काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका दुवै पक्षका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् ।
कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सांसद परिचयपत्रसहित भेला भएका छन् । ४६ सांसद प्रदेश प्रमुखको कार्यालय आइपुगेका छन् । नेकपा एमालेका ज्ञानेन्द्र सुबेदी आउन बाँकी छ ।
बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए ।
मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् । अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन् ।
कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ ।
एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।