site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुल्क नबढेसम्म क्याम्पसले प्रवेश परीक्षा नलिने, स्ववियुले बढाउनै नमान्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतको प्रमुख इन्जिनियरिङ अध्यापन संस्थान (आईओई)मा शुल्क विवादले चर्को रूप लिएको छ । इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आआफ्नै अडानको मारमा १२ हजार विद्यार्थी परेका छन् । 

आईओईले दोस्रोपटक प्रवेश परीक्षा स्थगित गरेपछि विद्यार्थीमा थप अन्योल पैदा भएको छ ।

विवाद कसरी पुग्यो चरम बिन्दुमा ?

गएको साउन २५ गते आईओई कार्यान्वयन समिति बैठकले चार वर्षे बीई/बीआर्क अध्ययनका लागि शुल्क वृद्धि गर्ने निर्णय गर्‍यो । सोहीअनुसार संस्थानले भदौ ४ गते सूचना प्रकाशित गर्दै शुल्क वृद्धिको जानकारी गराएको थियो ।

बढेको शुल्कअनुसार यही शैक्षिक सत्रदेखि यी दुई विषय अध्ययन गर्ने  विद्यार्थीले चरवर्षे स्नातकका लागि पूर्ण शुल्कतर्फ सात लाख ७७ हजार ४२० रुपैयाँ तिनुपर्ने निर्णय भयो । जुन २०५४ सालदेखि तीन लाख १८ हजार रुपैयाँ थियो ।

आईओई र यसका चारवटा आंगिक क्याम्पसहरूमा लागु हुने गरी शुल्क वृद्धिको निर्णय गरिएको थियो ।

तर, विभिन्न विद्यार्थी संगगठनले शुल्क वृद्धिको विरोध गरे । विभिन्न शैलीमा आन्दोलन गरियो । पुलचोक इन्जिनियरिङ क्याम्पसका तीनजना विद्यार्थी अनशनमा बसे ।

यसैबीच भदौ १३ गते त्रिविका उपकुलपति तहबाट आन्दोलनरत विदार्थिसँग पाँचबुँदे सहमति भयो । सहमतिअनुसार त्रिविले आईओईलाई शुल्क वृद्धि फिर्ता गर्न निर्देशन दिने निर्णय भयो । साथै अर्को सुझाव समिति बनाएर त्यसको सुझावका आधारमा नयाँ शुल्क कायम गरिने र सो समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने निर्णय भयो ।

sahamati-1696427939.jpg

सोही निर्णयानुसार क्याम्पसका सहप्राध्यापक हरिराम पराजुली संयोजकत्वको शुल्क पुनरवलोकन समिति गठन भयो । समितिमा स्ववियुका तर्फबाट पुलचोक र थापाथली इन्जिनियरिङ कलेजका स्ववियु सभापतिहरू विराज अर्याल र पुष्कर विक्रम शाहीसहित चारजना सदस्य थिए । 

समितिले भदौ अन्तिम साता नयाँ शुल्क पाँच लाख ५४ हजार सिफारिस गर्दै त्रिविलाई प्रतिवेदन बुझायो । सोही शुल्कमा नयाँ भर्ना गर्नुपर्ने अहिले आईओईको अडान छ ।

अवैज्ञानिकरूपमा शुल्क बढाइयो, सहमति छैन : स्ववियु

सुझाव समितिले सिफारिस गरेको पाँच लाख ५४ हजार शुल्कमा विद्यार्थी पूर्णरूपमा असहमत छन् ।

थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति पुष्कर विक्रम शाहीले समितिले एकोहोरो ढंगले शुल्क बढाएर सिफारिस गरेकाले आफूहरूको सहमति नरहेको बताए । आफूहरूले समितिलाई अझै समय लिन र अर्थ विश्लेषकसँग छलफल गरेर शुल्क समायोजन गर्न पटकपटक आग्रह गरे पनि आईओईका तर्फबाट सुनुवाइ नभएको उनको दाबी छ ।

यसबीचमा स्ववियु र डिन कार्यालय बीच पटकपटक छलफल चलिरह्यो । अन्तिमपटक असोज १५ गते डिन शशिधर राम जोशी, सहायक डिन शुशिल बज्राचार्य र आठवटा विद्यार्थी संगठनका पदाधिकारीबीच भएका दुई बुँदे सम्झौता सार्वजनिक भएको छ । 

22-gate-1696427939.jpg

जसमा पुरानै शुल्क अनुसार नयाँ भर्ना लिने र असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । निर्णयमा डिन जोशी र सहायक डिन बज्राचार्य सहित विद्यार्थीका तर्फबाट ११ जनाको हस्ताक्षर छ ।

शुल्क नबढे प्रवेश परीक्षा नलिने आईओईको अडान

विद्यार्थीसँगको सम्झौता अनुसार असोज १५ गते नै आईओई डिनको कार्यालयले असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन हुने जानकारी गरायो । सूचनामा उनै डिन जोशीको हस्ताक्षरसहित परीक्षा मिति र आवेदनको थप मितिसमेत उल्लेख छ । 

