site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौँलाई महासागरको पानी, अहोरात्र, व्यङ्ग्यधाम र अनुपम देवता

काठमाडौँलाई महासागरको पानी
(नियात्रासंग्रह : वियोगी बुढाथोकी)
साहित्यको विशेषतः कविता विधामा कलम चलाउने सर्जक वियोगी बुढाथोकीको पछिल्लो कृति नियात्रासंग्रहका रूपमा प्रकाशित छ, ‘काठमाडौँलाई महासागरको पानी’ । यसअघि पनि उनका केही नियात्राकृति सार्वजनिक भइसकेको छ ।

संग्रहका बारेमा कृतिकार बुढाथोकीले लेखेका छन्, “काठमाडौँको काँठमा जन्मनुको अर्थमा यतै आफ्नै जन्मस्थल छेउछाउमै त छन्— शिवपुरी, फुलचोकी, चन्द्रागिरि, लाँकुरीभन्ज्याङ, सुन्दरीजल, चम्पादेवी, ककनी, नमोबुद्ध । यतै नजिकै पुगेझैँ अनुभूति सँगालेँ, बटुलेको थिएँ विदेशको यात्रामा पनि ।”

बुढाथोकीको यो कृतिमा विदेशको फन्कोअन्तर्गत २५ नियात्रा समावेश गरिएको छ । स्वदेशको चक्करअन्तर्गत उनले चार स्थानविशेषको भ्रमणलाई कृतिभित्र समेटेका छन् ।

बुढाथोकीले यसअघि एक दर्जनभन्दा बढीको संख्यामा कृति ल्याइसकेका छन् । उनी शिवपुरी सन्देश साहित्यिक पत्रिकाका सम्पादक पनि हुन् ।

शब्दघर छापाखानाद्वारा प्रकाशित २००+४ पृष्ठको यो पुस्तकको मूल्य ५५०– रुपैयाँ राखिएको छ ।
०००

अहोरात्र
(उपन्यास : खेमनाथ दाहाल)
साहित्यका विभिन्न विधामा कलम चलाउने खेमनाथ दाहालको उपन्यास हो, ‘अहोरात्र’ । लेखकले यसलाई ‘यथार्थपरक उपन्यास’ भनेका छन् ।

उपन्यासकार दाहालले अन्तिम पानामा आफ्नो भनाइ उल्लेख गरेका छन्, “मैले लामो समयको अन्तरालमा अहोरात्रको पाण्डुलिपि तयार गरेर आफन्तमण्डलीलाई दिँदा अमेरिकाभित्रको संवादमा केको धर्मको चर्चा ? अमेरिका भूमिबाट सिर्जना गर्दा त्यहीँको विषयले प्राथमिकता पाउनुपर्ने कतिपयको राय । यो रायले मलाई फेरि पुरानो टिपोटका कापी खोज्न प्रेरित गर्यो । मैले उहाँहरूको प्रतिउत्तरका रूपमा अर्को कृति क्रिस्टिनाको प्रेमको सिर्जना गरेँ, तर अहोरात्रलाई थन्क्याउने आँट गरिनँ ।...।”

उपन्यासको ब्लर्बमा सम्पादक रमेश दाहालले लेखेका छन्, “...खेमनाथ दाहालको कृति पढ्न थालेपछि शरीरका सुषुप्त रोमरोम जुर्मुराउन थाल्दछन्, मन उद्वेलित हुन थाल्दछ भने प्रयोगित शब्दहरूमा मस्तिष्क घोरिन बाध्य हुन्छ ।...।”

उषा दाहालद्वारा प्रकाशित ३७६+४ पृष्ठको यो उपन्यासको मूल्य ७००– रुपैयाँ राखिएको छ ।
०००

व्यङ्ग्यधाम
(व्यङ्ग्य कविता : लक्ष्मण नेवटिया)
पाँच दशकयता साहित्यमा सक्रिय छन्, लक्ष्मण नेवटिया । उनले साहित्यका विभिन्न विधामा रचना सिर्जना गर्दै आएका छन् । नेवटिया मूलतः व्यङ्ग्य लेखनमा सक्रिय छन् । उनको प्रकाशनमा आएको पछिल्लो व्यङ्ग्य कविताहरूको कृति हो, ‘व्यङ्ग्यधाम’ ।

यो कविताकृतिभित्र व्यङ्ग्यकारहरू रामकुमार पाँडे र लक्ष्मण गाम्नागेले भूमिका लेखेका छन् । पाँडेले लेखेका छन्, “उनका कविता सुनका जस्ता मूल्यवान मात्र हैन गहनाका सुन्दर डिजाइन जस्ता कल्पनाशील पनि छन् ।...।”

गाम्नागेले लेखेका छन्, “...लक्ष्मण नेवटियाका कविताहरू हाम्रो समयका साक्षी कविताहरू हुन् ।”

कृतिकार नेवटियाले लेखेका छन्, “...मेरा पूज्य बुवाज्यू रामस्वरूप नेवटिया हँसमुख स्वभावका व्यक्ति हुनुहुन्थ्यो । बाल्यकालदेखि नै म उहाँका हास्यव्यङ्ग्य कविताहरूको स्रोता थिएँ ।...।”

‘नेपाली मनको रजतपट’ कवितामा उनले लेखेका छन्–
माछा माछा भ्यागुतो भन्दै
सपनाको सद्गति भयो
जसले पायो उसले खायो
कस्तो दुर्गति भयो 
सधैँ जाम, बिना काम
कस्तो यो सहमति भयो...
(पृष्ठ—१२)

नेवटियाले दश कृति सार्वजनिक गरिसकेका छन् ।

मञ्जरी पब्लिकेसनले प्रकाशनमा ल्याएको २८०+४ पृष्ठको यो पुस्तकको मूल्य ४५०– रुपैयाँ राखिएको छ ।
०००

अनुपम देवता
(उपन्यास : शंकर भारती)
उपन्यास लेखनमा लामो समयदेखि क्रियाशील सर्जक हुन्, शंकर भारती । उनका पाँच औपन्यासिककृति सार्वजनिक भइसकेको छ । ‘अनुपम देवता’ पहिलोपटक २०५३ सालमै प्रकाशित भएको हो । यसको अर्को संस्करण केही समयअघि भारतीले बजारमा ल्याएका छन् ।

उपन्यास समाज नेपालका अध्यक्ष समेत रहेका भारतीले आफ्नो कृतिका बारेमा लेखेका छन्, “...जुन चिज मानिस भन्न सक्दैन त्यो उसको जन्मजात हुनै सक्दैन । त्यसैकारण मैले मेरा उपन्यासहरूमा सबै पात्रहरूको नाम मात्र उल्लेख गर्ने गरेको छु, जात हैन ।”

यो उपन्यासभित्र डा. रामदयाल राकेश र डा. मधुसूदन लामिछानेले भूमिका लेखेका छन् ।

ग्लोबल बुक्स डिस्ट्रिब्युटर्सद्वारा प्रकाशित २३२+४ पृष्ठको यो कृतिको मूल्य ४००– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro