
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको एकसय दिन मंगलबार पूरा हुँदै गर्दा उनको छाप जताततै देखिन्छ । तर, दीर्घकालीन प्रभाव भने स्पष्ट छैन ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले के गर्न चाहेको हुन् वा अब गर्नुपर्ने आधारभूत कामहरू के हुन् भन्नका लागि उनका केही कार्यकारी आदेशहरू संकेत हुन् । उदाहरणका लागि, पहिलो दिन उनले उर्जा उत्पादन बढाउन ऊर्जा आपत्काल घोषणा गरे । तर, अर्को वर्षसम्म यसको कुनै परिणाम देखिनेछैन जबकी उनले मतदाताहरूलाई उनीहरूको विद्युत् खपतको बिल धेरै घट्ने आश्वासन दिएका थिए ।
ट्रम्पका लक्ष्यहरू कहिलेकाहीँ एकअर्कासँग बाँझिन्छन् । उनले जीवनयापन खर्च पनि घटाउने र विदेशी मालसामानमा आयात कर लगाउने दुवै वाचा गरेका छन् । यसले गर्दा सामानहरूको मूल्य बढ्ने सम्भावना छ ।
ट्रम्पको आफ्नो आदेश र कार्यहरू कानुनी रूपमा सही छन् वा छैनन् भन्ने प्रश्न अझै अनुत्तरित छ । उनका केही आदेशविरुद्ध मुद्दा चलिरहेका छन् । यसको अर्थ, उनले गरेका धेरै कामहरूमा अदालत उल्टिन सक्ने अवस्था छ ।
उनले गरेका चुनावी वाचाहरूको यस्तो छ प्रगति अवस्था
१. मूल्य घटाउने वाचा
अमेरिकामा सन् २०२२ मा मुद्रास्फीति ९.१ प्रतिशतको उच्चतम अवस्थाबाट घट्दै गएको छ । जनवरीमा ट्रम्पले पदभार ग्रहण गर्दा यो तीन प्रतिशतमा झरेको थियो र मार्च महिनासम्ममा मुद्रास्फीति घटेर २.४ प्रतिशत पुगेको छ । “हामीले महँगीलाई समाधान गरिसकेका छौँ,” ट्रम्पले भने । तर अमेरिकी फेडरल रिजर्भले राष्ट्रपतिको आयात कर योजनाले विदेशी आयातमा कर लागेर मूल्य वृद्धि गराउने चेतावनी दिएको छ ।
यसका साथै, ट्रम्पले भनेजस्तो सबै ऋण तिर्नसक्ने सम्भावना न्यून छ । उनको कर कटौती योजनाले देशको ऋण तिर्न चाहिने राजस्व बढ्ने छैन । उनले २०१६ मा पनि यस्तै वाचा गरेका भए पनि उनको पहिलो राष्ट्रपतिकालमा राष्ट्रिय ऋण झन्डै दोब्बर भएको थियो ।
२. अवैध आप्रवासनमा कडाइ
ट्रम्पले सीमा नियन्त्रण गर्ने आफ्नो प्रमुख वाचामा स्पष्ट प्रगति हासिल गरेका छन् । मेक्सिकोबाट अमेरिकामा अवैध रूपमा प्रवेश गर्न खोज्ने व्यक्तिहरूको संख्या राष्ट्रपति जो बाइडेन भएको अन्तिम वर्षमा ठूलो मात्रामा घटेको थियो । डिसेम्बर २०२३ मा दुई लाख ४९ हजार ७४० बाट घटेर डिसेम्बर २०२४ मा ४७ हजार ३२४ पुगेको थियो । ट्रम्पको कार्यकालमा यो संख्या झन् घटेर फेब्रुअरीमा आठ हजार ३४६ र मार्चमा सात हजार १८१ सम्म झरेको छ । तर, ट्रम्पले बाइडेनले जति मनिसहरूलाई अमेरिकाबाट फिर्ता पठाएका छन् वा छैनन् भन्ने हाल निश्चित भएको छैन किनभने यसको आँकडा अहिले उपलब्ध छैन ।
