काठमाडौं । कुसुन्ती युवा क्लबको आयोजनामा हुने प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुस २४ गतेदेखि सुरु हुने भएको छ । आयोजक कुसुन्ती युवा क्लबले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पहिलो संस्करण पुस २४ देखि २८ सम्म हुने जानकारी दिएको हो ।
जावलाखेलस्थित फुटबल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने आयोजकले बताए । जसमध्ये हालसम्म २७ टोलीले नाम दर्ता गराइसकेका छन् । प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ दर्ता शुल्क राखिएको छ ।
प्रतियोगितामा उपत्यका बाहिरबाट नवलपुर र वीरगन्जका टोलीले सहभागिता जनाउने छन् । उपत्यका बाहिरबाट सहभागी हुने क्लबहरूलाई भने दर्ता शुल्क नलिइएको आयोजकले बताए । ४० वर्षभन्दा माथिकाले सहभागिता जनाउन पाउने प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर र फरवार्डलाई समान ५ हजार रुपैयाँका सँगै बुद्ध एयरको माउन्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ ।