काठमाडौं । प्लाष्ट नेपाल फाउन्डेसनको आयोजनमा यही मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रदर्शनी हुने भएको छ ।
नेपालमा सञ्चालित प्लाष्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीहरूको प्रयासमा गैरनाफामूलक संस्थाको रूपमा २०७० मा प्लाष्ट नेपाल फाउन्डेसनको स्थापना भएको थियो ।
प्लाष्टिकको बहुआयामिक उपयोगमा भइरहेको विश्वव्यापी विस्तारबाट नेपाल समेत लाभान्वित भइरहेको सन्दर्भमा मेला हुन लागेको बताइएको छ । यस प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिकजन्य वस्तुहरूका उत्पादकहरू साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादनमा प्रयोग गरिने विभिन्न मेसिन–औजार–उपकरणलगायत नवीनतम् प्रविधि समेतको प्रदर्शनी गरिने कार्यक्रम रहेको प्लाष्ट नेपाल फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठले बताएका छन् ।
मेलामा नेपाल, भारत, बंगलादेश, चीनका विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मेसिन उपकरण आपूर्तिकर्ता तथा मिडिया सेवा प्रदायकको सहभागिता हुने बताइएको छ । मेलाको सहआयोजक भारतको कम्प्लाष्ट छ ।
मेलाले नेपालमा प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोगपछिको व्यवस्थापन समेतका विषयमा प्रचारप्रसार गरिने बताइएको छ ।