यसैबीच आप्रवासन र भन्सार निकायले देशभरबाट धेरै व्यक्तिहरूलाई पक्राउ गरिरहेको छ । अमेरिकाबाट धेरै निर्दोष व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा नभएकै अवस्थामा देश फिर्ता गरिएका छन् । किलमार अब्रेगो गार्सियाको एल साल्भाडोर पठाउने ट्रम्पको निर्णय यसअन्तर्गत आउँछ । उनलाई कुनै आपराधिक रेकर्ड वा सुनवाइविनै एल साल्भाडोरको जेलमा पठाइएको छ ।
३. उर्जा बिल घटाउने वाचा
चुनाव अभियान ताका ट्रम्पले मतदाताहरूलाई एउटा वाचा गरे । उनले १२ देखि १८ महिनाभित्र उर्जा खर्च आधादेखि तीन चौथाइसम्म घटाउने प्रतिज्ञा गरेका थिए । उनले भने, “यदि यो योजनाले काम गरेन भने, तपाईंले भन्नुहुनेछ, ओहो, ठिक छ, मैले उनलाई मत दिएको थिएँ, तर उनले जे होस् धेरै नै घटाए ।”
यसबाहेक सेप्टेम्बरमा नर्थ क्यारोलिनाको मिन्ट हिलमा भएको र्यालीमा उनले भने, “हामी उर्जा र बिजुलीको मूल्य आधा घटाउनेछौँ जुन मेरो योजना पनि हो ।”
४. आयात कर लागु
ट्रम्पले आफ्नो आयात करप्रतिको रुचि र अन्तर्राष्ट्रिय व्यापारमा अन्य देशहरूले अमेरिकालाई ठगेको कुरालाई कहिल्यै लुकाएनन् । चुनावताका उनले भनेका थिए, “म विदेशमा उत्पादन गरिएका धेरैजसो सामानमा सामान्य आयात कर लगाउनेछु ।” उनले यसलाई कार्यान्वयन गरे । तर, यसका सर्तहरूलाई बारम्बार परिवर्तन गरे ।
ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा आयात कर बढाएर कार्यकाल सुरु गरे । यसमा मुख्यतः अमेरिकामा फेन्टानिल प्रवेश गर्न दिएको भन्ने सजायको रूपमा । त्यसपछि अप्रिल २ मा मुक्ति दिवस भन्दै उनले विदेशी आयातमा अझ व्यापक कर लगाए । ट्रम्पले यो योजना केही फिर्ता लिँदै वार्ता गर्ने निर्णय गरे । तर चीनविरुद्ध भने १४५ प्रतिशतसम्मको आयात कर कायमै राखे ।
यी भारी आयात करहरू र तिनको अनियमित प्रयोगले स्टक बजारमा उथलपुथल मच्चाएको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालभन्दा बजारको अराजकताप्रति बढी सहनशीलता देखाएका छन् ।
५. युद्ध अन्त्य गर्ने वाचामा असफल
गत वर्षको र्यालीमा ट्रम्पले चुनाव जितेलगत्तै (पदभार ग्रहण नगर्दै) रुस र युक्रेनबीच युद्ध अन्त्य गरी शान्ति ल्याउने बाचा गरेका थिए । अगस्टमा डेट्रोइटमा भएको राष्ट्रिय गार्ड एसोसिएसन सम्मेलनमा उनले भनेका थिए, “म ओभल अफिसमा पुग्नुभन्दा अगाडि नै, चुनाव जितेको केही समयपछि रुस र युक्रेनबीचको युद्ध समाधान गरिसक्नेछु ।” तर यो भएन ।
६. महत्त्वाकांक्षी कर कटौतीको वाचा
ट्रम्पले आफ्नो कार्यकारी आदेशद्वारा के के गर्न सकिन्छ भनेर त्यसको परीक्षण गरे । तर, आफ्ना वाचाअनुसार कर कटौती गर्न उनलाई तल्लो सदन कंग्रेसको आवश्यकता पर्छ ।
