो भिसा प्रणालीमा निगरानी र जवाफदेहिताको अभाव रहेको छ,” ती अधिकारीले भने, “ट्रम्प प्रशासनले यसलाई सुधार्न पछिल्लो सय दिनमा अधिकतम प्रयास गरेको छ ।” 

Argakhachi Cement Island Ad

विदेश मन्त्री मार्को रुबियोले मन्त्रालयलाई अमेरिकामा बस्ने विदेशीहरू कानुन पालना गरिरहेका छन् अथवा छैनन् भन्ने सुनिश्चित गर्न सूक्ष्म छानबिनको नीति अवलम्बन गरेको बताएका छन् । 

उनले भनेका छन्, “हामीले एक अध्ययन कार्यदल गठन गरेका छौँ, जसको परिणामस्वरूप हजारौँ भिसा रद्द भएका छन् किनभने यी व्यक्तिहरूले कानुन उल्लंघन गरेका थिए । यही प्रभावकारी शासन हो ।” 

न्युयोर्क पोष्टका अनुसार, गम्भीर अपराध जस्तै आगजनी, वन्यजन्तु र मानव तस्करी, बाल अपराध, घरेलु हिंसा, नशा सेवन गरेर गाडी चलाउने र डकैतीजस्ता अपराध समावेश छन् । अखबारले नै पहिलोपटक यो संख्या सार्वजनिक गरेको थियो । 

समाचार अनुसार, भिसा रद्द हुने ५०० भन्दा बढी विद्यार्थीमा कुटपिटको आपराधिक रेकर्ड छ ।

“विदेशी विद्यार्थीहरू यहाँ आएर अमेरिकी कानुन उल्लंघन गरिरहे तर त्यसमाथि कुनै कारबाही भएन,”  विदेश मन्त्रलय स्रोतले न्युयोर्क पोष्टलाई भने, “हामीले यसलाई समाधान गर्न एक विशेष कार्यदल गठन गरेका छौँ ।” 

राज्य विभागका प्रवक्ताले अमेरिकाको सीमा सुरक्षित गर्न र आफ्ना नागरिक सुरक्षित राख्न हरेक दिन भिसा रद्द गर्दै आएको बताएका छन् । उनले यसलाई जारी राख्ने पनि बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्