site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिभुवन विमानस्थलबाट क्षमताभन्दा ३७ लाख बढी यात्रुले लिए सेवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा ३७ लाख बढी यात्रुले सेवा सुविधा लिइरहेको पाइएको छ । 

नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी (पीपीपी) मा सञ्चालन र निर्माण गर्ने सम्बन्धमा सुझाव पेश गर्न गठित अध्ययन कार्य समितिको प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो ।

प्रतिवेदनअनुसार, विमानस्थलले वार्षिक करिब ८७ लाख यात्रु व्यवस्थापन गरिरहेको छ ।  जबकि यो विमानस्थलका टर्मिनल भवनहरूको वार्षिक क्षमता करिब ५० लाख भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाउँछ ।

भौगोलिक अवस्थितिले गर्दा यसको आकार बढाउने सम्भावना नरहेको समेत प्रतिवेदनले औल्याएको छ । 

अध्ययन कार्यदलको संयोजकमा पूर्वसचिव शंकरप्रसाद अधिकारी, लगानीविज्ञ घनश्याम ओझा, प्रद्युम्नप्रसाद उपाध्याय र प्राधिकरण इन्जिनियर दीपेन्द्र श्रेष्ठ संलग्न थिए । समितिले आइतबार पर्यटन मन्त्रीलाई प्रतिवेदन बुझाएका थिए ।

आफ्नो क्षमताभन्दा बढी यात्रु र उडान तथा अवतरण व्यवस्थापन गर्नुपर्ने हालको वाध्यात्मक परिस्थितिले यस विमानस्थलले प्रदान गर्ने सेवाको गुणस्तर घटिरहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । 

० ० ०

यो विमानस्थल सन् १९५५ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए ।  यो विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुई टर्मिनल छन् ।  समुद्र सतहबाट ४,३९० मिटर उचाइमा रहेको यो विमानस्थलको कंक्रिटले बनेको धावनमार्गको लम्बाई १०,०८५ फिट (अर्थात् ३,०७४ मिटर) रहेको छ । 

यो विमानस्थलका टर्मिनल भवनहरूले वार्षिक रुपमा करिब १५ लाख आन्तरिक र ३५ लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा प्रदान गर्ने क्षमता छ ।  सन् २०२३ को तथ्यांक अनुसार यो विमानस्थलले अन्तर्राष्ट्रियतर्फ ४५ लाख र आन्तरिकतर्फ करिब ४२ लाखसहित करिब ८७ लाख यात्रुलाई सेवा दिएको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको उक्त तथ्यांक अनुसार यस विमानस्थलले वार्षिक क्षमताभन्दा धेरै नै बढी यात्रुको व्यवस्थापन गर्नु परिरहेको प्रतिवेदनमा उल्लेख छ ।  त्यसैले यात्रुलाई प्रदान गरिने सेवाको गुणस्तरमा समस्या रहेको पाइएको पनि प्रतिवेदनले देखाएको छ ।

विमानस्थल दातृ निकायको ऋण तथा अनुदानमा यो विमानस्थलको टेक्सी वे तथा जहाज ‘पार्किङ वे’ को विस्तार तथा स्तरोन्नतिका काम भइरहेका छन् । तर पनि यसको भौगोलिक अवस्थितिको कारण रनवे विस्तारको सम्भावना न्यून रहेको प्रतिवेदनमा देखाइएको छ ।

एसियाली विकास बैंकले सन् २०२० मा गरेको एक अध्ययन अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु परिचालन क्षमताले सन् २०१८ मै सीमा नाघिसकेको थियो । सन् २०२८ सम्म अन्तर्राष्ट्रिय यात्रु ६० लाख हुने प्रक्षेपण छ ।

पर्यटनको निरन्तर वृद्धिले हवाई ट्राफिक औसतमा वार्षिक १० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।  यो विमानस्थलले चालु आर्थिक वर्षको अन्त्यसम्ममा करिब १३ अर्ब रुपैयाँ हाराहारीमा राजश्व आर्जन गर्ने अनुमान छ ।

९० प्रतिशतभन्दा बढी राजश्व एरोनटिकल सेवा (यात्रुले तिर्ने भाडा, विमानस्थलको टर्मिनल क्षेत्र, सुरक्षा भाडा र वायुसेवा अवतरण सेवा प्रयोग गरेवापत) बाट प्राप्त हुन्छ । एरोनटिकल राजस्व बढी भएकै कारण त्रिभुवन विमानस्थलबाट प्रदान गरिने सेवा शुल्क महँगो रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुुसार, यसले विमानस्थलमा अवतरण गर्ने यात्रुको टिकट शुल्क तुलनात्मक रुपमा बढिरहेको छ ।  विश्वका अधिकांश विमानस्थलहरूले गैर–हवाई (नन– एरोनटिकल रेभेन्यु) राजस्व धेरै आर्जन गर्छन् । गैर–हवाई राजश्व खुद्रा व्यापार सहुलियतमा खानेकुरा तथा पेय पदार्थको बिक्री, पार्किङ र अन्य गतिविधिबाट आर्जन हुने पनि उल्लेख छ ।

विमानस्थलहरूले कम्तीमा पनि ४० प्रतिशत र केही ठूला र सफल विमानस्थलले ५० प्रतिशत हाराहारीमा गैर–हवाई राजश्व ( नन– एरोनटिकल रेभेन्यु) आर्जन गर्छन् ।

अन्तर्राष्ट्रिय यात्रु संख्या भएका धेरैजसो एसियाका ठूला र मध्यपूर्वका विमानस्थलको राजश्व संकलनमा कोभिड माहामारी अघि गैर–हवाइ क्षेत्रबाट ५० प्रतिशतभन्दा बढी योगदान रहेको समेत प्रतिवेदनमा उल्लेख छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro