काठमाडौं । साउदी अरेबियन क्लब अल हिलालमा आबद्ध ब्राजिलियन फरवार्ड नेइमार एएफसी च्याम्पियन्स लिगका लागि भारत आउने भएका छन् ।
बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियन्स लिगको ‘ड्र’ अनुसार भारतीय क्लब मुम्बई सिटी एफसीसँगै अल हिलाल पनि समूह ‘डी’ मा परेपछि नेइमार भारत आउने भएको हो ।
नेइमार भारत आउने निश्चित बने पनि गम्भीर चोटका कारण टिमबाट बाहिर रहँदा भने उनको दक्षिण एसिया आगमन प्रभावित बन्न सक्नेछ ।
च्याम्पियन्स लिगको समूह ‘डी’ मा अल हिलाल र मुम्बई सिटी एफसीसँग इरानको नासाजी मजान्दरन एफसी र उज्वेकिस्तानको नबबाहोर छन् ।
एएफसी च्याम्पियन्स लिगको समूह चरणका खेलहरू सेप्टेम्बर १८ देखि सुरु हुँदै छ । तर, अल हिलालको भारत यात्राको मिति भने तय भइसकेको छैन । यी दुई टिमबीचको खेल च्याम्पियन्स लिगको लागि मुम्बईको घरेलु मैदान बलेवाडी स्पोर्ट्स कम्प्लेक्स पुनेमा हुनेछ ।
मुम्बईको घरेलु मैदान अन्धेरी स्पोर्ट्स कम्प्लेक्स भए पनि त्यसले च्याम्पियन्स लिगका लागि खेल आयोजना गर्न एएफसीको न्युनतम आवश्यकता पूरा नगर्ने हुँदा अल हिलालले पुनेमा खेल्ने भएको हो ।