उनले टिप, ओभरटाइम र सामाजिक सुरक्षा भुक्तानीमा कर हटाउने प्रतिज्ञा गरे । आफ्नो पहिलो कार्यकालमा लागु गरेका कर कटौतीहरू स्थायी बनाउने बताए । यीमध्ये केही पनि बाचा पूरा भएन । ठूला आयात करहरू लागु हुँदै गरेकोले करको बोझ सुधार हुनुअघि नै बढ्ने अवस्था छ ।
तर, राष्ट्रपति कांग्रेसमा रिपब्लिकनहरूसँग मिलेर कानुन पारित गर्न लागिरहेका छन् । हाउस र सेनेटमा रिपब्लिकनको झिनो बहुमत रहेकोले ट्रम्पले भनेजस्तो ‘सुन्दर विधेयक’लाई पारित गर्न दलभित्रै समर्थन जुटाउन गाह्रो हुन सक्छ ।
७. शिक्षाका आधारभूत स्तम्भहरूमा निसाना लगाए
ट्रम्पले अमेरिकामा शिक्षण संस्थानहरूलाई करको करोडौँ डलर रोक्ने धम्की दिएका छन् । यो उनको चुनावी वाचाहरूको परिणाम हो ।
अन्य प्रमुख विश्वविद्यालयहरूले ट्रम्पको माग पूरा गर्न इच्छुक भए पनि हार्वर्डले भने ट्रम्पलाई टेरेन । यसको प्रतिक्रियामा ट्रम्पले हार्वर्डको करमुक्त दर्जा रद्द गर्न, विदेशी विद्यार्थीहरूको भर्ना रोक्ने धम्की दिए । साथै, दुई अर्ब डलरभन्दा बढीको अनुदान र सम्झौताहरू फ्रिज गरे ।
तर, यस्ता प्रयासहरू धेरै टाढासम्म फैलिएका छन् । ट्रम्प प्रशासनले अन्य विश्वविद्यालयहरूलाई पनि निसाना बनाइरहेको छ । देशभरका विश्व विद्यालयहरूमा धेरै विदेशी विद्यार्थीहरूको कानुनी आधार अस्थायी रूपमा समाप्त गरिएको छ ।
८. संस्कृतिका आधार स्तम्भहरूमा पनि निसाना लगाए
बाइडेनकालीन विविधता, समानता र समावेशीता कार्यक्रमहरू रोकिए । संघीय सञ्चारहरूमा विविधताको सन्दर्भ हटाइए । यो प्रयास संस्कृतिक संस्थानहरूसम्म गहिरो रूपमा पुग्यो र संघीय कर्मचारी भर्ती र कार्यस्थल अभ्यासभन्दा पनि बाहिरसम्म थियो ।
विशेषगरी पेन्टागनमा, वेबपेजहरूमा राखिएका हजारौँ तस्बीरहरू र अन्य अनलाइन सामग्रीहरू हटाउनको लागि चिह्न लगाइएको थियो । द्वितीय विश्वयुद्धको एनोला गे बमवर्षक विमानको तस्बीर, काला र नावाजो युद्ध नायकहरू र नारी अग्रदूतहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने सामग्रीहरू हटाउन चिह्न लगाइएको थियो । तर, अधिकांश लक्षित सामग्री अन्ततः बच्न सफल भए । ‘अमेरिकी इतिहासमा सत्य र विवेक पुनस्र्थापना’सम्बन्धी ट्रम्पको कार्यकारी आदेशले ‘अनुचित विचारधारा’ प्रवर्धन गर्ने स्मिथसोनियन कार्यक्रमहरूलाई संघीय रकम दिन निषेध गर्यो ।
९. ट्रान्सजेन्डर अधिकारहरूलाई पूर्वावस्थामा फर्काउने वाचा
ट्रम्पले खेलकुदमा ट्रान्सजेन्डर खेलाडीहरूको सहभागिता र समाजमा लैंगिक पहिचान नभएको विचारलाई स्वीकार गर्ने प्रयासहरूविरुद्ध चुनाव अभियान चलाए । उनले ‘ट्रान्सजेन्डर पागलपन’ विरुद्ध लिने प्रतिज्ञा गरे ।
