काठमाडौं । प्रचलित भनाइ छ– सय जना दोषी उम्किउन् तर एकजना निर्दोष नफसोस् ।”
बेलायती न्यायविद् विलियम ब्ल्याकस्टोनले सन् १७६० को दशकमा प्रकाशन गरेको मुख्य कृतिमा पनि ‘एक निर्दोषले सजाय भोग्नुभन्दा १० जना दोषी उम्किनु राम्रो’ भनेका थिए ।
न्यायालयमाथिको आस्था दोषी उम्कदाभन्दा निर्दोष फस्दा चाँडो मर्न सक्छ भन्ने मान्यताका आधारमा यो सिद्धान्त निर्माण भएको कानुनविद्हरु बताउँछन् । दोषी उम्कियो भने समयक्रममा कानुनको कठघरामा आउन सक्छ तर निर्दोषले सजाय पायो भने त्यसको क्षतिपूर्ति हुनै सक्दैन ।
तर सरकारले पछिल्ला दिनमा देखाएको ‘स्टन्ट’को शिकार भने चिकित्सकदेखि व्यवसायीसम्म परेका छन् । जानकारहरुका अनुसार यसमा मिडियाको भूमिका पनि कमजोर देखिन्छ । उदाहरण हुन्– क्विन्टल सुन प्रकरण र नक्कली डाक्टर पक्राउ प्रकरण ।
त्यसबाहेकका प्रकरणमा पनि कैयौँ निर्दोष व्यक्ति फसाइएको दाबी गर्नेहरु कम छैनन् । तर राज्यका आधिकारिक निकायको अनुसन्धानमा रहेकाले छानबिन गर्न दिनुपर्ने धारणा पनि व्यक्त भइरहेका छन् ।
सरकारको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली चिकित्सकको आरोपमा एकजना चिकित्सकलाई पक्राउ गरेर तीनदिन थुनामा राख्यो । पक्राउ परेका ती चिकित्सकका अनुसार पक्राउ गरिसकेपछि पनि प्रहरीले राम्रो व्यवहार गरेन । महोत्तरी पिपराका डा. रञ्जितकुमार यादव भक्तपुरको लोकन्थलीमा डेरामा बसेर एमडीको तयारी गर्दै थिए ।
वास्तविक प्रतिवादी नपाइएपछि डा. यादवलाई छाडियो : सीआईबी
साउन २५ गते बिहीवार दिउँसो डेरामै पढिरहेका बेला नचिनेको नम्बरबाट फोन आयो, अर्का एक साथीको नाम लिएर फोनमा बोल्ने व्यक्तिले भने– तपाइँसँग भेट्नु छ बाहिरसम्म आउनुहुन्छ ?”
डा. रञ्जितले आफू बसेको घरको गेट अगाडिसम्म आउन भने । फोन गर्ने व्यक्तिले आफ्नो नजिकका साथीको नाम लिएका थिए । केहीबेरमै गेट अगाडि आएका व्यक्तिले रञ्जितलाई समात्दै भने, “तपाईँसँग केही सोधपुछ गर्नु छ, सीआईबीको कार्यालयमा हिँड्नुस् ।”
उनले के विषयमा कस्तो सोधपुछ भनी जान्न खोजे तर केही बोल्न नदिई उनलाई प्रहरीको भ्यानमा राखेर सरासर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालय महाराजगञ्ज पुर्याइयो ।
सीआईबी कार्यालय महाराजगञ्जको थुनुवा कक्षमा विभिन्न आरोपका धेरै थुनुवाहरु एउटै कोठामा थिए, रञ्जितलाई पनि त्यहीँ राखियो । डाक्टर भने उनीसहित दुईजना रहेछन्, बाँकी सबै अरु आरोपका थुनुवा । रञ्जितले आफ्नो परिवारलाई खबरसम्म गर्छु भनि आग्रह गरे तर थुनुवा कोठामा पुर्याउनासाथ उनको मोबाइल खोसियो ।
आफूलाई कुन कसुरमा ल्याइएको हो भनि जिज्ञासा राख्दा सीआईबीका अधिकारीले ठूलो फाइल पल्टाउँदै रञ्जित यादवको नामका थुप्रै कागजात देखाए । ती कागजातका नाम डा. रञ्जितकुमार यादव नै थियो, तर उनीसँग विवरण मिल्दैनथ्यो । न कागजातमा भएको फोटो नै उनको थियो ।
