site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सगरमाथा आरोहण रोयल्टी चार हजार डलर बढ्दै, सबै हिमालको बढ्ने

काठमाडौं । सरकारले सरगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी (कर) बढाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहणसम्बन्धी नियमावाली, २०५९’ संशोधनको लागि तयारी थालेको छ ।

उक्त नियमावाली संशोधन गरेर विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणको लागि रोयल्टी चार हजार अमेरिकी डलरले बढाउने तयारी गरेको हो ।

सगरमाथा आरोहणको लागि मौसम अनुसार तीन प्रकार (वसन्त, शरद, जाडो/गर्मी) को फरक फरक रोयल्टी दर तोकिएको छ । सगरमाथा आरोहणको रोल्यटी पनि फरकफरक सिजनमा फरकफरक छ ।

पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने विदेशी आरोहीहरूको लागि १५ हजार अमेरिकी डलर रोयल्टी (कर) सिफारिस गरेको छ । अहिले वसन्त ऋतुमा आरोहण गर्नका लागि ११ हजार डलर रोयल्टी तिर्नुपर्छ ।

विभागले सिफारिस गरेको नयाँ रोल्यटीअनुसार विदेशी आरोहीले वसन्तकालीन सिजनमा सगरमाथा आरोहण गर्दा १५ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बाह्रखरीसँग बताए ।

यस्तै, शरद ऋतुको लागि सात हजार ५०० अमेरिकी डलर र शिशिर र वर्षा ऋतुको लागि तीन हजार ७५० अमेरिकी डलर रोयल्टी उठाउन सिफारिस गरिएको छ । अहिले शरद ऋतुमा पाँच हजार ५०० डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ ।

‘पर्वतारोहणसम्बन्धी नियमावाली, २०५९’ लागु भएको करिब २० वर्षपछि संशोधन हुन लगेको हो । विभागले नयाँ रोल्यटीको संशोधन गरेर मन्त्रालयमा पठाइसकेको छ । तर, मन्त्रालयले भने अझै टुङ्गो लगाएको छैन ।

मन्त्रालयले उक्त नियमावाली मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्बाट पास भएपछि उक्त नियमावली लागु हुन्छ ।

“सगरमाथा आरोहण रोयल्टी परिवर्तन नभएको लामो सयम भयो । यसलाई समयसापेक्ष बनाउनको लागि भनेर हामीले नयाँ रोयल्टी सिफारिस गरेका छौँ,” खतिवडाले बाह्रखरीसँग भने, “हामीले सगरमाथाको हकमा १५ हजार अमेरिकी डलर सिफारिस गरेर मन्त्रालयमा पठाएका छौँ ।”

सन् २०२५ देखि लागु हुने

विभागले संशोधित नियमावाली सन् २०२५ देखि लागु गर्न पनि आग्रह गरेको छ । अहिले सन् २०२४ मा सगरमाथा आरोहण गर्ने केही आरोहीले अनुमति लिइसकेको विभागका निर्देशक खतिवडाले बताए । बीचमा नियम परिवर्तन गर्दा नराम्रो सन्देश जाने देखिएपछि सन् २०२५ देखि लागु गर्ने सिफारिस गरिएको उनले बताए ।

“अहिलेको २०२४ मा सगरमाथा आरोहण गर्न केही आरोहीले अनुमति लिइसकेका छन् । बीचमा परिवर्तन गर्दा राम्रो सन्देश जाँदैन,” खतिवडाले भने, “त्यसले गर्दा अलिकति समय लिएर लागु गर्नुपर्छ भनेर २०२५ बाट लागु गर्न पत्राचार गरेका छौँ । मन्त्रालयले पनि त्यहीअनुसार अघि बढाउँछ भन्ने आशा छ ।”

सबै हिमालमा रोयल्टी बढ्छ

सगरमाथामात्र नभएर सबै हिमालको आरोहण रोयल्टी सामान्य बढाएको निर्देशक खतिवडाले बताए । अहिले कम रोयल्टी भइरहेको समयमा पनि अन्य हिमाल आरोही कम छन् । रोयल्टी बढाउँदा झनै घट्न सक्ने प्रक्षेपण छ ।

सगरमाथाबाहेक अन्य हिमालमा सामान्य रकममात्र रोयल्टी बढाएको निर्देशक खतिवडाले जानकारी दिए ।

“हामीले सबै हिमाल आरोहणको रोयल्टी बढाएका छौँ । सगरमाथाको मात्र किन बढाउने भन्ने भएपछि अरुमा पनि बढाएका हौँ,” खतिवडाले भने, “तर, अरुमा नयाँ सिफारिस गरेको र अहिलेकोमा त्यस्तो धेरै फरक छैन ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro