नेपालीमा एउटा भनाइ छ - ‘बिग्रे दोषादोष सप्रे खोसाखोस’ । अहिले नेपालमा सप्रेको कसैले देख्दैन । यसैले खोसाखोस हुने कुरा पनि भएन । सायद यही कारणले अहिले नेपालमा ‘दोषादोष’ पर्व चलिरहेको छ ।
केही दिन यता प्रधानमन्त्री, मन्त्रीहरूमात्र होइन सत्ताधारी दलका विशेषगरी नेकपा (माओवादी केन्द्र)का नेताहरूसमेत सरकारले गर्न नसकेको कामका लागि अरूमाथि दोष दिन थालेका छन् । यद्यपि, उनीहरूको दोष दर्शनमासमेत ‘दृष्टिदोष’ ध्वनित हुन्छ ।
सत्ताको मोहमा राजनीतिक ‘नैतिकता’ थाती राखेर ‘व्यवहारवाद’ अपनाउन खप्पिस मानिने प्रधानमन्त्री पुष्पकमल दाहाल कहिले ‘गठबन्धन’का कारण आफूले प्रभावकारीरूपमा काम गर्न नसकेको भन्छन् भने कहिले आफ्नो ‘चामल नबिकेको’ गुनासो गर्छन् । यत्तिले पनि उनको भनाइ अविश्वसनीय ध्वनित हुन्छ ।
अर्थतन्त्र उठाउन प्रभावकारी काम हुन नसकेकोमा आफ्नै पार्टी नेपाली कांग्रेसभित्रसमेत चर्को आलोचना भइरहेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महत भने आफूले काम गर्न नसकेको स्वीकार गर्नुको साटो ‘स्वार्थ समूह’ आफ्नाविरुद्ध खनिएको दोषारोपण गर्छन् ।
यी प्रतिनिधि उदाहरणमात्र हुन् । अरूलाई दोष दिएर उम्कन खोज्ने प्रवृत्ति स्वाभाविक मानवीय कमजोरी हो । परन्तु, महत्त्वपूर्ण सार्वजनिक पदमा रहेका जिम्मेवारी लिनेहरूले यस्तो प्रवृत्ति देखाउँदा भने कमजोरी नभएर पाखण्ड मानिन्छ ।
सत्तापक्षले नै गैरजिम्मेवार ‘पाखण्ड’ प्रदर्शन गरेपछि विपक्षीबाट के अपेक्षा गर्नू ? यद्यपि, संसदीय प्रणालीमा विपक्ष सत्तापक्षजत्तिकै जिम्मेवार हुनुपर्ने मानिन्छ । दुर्भाग्य, विपक्षी नेताहरू विशेषगरी प्रमुख विपक्षी नेकपा (एमाले)का नेताहरूको अभिव्यक्तिमा पनि पाखण्ड नै ध्वनित हुन्छ ।
देशमा केही भएन भन्ने ‘भाष्य’ बनाउन संविधान विरोधीहरू त लागि परेकै छन् व्यवस्थाका पक्षधरहरूसमेत जानीनजानी त्यसैलाई स्थापित गर्न खोजेको देखिन्छ । तिनले एकअर्कामाथि ‘हिलो छेपाछेप’ गर्दा सबैको अनुहारमा हिलो लतपतिएको छ ।
यसैले प्रधानमन्त्री दाहाललगायत सबै जिम्मेवार राजनीतिक नेताहरूले अरूमाथि दोष थोपर्न छाडेर आफ्नै कमजोरी पहिचान गरी सच्याउने प्रयासमा लाग्नु आवश्यक छ । सत्य स्वीकार गर्न नसक्नेले आफूलाई सच्याउन पनि सक्तैन । नेपाली जनताले दिएको मौकालाई पाखण्ड प्रदर्शनमा खेर फालेकोमा पछि पछुताउनु पर्नेछ ।