
काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले राष्ट्रपतिबाट आममाफी पाए पनि अन्ततः जेल पुगेका छन् ।
जनमत पार्टीसँग नागरिक उन्मुक्तिको एकता घोषणा हुने दिन रेशमलाई प्रहरीले पक्राउ गरेपछि रेशमको पुनः जेल यात्रा तय भएको हो ।
विसं. २०७२ साल भदौ ७ मा भएको टीकापुर घटनामा एक नावालक र सात प्रहरीको ज्यान गएको थियो । उक्त घटनाका मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएका रेशमलाई कैलाली जिल्ला अदालत र उच्च अदालत धनगढीले दोषी ठहर गरी जेलमा थिए ।
जेलमा रहेकै बेला उनले राष्ट्रिय जनता पार्टीका तर्फबाट वारेशमार्फत उमेदवारी दर्ता गरी ०७४को संसदीय निर्वाचन कैलाली–१ बाट जितेको थिए ।
उनलाई जेलबाट लगि शपथ गराएर पुनः जेलमै राखिएको थियो । ०८० जेठ १४ को मन्त्रिपरिषद्को निर्णयबाट भएको सिफारिसका आधारमा जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आम माफी दिएका थिए ।
आम माफी दिने निर्णयविरुद्ध ०८० जेठ १६ गते नै टीकापुर घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले रिट दायर गरेकी थिइन् । उनले रिटमा आम माफीको निर्णय बदर गरी चौधरीलाई थुनामै राख्न माग गरेकी थिइन् ।
सरकारले जन्मकैद भएको मुद्दामा ५० प्रतिशत कैद भूक्तान गरेपछि मात्र माफी दिन सकिने कानुनी प्रावधानलाई उल्लंघन गर्दे आममाफी सिफारिस गरेको थियो ।
त्यसमा रिट समेत परेपछि सर्वोच्चकै आदेशअनुसार रेशम पुनः पक्राउ परेका हुन् । उनको पक्राउसँगै नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता घोषणा स्थगित भएको छ ।