काठमाडौं । भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्णरुपमा सञ्चालन गर्न कठिन देखिएको एक प्रतिवेदनले देखाएको छ । यी विमानस्थलहरू सञ्चालनमा आएको लामो समय हुँदा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको छैन ।
यसै सन्दर्भमा ‘नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी (पीपीपी) मा सञ्चालन र निर्माण गर्ने सम्बन्धमा सुझाव पेश गर्न गठित अध्ययन कार्य समिति’को प्रतिवेदनले यस्तो देखाएको हो ।
पूर्वसचिव शंकरपसाद अधिकारी, लगानी विज्ञ धनश्याम ओझा, प्रधुम्नप्रसाद उपाध्याय र प्राधिकरणका इन्जिनियर दिपेन्द्र श्रेष्ठ थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
१ जनवरी, २०२३ मा सञ्चालनमा आएको यो विमानस्थल नेपालको पर्यटन क्षेत्रको विकास तथा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने आकलन गरिएको छ ।
पोखरामा ठूला आकारका अन्तर्राष्ट्रिय जहाज अवतरण गर्न सक्नेगरी विमास्थल निर्माण गर्ने अवधारणाको विकास पहिलो पटक सन् १९७१ मा गरिएको थियो । त्यही अनुरूप सन् १९७६ मा नेपाल सरकारले जग्गा अधिग्रहण गरेको थियो ।
सन् १९८९ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले विमानस्थल निर्माणका सन्दर्भमा अध्ययन ग¥यो । अप्रिल २०१६ मा १० जुलाई २०२१ भित्र सञ्चालनमा ल्याउने उद्देश्यसहित शिलान्यास भएको यो विमानस्थल सञ्चालनमा आएको छ ।
उक्त विमानस्थलको धावनमार्गको लम्बाई २५०० मिटर छ । यो विमानस्थलको टर्मिनल भवनसँग वार्षिक रुपमा १४ लाख यात्रु व्यवस्थापन गर्ने क्षमता छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार, गतवर्ष (सन् २०२३ मा) नै आन्तरिक यात्रुको संख्या करिब ९ लाख पुगेको देखिन्छ ।
त्यसैले यो विमानस्थलको पनि यात्रु व्यवस्थापन गर्ने क्षमता सीमित हुँदै गएको प्रतिवेदनमा औल्याइएको छ । पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालन हुन प्राविधिक रुपमा पनि थप चुनौती देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यो विमानस्थलको निर्माण एक वर्षअघि (१ जनावरी २०२३) मा सम्पन्न भएपनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । प्राधिकरणको तथ्यांक अनुसार, विमानस्थलमा आन्तरिक वायुसेवा कम्पनीले नियमित उडान सञ्चालन गर्दै आएपनि सन् २०२३ मा २९६ यात्रुका लागिमात्रै सातवटा अन्तर्राष्ट्रिय उडान भएको छ ।
भैरहवा विमानस्थल
यस्तै, भैरहवाको गौतमबुद्ध विमानस्थल जनवरी २०१५ मा शिलान्यास भएको थियो । विमानस्थल मे १६, २०२२ मा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालनमा आएको थियो ।
विमानस्थलमा ३,००० मिटर (अर्थात् ९,८४३ फिट) लम्बाई भएको धानवमार्ग र ५ वटा अन्तर्राष्ट्रिय विमान पार्किङ गर्ने क्षमता छ । यो विमानस्थलको टर्मिनल भवनले वार्षिक रुपमा करिब १५ लाख यात्रुलाई सेवा सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, यो विमानस्थलबाट गतवर्ष करिब ६ लाख आन्तरिक यात्रुलाई सेवा लिएका छन् ।
अर्कोतर्फ सञ्चालनको सुरुवाती समयमा अल जजीरा विमानले केही उडान गरेपश्चात् प्राविधिक र व्यावसायिक कठिनाइ भएको कारण देखाएर उडान बन्द गरेको थियो । नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैनन् ।
हवाई क्षेत्रका विज्ञका अनुसार, यो विमानस्थलमा अन्तर्राष्ट्रिय विमान अवतरण र उडान गर्न केही प्राविधिक (आईएलस सञ्चालनको) विषयमा छिमेकी मुलुक भारतसँग सहमति लिनुपर्ने आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ ।
आईएलएस सञ्चालन गर्न उच्च तहबाट कूटनीतिक पहल गर्नुपर्ने समेत विज्ञहरूले सुझाव दिँदै आएका छन् । गत जेठ १७ मा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा आईएलएस सञ्चालन अनुमति दिन तयार भएको बताइएको थियो । तर, हालसम्म त्यो कार्यान्वयन हुन सकेको छैन ।