काठमाडौं । नेपाल खेलकुद महासंघ समाजवादी (नेकोस)को आयोजनामा जारी खेलकुद महोत्सवमा–२०८० मा १० खेल समावेश गरिएको छ ।
यही असोज १३ गतेदेखि सुरु भएको प्रतियोगिताका खेल काठमाडौं, ललितपुर, पोखरा र हेटौँडामा भइरहेका छन् । प्रतियोगितामा भलिबल, तेक्वान्दो, बुद्धिचाल, सेपाकताक्र, स्केटबोर्ड, एथ्लेटिक्स, कराँते, योग खेल, बी बोइङ र फुलकन्ट्याक्ट कराँते समावेश छन् । स्केटबोर्ड र योग खेल असोज १३ र १४ गते पोखरामा सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।
उद्घाटन समारोह असोज २० गते काठमाडौंमा आयोजना गरिँदै छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सातदोबाटोमा प्रतियोगिताको उद्घाटन गर्नेछन् ।
१३ दिनसम्म चल्ने प्रतियोगितामा कुल एक हजार ६०० खेलाडी सहभागी हुनेछन् । स्वर्ण, रजत र कास्यपदक जित्ने खेलाडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।