site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लस एन्जलस डढेलो : ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको संख्या ११ पुग्यो

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भएको छ । त्यसबाट हालसम्म ११ जनाको मृत्यु भएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरहरूले यो विपत्ति कति ठूलो छ भन्ने स्पष्ट बुझ्न सकिन्छ । सयौँ घरहरू ध्वस्त भएका छन् । गाडीहरू जलेका छन् । र, एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रुखहरू ढलेका छन् ।

लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपत्काल घोषणा गरेका छन् । र, वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँले ढाकिएको छ । प्रशासनले मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ ।

Argakhachi Cement Island Ad

लस एन्जलसका दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आगो निभाउन हजारौँ अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन् । धेरै ठाउँमा डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोपछि दुई लाख घरधुरीमा विद्युत् अवरुद्ध भएको छ ।

लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले सहर तथा बस्तीको भयावह अवस्था रहेको बताउँदै भनिन्, “यो क्षेत्रमा कसैले बम खसालेको जस्तो देखिन्छ ।”

प्यासिफिक पालिसेडमा आफ्नो जलेको घरको अगाडि उभिएर ग्रेग च्याम्पियनले पनि डढेलोले सम्पूर्ण क्षेत्रलाई आतंकित बनाएको बताए । उनले भने, “यहाँको अवस्था बमले ध्वस्त पारेको जस्तो छ ।”

मौसम र जलवायु परिवर्तनको असरले आउँदा दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञले आशंका व्यक्त गरेका छन् । अधिकारीहरूले पनि यो विपत्तिको पूर्वतयारीबारे तिखो प्रश्नहरूको सामना गरिरहेका छन् ।

क्यानडा सरकार संयुक्त राज्य अमेरिकालाई सहयोग गर्न अगाडि आएको छ । क्यानडाले आगो निभाउन अग्निनियन्त्रकका अतिरिक्त विशेष उपकरण पठाउँदै छ ।

अरू ६० हजार भवन जोखिममा परेका छन् । आगलागी र डढेलोका कारण व्यापक क्षति पुगेकाले बिमाअन्तर्गत ‘कभर’ गरिने कुल सम्पत्ति आठ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।

लस एन्जलस काउन्टीमा शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । यीमध्ये अधिकांश मानिसले आफूले बोक्न सक्ने सामान लिएर घर छोडेका छन् ।

यसबाहेक एक लाख ६६ हजार बासिन्दालाई उनीहरूले चाँडै आफ्नो घर छोड्नुपर्ने हुनसक्छ भनी चेतावनी दिइएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २२:५५
प्रतिक्रिया दिनुहोस्