काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘हात्तीछाप’को विषय राम्रो रहेको बताएका छन् । विषय मन परेकै कारण आफूले यो चलचित्र साइन गरेको उनले बताएका छन् ।
उनले भने, “यसको मुख्य उद्देश्य व्यवसायिकता नै हो । तर पनि फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । यो फिल्म राम्रो बनेको छ । यो सिनेमालाई लिएर म उत्साही छु ।”
सिमोस सुनुवारले निर्देशन गरेको चलचित्रको कथाबस्तु बलियो रहेको नायिका उपासना सिंह ठकुरीले बताइन् । उनले भनिन्, “यो चलचित्रले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यवसायिक फिल्मको रूपमा मात्र हेर्नु हुँदैन । सबै नेपालीले भोगेको विषयलाई लिएर कथा बनाइएको छ ।”
चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सन विक्रम राई, वुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
चलचित्र माघ २६ गतेबाट रिलिजमा आउँदै छ ।