काठमाडौं । ‘भोलिपल्ट हाम्रो संस्था (मण्डला थिएटर)को पैसा जम्मा गर्ने अघिल्लो दिन सल्लाह थियो । पैसा विजय (बराल)सँग थियो । मैले बिहानै फोन गरेर भनेँ,– त्यो पैसा जम्मा नगर है, म चलाउँछु,’ संघर्षका दिन सम्झिए दयाहाङले । दयाहाङसँग पैसा थिएन । तर श्रीमतीलाई डेलिभरीका लागि हस्पिटल लैजानुपर्ने भयो ।
एकातिर परिवारमा सन्तान आवगमन संघारमा रहेकाले दयाहाङको मन खुसीले बेचैन थियो । अर्कोतिर रित्तो खल्तीले तनाव दिइरहेको थियो । “श्रीमतीलाई ट्याक्सीमा राखेर हस्पिटल लाँदै गर्दा पैसा छैन के गर्ने भन्ने तनावले पिरोलिरहेको थियो,” बिहीबार चलचित्र दयारानीको पत्रकार सम्मेलनमा उनले भने, “त्यो मेरो संघर्षको समय थियो । पैसा थिएन । त्यसैले संस्थाको पैसा चलाउँछु जम्मा नगर भनेर विजयलाई भनेको थिएँ ।”
बच्चा जन्मिएपछि दिदीहरूले खुसी हुँदै बाहिर लिएर आए । छोरो जन्मिएको थियो । भाइको घरमा आएको पहिलो सन्तानको आगमनले उनीहरूलाई खुसी दिलाएको थियो । “तर म भने श्रीमतीलाई खोजिरहेको थिएँ”, दयाहाङ भन्छन्, “छोरा त ठिक छ, आमालाई के भयो भन्ने चिन्ताले मैले श्रीमतीलाई खोजिरहेको थिएँ ।”
सन्तान हुँदाको क्षण दयाहाङलाई उनले रिलिज हुन लागेको सिनेमा ‘दयारानी’ले उठाएको निःसन्तान दम्पतीको कथाले स्मरण गराएको थियो ।