
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७९/०८० मा कम्पनी दर्ता पाँच वर्षयताकै कम भएका छन् । कम्पनी राजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार गत आवमा करिब २१ हजार कम्पनी दर्ता भएका हुन् ।
यो संख्या विगत पाँच वर्षको तुलनामा सबैभन्दा कम हो । आर्थिक मन्दीको कारणले लगानीमैत्री वातावारण नहुँदा कम्पनी दर्तामा कमी आएको जानकारहरू बताउँछन् ।
अघिल्लो आव २०७८/७९ को तुलनामा गत आवमा सात हजार ६४४ कम कम्पनी दर्ता भएका छन् ।
कार्यालयका अनुसार गत आवमा २०७९/८० मा प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड, मुनाफा वितरण नगर्ने र विदेशी शाखा/सम्पर्क/वैदेशिक लगानी गरेर २१ हजार ३७३ कम्पनी दर्ता भएको कार्यालयका सूचना अधिकारी शेखरबाबु कार्कीले जानकारी दिए ।
जबकि, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २९ हजार १७ कम्पनी दर्ता भएका थिए ।
पछिल्लो पाँच वर्षको तथ्यांक
आव २०७४/०७५ मा २२ हजार ३३०, आव २०७५/०७६ मा २५ हजार ५०० कम्पनी दर्ता भएका थिए ।
आव २०७६/७७ मा १८ हजार ६३८ कम्पनी दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा कोरोना महामारी विश्वव्यापी रुपमा फैलिएको थियो । जसकारण नेपालसहित विश्वमै उद्योग तथा व्यापार ठप्प भएको थियो ।
यस्तै, आव २०७७/७८ मा २६ हजार ५०५ कम्पनी दर्ता भएका थिए ।
आर्थिक मन्दीको असरले गर्दा कम्पनी दर्तामा कमी आएको उद्योग मन्त्रालयका पूर्वसचिव चन्द्रकुमार घिमिरेले बताए । अहिले व्यापारिक मलभित्रका पसल र सटर बन्द भइरहको अवस्थामा नयाँ व्यवसायी आउने सक्ने अवस्था नरहेको घिमिरेको धारणा छ ।
“मलभित्रका ठूला पसल र चलिरहेका सटरहरू बन्द भएर बसेका छन् । ती कुराको ‘चेन इफेक्ट’ले गर्दा जुन संख्यामा पहिला कम्पनी दर्ता हुन्थ्यो, त्यसमा कमी आएको हो,” उनले बाह्रखरीसँग भने, “त्यसले भइरहेका जति छन्, तिनीहरूको उपस्थिति छ । तर, नयाँ दर्ताको संख्या कम हुन थालेको हो ।”
कार्यालयका अनुसार आव २०७९/०८० प्राइभेट लिमिटेडअन्तर्गत २० हजार ४५५ कम्पनी दर्ता भएका छन् ।
यस्तै, पब्लिक लिमिटेड ८४, मुनाफा वितरण नगर्ने ६७८ र विदेशी शाखा/सम्पर्क/वैदेशिक लगानीमा १५६ कम्पनी दर्ता भएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।