तर, बुधबार पुन: अर्को सूचना प्रकाशित भयो– अर्को सूचना नहुन्जेलसम्मका लागि परिक्षा स्थगित गरियो । सूचनामा प्रवेश परीक्षा बोर्डका पदाधिकारीले सामूहिक राजीनामा दिएका कारण परीक्षा स्थगित उल्लेख छ । 

IoE-Deans-Statement-1696427934.jpg

यसअघि भदौ १९ गतेदेखि हुने भनिएको परीक्षा पनि आईओईले भर्ना शुल्कबारे विवाद भएको भन्दै शुल्क समायोजन लागि भनेर भदौ ९ गते सूचना जारी गरेर स्थगित गरेको थियो ।

यता आईओईले भने २०५४ सालदेखि एउटै शुल्क रहँदै आएकाले अब समयानुकूल शुल्क वृद्धि नगरिए आईओई कोल्याप्स हुने अवस्थामा पुगेको दाबी गर्दै आएको छ ।

"हामीले पाँचवटा क्याम्पसबाट अहिले पनि ६३० जना विद्यार्थी छात्रवृत्तिमा पढाइरहेका छौँ । त्रिविले पटकपटक निर्णय गरेर पनि शुल्क बढाउन सकेन । अबको प्रवेश परीक्षा शुल्क नबढाएसम्म हुँदै हुँदैन," आईओईका सहायक डिन चिन्तामणि पोख्रेल भन्छन् ।

डिन र सहायक डिनको मात्रै सहमतिमा शुल्क फिर्ता नहुने र यदि शुल्क नबढाई प्रवेश परीक्षा प्रक्रिया अघि बढाए सहायक डिनसहित पाँचजनाले सामूहिक साजिनामा दिने उनको भनाइ छ । 

आईओईका पदाधिकारीको नौटंकी कि कच्चापना ?

असोज १५ गते प्रवेश परीक्षाको सूचना जारी भएपछि आईओईका तर्फबाट दुई दिनमा चारवटा सूचना विज्ञप्ति निकालिएको छ । जसमा असोज १६ गते आईओईका ६ वटा विभागीय प्रमुखहरूले तीन कलेजका स्ववियु सभापतिहरूलाई विभाग चलाउने ‘जिम्मेवारी लिनू’ भनेका छन् ।

त्यो विज्ञप्ति असोज १२ गते पुलचोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका सभापतिहरूले निकालेको संयुक्त विज्ञप्तिको काउन्टर थियो । सभापतिहरूले विज्ञप्तिमार्फत अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्खरै निर्वाचित स्ववियुले लिने चुनौती दिएका थिए । जवाफमा प्राध्यापकहरूले विद्यार्थी युनियनलाई गहन जिम्मेवारी उठाउन ‘शुभकामना’ दिएका छन् ।

बुधबार भने भर्ना स्थगनसहित डिन जोशीको स्पष्टीकरण र निमित्त क्याम्पस प्रमुखको राजीनामा सम्बन्धी विज्ञप्ति जारी भएका छन् । निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीले अन्तिमपटक तोकिएको शुल्कबमोजिम प्रवेश परीक्षा सञ्चालन नभएमा क्याम्पस सञ्चालन गर्न असमर्थ हुने देखिएकाले पदबाट राजीनामा दिने उल्लेख गरेका छन् ।

यता सुरक्षाकर्मी र तेस्रो पक्षको रोहबरमा पुरानै शुल्कमा प्रवेश परीक्षा गराउने निर्णयमा हस्ताक्षर गरेका डिन जोशीले भने आफू विद्यार्थीको चर्को दबाबमा परेर पुरानो शुल्कमा सहमति गरी हस्ताक्षर गर्न बाध्य भएको तर सो सहमति त्रिवि र आईओई कार्यान्वय समितिको र विद्यापरिषद्को निर्णय विपरीत रहने भएकाले कार्यान्वय गर्न नसकिने भन्दै स्पष्टीकरण दिएका छन् । 

पुलचोक इन्जिनियरिङ कलेजका स्ववियु सभापति विराज अर्याल दुई महिनासम्म पनि शुल्क विवाद बल्झिरहनुलाई जतिसक्दो भर्ना प्रक्रिया लम्ब्याई अन्य विश्वविद्यालयमा विद्यार्थी पठाउन आईओईभित्रैका पदाधिकारीहरूबाट भएको चलखेलको रूपमा व्याख्या गर्छन् ।

यता सिभिल र आर्किटेक्चरतर्फ प्रवेश परीक्षाका लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ शुल्कसहित नौ हजार तीनसय विद्यार्थीले आवेदन दिइसकेका छन् । पछिल्लो सूचनाअुनसार तीन दिन आवेदन म्याद थप गरे विद्यार्थी संख्या १२ हजार पुग्ने आईओईको आकलन छ । 

प्रवेश परीक्षापछि आईओई र आंगिक कलेजहरूमा दुई हजार ४० र अन्य १० वटा निजी कलेजमा गरी चार हजार बढी विद्यार्थी पढ्न पाउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro