
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीको पक्राउ जनमत पार्टी र नागरिक उन्मक्ति पार्टीको एकताविरुद्ध भएको बताएका छन् । एकताको कार्यक्रमस्थलबाटै पक्राउ गरिनु नियोजित षड्यन्त्र भएको उनको आरोप छ ।
“हामी कार्यक्रमस्थलमा आइसकेका थियौँ । उहाँ फाइल लिएर बाहिर निस्किनासाथ त्यहीबाट पक्राउ पर्नुभयो,” अध्यक्ष राउतले बाह्रखरीसँग भने, “जनमत र नागरिक उन्मुक्तिको एकताविरुद्ध सरकार नै लागेको देखियो ।”
पक्राउ गर्नुपर्ने नै अवस्था भए आजभन्दा अघि वा केही घण्टापछि पनि पक्राउ गर्न सकिने भन्दै उनले एकता भाँड्ने नियतबाट पक्राउ भएको उनको आरोप छ ।
“रेशमजीलाई पक्राउ गर्नुपर्ने नै भए आजभन्दा अघि पनि पक्राउ गर्न सकिन्थ्याे, किनभने उहाँ फरार हुनुहुन्थेन,” राउतले भने, “कार्यक्रम सुरु हुन १० मिनेटमात्र बाँकी थियो । कार्यक्रम सकिएपछि पनि उहाँलाई पक्राउ गर्न सकिन्थ्यो । पक्राउको समय र शैलीले भन्छ, एकताविरुद्ध षड्यन्त्र भएको हो ।”
उनले चौधरीलाई पक्राउ गर्दैमा एकता भने नभाँडिने बताए । केही दिनभित्रै बैठकबाट एकताको मिति घोषणा गरी एकता प्रक्रियाले पूर्णता पाउने उनले जानकारी दिए ।
“आजै एकता प्रक्रिया अघि बढाउने वातावरण भएन । तर, एकता प्रक्रिया रोकिने छैन,” राउतले भने, “हामी दुईदलीय कार्यदलको बैठक बसेर एकताको मिति तोक्छौँ र एकता प्रक्रियालाई पूर्णता दिन्छौँ ।”