रञ्जितले यो मेरो फोटो र कागजात हैन भन्ने अडान लिइरहे तर सीआईबीका अधिकारीले उनलाई जवाफ दिए, “यो डकुमेन्ट मेरो हो होइन तपाइँले भन्ने होइन, हामी आफैँ छानबिन गर्छौँ ।”
“साँघुरो थुनुवा कोठा २७ जना कोचाकोच, न भनेको बेला शैचालय जान पाइन्थ्यो न कसैसँग सम्पर्क गर्न, पूरा एक दिन बित्यो उता मिडियामा समाचार छ्याप्छ्याप्ती भइसक्यो भन्ने लाग्यो यता म छटपटाइरहेँ,” डा. रञ्जितले आफ्नो अनुभव बाह्रखरीसँग सुनाए ।
थुनुवा कोठामा उनलाई निन्द्रा लाग्दैनथ्यो , परिवार कति छट्पटाइरहेका होलान्, समाजले के सोच्यो होला यही चिन्ताले सताइरह्यो ।
रातको १२ बजे ड्युटीमा रहेका एक सीआईबी अधिकारीले आफ्नै मोबाइलबाट परिवासँग सम्पर्क गराइदिए रञ्जितले आफ्नो अवस्थाको जानकारी बल्ल परिवारसम्म गराउन पाए । तीनदिनको बीचमा अदालत लैजाने म्याद थप गर्ने, बयान लिनेलगायतका कारबाही चलिरह्यो ।
अब कतिलाई कहाँ–कहाँ भन्दै हिडौँ नक्कली डाक्टर होइन भनेर...
प्रत्येक बयानमा डा. रञ्जित आफ्ना कुनै पनि तहका शैक्षिक प्रमाणपत्र नक्कली नभएको र आफूले विराटनगरको नोबेल मेडिकल कलेजबाट एमबीबीएस गरेको बताइरहन्थे । तर सीआईबीको दाबी थियो– तपाईँले केही भन्नुपर्दैन तपाईँ बंगलादेशबाट एमबीबीएस पढेर आउनुभएको हो र ती शैक्षिक कागजात नक्कली छन् ।
तीन दिनपछि जब सञ्चारमाध्यमहरुमा डा. रञ्जित नक्कली चिकित्सक नभएको समाचार आउन थाले, बल्ल उनलाई केही राहत महसुस् हुन थाल्यो, लाग्यो– अब त छुट्छु कि...
साउन २८ गते साँझ नेपाल मेडिकल काउन्सिल र चिकित्सक संघका प्रतिनिधि सीआईबी कार्यालयमा पुगे, सीआईबीले संकलन गरेका कागजात उनीहरुलाई देखाइयो । संघका महासचिव डा. सञ्जिव तिवारीले डा. रञ्जित नक्कली चिकित्सक नभइ एमडीको तयारी गरिरहेका डाक्टर र संघका आजीवन सदस्यसमेत रहेको बताए ।
तर यत्तिकैमा सीआईबीका अधिकारीहरु मान्नेवाला थिएनन् रातको ११ बजेसम्म छलफल चलिरह्यो । अन्ततः काउन्सिलले उपलब्ध गराएको रञ्जितकुमार यादवको कागजात पक्राउ गरिएका डा. रञ्जितको नभएको पुष्टि भयो र तीन दिनको कष्टकर बसाइपछि आइतबार राति उनी छुटे ।
विशेषज्ञ चिकित्सक बन्ने सपनामा दौडिइरहेका डा. रञ्जितलाई अहिले एउटै भयले सताइरहेको छ, “जीवनमा लक्ष्य त भेटौँला पैसा पनि कमाउँला तर मेरो गुमेको प्रतिष्ठा कसरी फर्काउने ? कति जनालाई र कहाँ कहाँ मात्रै भन्दै हिडौँ कि म नक्कली डाक्टर होइन भनेर ...।”
अर्का पीडित हुन् व्यवसायी राकेश अडुकियाका छोरा रोहन ।
बेलायतमा अध्ययन गरिरहेका रोहन भारत हुँदै काठमाडौं आइरहेका बेला शुक्रबार काठमाडौं विमानस्थलमा अध्यागमनले नियन्त्रणमा लियो । नियन्त्रणमा लिनासाथ सञ्चारमाध्यममा ‘क्विन्टल सुन प्रकरण’मा रोहन काठमाडौं विमानस्थलबाट पक्राउ परेको समाचार फैलियो ।
खोजीको सूचीमै नरहेका अडुकियालाई यसरी दिइयो दुःख !
