काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपाली अर्थतन्त्रमा चुनौती भए पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका छन् ।
जापानको केन्द्रीय बैंकका पूर्वगभर्नरसमेत रहेका कुरोदाले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको भन्दै नेपाली अर्थतन्त्रमा चुनौती भए पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताए ।
नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै यस्ता स्रोतको सदुपयोग गर्न सके नेपालमा आर्थिक विकास हुने जिकिर गरे । नेपालको युवा जनशक्तिलाई प्राकृतिक स्रोतको उपयोगमार्फत् गरिने उत्पादनका क्षेत्रसँग जोड्न सक्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, उनले नेपालको बढ्दो सार्वजनिक ऋणलाई नजरअन्दाज गर्न नहुने भन्दै सङ्कुचित आर्थिक वृद्धिदर, लगानीको न्यूनप्रतिफल र कमजोर पुँजी निर्माणका कारण बढ्दो सार्वजनिक ऋण नेपालका लागि चुनौतीको विषय हुनसक्ने बताए ।
जापान जीडीपीको तुलनामा सार्वजनिक ऋण निकै बढी भएको मुलुकमा पर्ने भए पनि पुँजी निर्माण तथा लगानीको प्रतिफल र लगानीकर्ताले पाएको विश्वासको वातावरणका कारण ठूलो ऋणका बाबजुत पनि सार्वजनिक ऋण समस्याका रुपमा नरहेको उल्लेख गरे ।