राष्ट्रपतिको रूपमा, उनले महिलाहरूको टोलीहरूबाट ट्रान्सजेन्डर खेलाडीहरूलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् । उनले सेनाबाट ट्रान्सजेन्डर सैनिक हटाउने प्रयास रोकेका तल्ला अदालतहरूविरुद्ध सर्वोच्च अदालतबाट फैसला गर्न पनि अनुरोध गरेका छन् ।
१०. ‘डोज, मलाई यो मन पर्छ’
गत वर्ष एलन मस्कले ट्रम्पलाई सरकारी कार्यदक्षता विभागको विचार प्रस्तुत गरे । जसले संघीय कर्मचारी घटाउने जिम्मेवारी लिए । ट्रम्पले जवाफ दिए, “मलाई यो मन पर्छ ।”
परिणाम धेरैले सोचेकोभन्दा बढी सक्रियता रह्यो । मस्कले आफ्ना केही सहयोगीहरूलाई साथ लिएर ट्रम्प प्रशासनको लागि प्रत्यक्ष रूपमा काम गर्न थाले । संघीय एजेन्सीहरूमा उनका समर्थकहरू बसेर संवेदनशील डाटामाथि पहुँच राख्ने, पेसेवर अधिकारीहरूसँग प्रश्न गर्ने र कटौतीको लागि दबाब दिन थाले ।
यसको परिणाम मिश्रित छ । ट्रम्प र मस्कले कर्मचारीतन्त्रमा आघात पुर्याउन र हजारौँ कर्मचारीहरू हटाउन सफल भए । अझै धेरै परिवर्तन आउन बाँकी छ । मस्कले सरकारी खर्चमा आफ्नो लक्षित बचत एक खर्ब डलरबाट घटाएर १५० अर्ब डलरमा पुर्याए । तर, यसबाट महत्त्वपूर्ण भनिएको जस्तो संघीय खर्चमा बचत हुन सकेको छैन ।
११. जनवरी ६ का आक्रमणकारीहरूलाई क्षमादान
ट्रम्प समर्थकहरूको हिंसात्मक समूहले ६ जनवरी २०२१ मा अमेरिकी क्यापिटल हिलमा आक्रमण गरेपछि ट्रम्पले यसलाई घृणित आक्रमण भनेर निन्दा गरे । तर, उनको बयान चाँडै बदलियो । चुनाव अभियानमा, ट्रम्पले दंगाइहरूलाई देशभक्त र न्याय प्रणालीका बन्धक भनेर सम्मान गरे र वाचा गरे, “मैले पहिलो दिन नै उनीहरूको क्षमादानमा हस्ताक्षर गर्नेछु ।” उनले ठ्याक्कै त्यसै गरे । प्रहरी अधिकारीहरूमाथि आक्रमण गर्नेलगायत करिब एक हजार ५०० जनालाई क्षमादान दिइयो ।
१२. पर्यावरण संरक्षणविरुद्ध कारबाही
तेल, प्राकृतिक ग्यास र कोइला उत्पादनलाई प्राथमिकता दिने आफ्नो घोषित प्रयासको अंशको रूपमा, ट्रम्पले यस लक्ष्यका लागि कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे । तर यो वास्तविकता भन्दा फरक छ । उनको एउटा आदेशले बाइडेनकालीन “इलेक्ट्रिक वाहन अनिवार्यता” रद्द गरे । तर वास्तवमा त्यस्तो आवश्यक नै थिएन । उनले बाइडेनको २०३० सम्म नयाँ कारको आधा इलेक्ट्रिक वाहन हुने गैरबाध्यकारी लक्ष्यबाट मात्र फिर्ता भए ।
यस आदेशले क्यालिफोर्नियालाई २०३५ सम्म पेट्रोलियम चालित कारको बिक्री चरणबद्ध रूपमा हटाउन दिने संघीय छुट समाप्त गर्न पनि खोज्यो । तर ट्रम्पले यो छुट हटाउने कानुन बनाउने जिम्मेवारी कांग्रेसलाई छोडेका छन् र यो हालसम्म कार्यान्वयन भएको छैन ।