काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका काठमाडौँ क्षेत्र नम्बर ३ का उमेदवार उद्धवबहादुर सुवेदी बिहीबार दिनभरि राष्ट्रिय सभागृह परिसरमा दौडधूप गरे ।
उमेदवारी मनोनयन दर्ताका लागि कागजपत्र बोकेर सभागृह पुगेका उनी प्रस्तावक र समर्थक बस्ने मानिस नपाउँदा हैरान भएका हुन् ।
नियमतः प्रस्तावक र समर्थक बस्न सम्बन्धिन निर्वाचन क्षेत्रको एक–एकजना मतदाता आवश्यक पर्छ । मतदाता त भेट्थे तर नागरिकताको प्रतिलिपिलगायत आवश्यक अन्य कागजात नहुँदा उनी दिनभर अलमलमा परे र बेलुकीपखमात्रै उमेदवारी दर्ता गरे ।
प्रस्तावक, समर्थक नभएर उमेदवारी दर्ता गर्नै नपाउने अर्का उमेदवार हुन्– ज्ञानु लामा उर्फ ज्वालादेवी । हरेक निर्वाचनमा उमेदवारी दिन नछुटाउने र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरबाट मेयर पदमा उमेदवार दिएर जमानत बचाउन नसकेकी लामा यसपटक उमेदवार बन्न वञ्चित भइन् । अन्य कारणले होइन, प्रस्तावक र समर्थक बस्ने नभेट्टाएपछि प्रतिनिधिसभाको उमेदवार बन्नबाट उनी वञ्चित भएकी हुन् । त्यसो त उनले क्षेत्र नम्बर ३ मा सर्वकालीन उमेदवारको परिचयसमेत जोडेकी थिइन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नामक चुनावी मोर्चा बनाएर निर्वाचनमा होमिएको वैद्य माओवादीले पनि सोही समस्या झेल्नुपर्यो ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फ काठमाडौँका सबै क्षेत्रमा उमेदवारी दिने योजना बनाएको भए पनि कतिपय ठाउँमा उमेदवारै पनि र अधिकांश ठाउँमा प्रस्तावक, समर्थक फेला नपर्दा वैद्य माओवादीले उमेदवारी दिन सकेन ।
प्रस्तावक र समर्थक खोज्दाको हैरानी देखेर हामीले एकजना उमेदवारलाई प्रश्न गर्यौँ, “प्रस्तावक र समर्थक त छैनन्, कसरी चुनाव जित्नुहुन्छ ?”
“प्रस्तावक र समर्थक पो छैनन् त, मतदाता त छन् नि, भोट हालिहाल्छन् नि ?” उनले जवाफ दिएका थिए ।
ठूला दलको बेथिति
साना दलले प्रस्तावक र समर्थक खोज्दै हैरानी बेहोरिरहँदा ठूला दलका उमेदवार पनि असिनपसिन देखिन्थे । शुक्रबार बिहानसम्म उमेदवार नटुंगिएका कारण के हुने भन्ने अन्योल थियो ।
उमेदवारको टिकट पाए पनि कतिपय दलले भने आवश्यक कागजात तयार गर्दा नै दिन बितेको थियो । यस्तो समस्या बेहोर्नेमध्ये एक हुन्, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ।
नेता नेपाल मनोनयनका लागि मध्याह्न १२ बजे नै सभागृह पुगेका भए पनि कागजपत्र नै तयार थिएन । नेता नेपाल ढुक्कले मतदानस्थलमा राखिएको सोफामा बसे भने सहयोगीहरूले झन्डै एक घन्टा लगाएर कागजपत्र तयार पारे ।
परिवर्तनको प्रतीक भएको बताउने विवेकशील साझा पार्टीका नेता कार्यकर्ता पनि असिनपसिन देखिन्थे । “हामी पनि अहिलेसम्म टिकट दिँदैछौँ । ठूला दलको रोग सरेछ हामीलाई पनि,” विवेकशील साझा पार्टीकी मिडिया कोअर्डिनेटर मानवी पौडेल भन्दै थिइन् ।
एमाले, विवेकशीलमात्र होइन, कांग्रेसका कतिपय उमेदवारहरूको हालत पनि यो भन्दा भिन्न थिएन । नाचगान बाजागाजासहित आएका उमेदवार मनोनयन दर्ता गर्न समय लागेका कारण बेलुका एक्लै फर्किएका थिए ।
पार्टीहरूको बेथिति देखेरै होला, निर्वाचन कार्यालयले सोधपुछ, सहयोगको छुट्टाछुट्टै डेस्क स्थापना गरेको थियो । तथापि समयमै उमेदवारी दर्ता गर्न दलहरूलाई हम्मेहम्मे परेको देखिन्थ्यो ।