नियन्त्रणमा लिएको अध्यागमन विभागले रोहनलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाउन खोज्यो विभागले लिएन न त सीआईबीले जिम्मा लियो । दुवै निकायको एउटै जवाफ थियो– रोहन क्विन्टल सुन प्रकरणमा खोजी गरिएका व्यक्ति होइनन् हामीले लिँदैनौँ ।”
२१ घण्टा अध्यागमनको हिरासतमा राखेर उनलाई शनिबार दिउँसो आफन्तको जिम्मा लगाइयो । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बाह्रखरीसँग कुरा गर्दै रोहन कालो सूचीमा नभएको भए पनि ‘वाच लिस्ट’मा रहेकाले नियन्त्रणमा लिइएको बताए ।
बिनाकसुर २१ घण्टा अध्यामनको हिरासतपछि रिहा भए रोहन
तर अडुकियाको प्रश्न छ– के आधारमा ‘वाच लिस्ट’मा राखियो ? दोष के हो हाम्रो ?” बेलायतमा मास कम्युनिकेसन अध्ययन गरिरहेका १९ वर्षीय रोहन अहिले चिन्तित छन् ।
“आफ्नो करिअरको बारेमा धेरै चिन्ता लिएको छ,” राकेश अडुकियाले बाह्रखरीसँग कुरा गर्दै भने, “मेरो छोराको भविष्यसँग के कारणले खेलवाड गरियो ?” रोहनले अब ट्राभल गर्ने कि नगर्ने, अध्ययनका लागि जाने कि नजाने, जाँदा विमानस्थलमा झनै समस्या पर्ने हो कि ? भन्नेमा चिन्ता व्यक्त गरिरहेका राकेशले बताए ।
“बाहिर पनि खासै निस्किएको छैन,” उनले भने, “सरकार र मिडियाका कारण मानसिक समस्यामा परेर गलत काम ग¥यो भने त्यसको जिम्मा कसले लिइदिन्छ ? आफ्नाबारेमा इन्टरनेटभरि गलत समाचार छापिएको छ भनेर चिन्ता गरिरहेको छ ।”
पूर्वएआईजी राजेन्द्र सिंह भण्डारीले बिना कसुरका व्यक्ति पक्राउ पर्दा उनीहरुको मानसिक र सामाजिक प्रतिष्ठामा गम्भीर अपसर पर्ने भएकाले निकै गम्भीर बन्नुपर्ने बताए ।
उनले भने, “कुनै व्यक्ति पनि बिनाकसुर पक्राउ परेर कस्टडीमा बस्नु राम्रो होइन । एकातर्फ व्यक्तिको सामाजिक प्रतिष्ठा गुम्छ । त्यसको क्षतिपूर्तिनै हुँदैन । अर्को अनुसन्धान गर्ने कार्यालयको विश्वसनीयता माथिनै प्रश्न उठ्छ ।”
वरिष्ठ अधिवक्ता सुनीलकुमार पोखरेल पनि निर्दोष फस्दा त्यसको क्षति पूर्ति गर्नै नसकिने बताउँछन् ।
उनले नेपालमा पहिले समातिहाल्ने अनि अनुसन्धान थाल्ने प्रवृत्ति बढ्दा समस्या निम्तिएको र पछिल्लोपटक एकजना सक्कली चिकित्सकलाई नक्कलीको आरोपमा पक्राउ गरिएको बताए ।
“धेरै दोषी उम्किए भने पनि त्यसले फरक पार्दैन । समय क्रममा उनीहरुलाई कानुनको दायरामा ल्याउन सकिन्छ । तर, एउटा निर्दाेष फस्यो भने त्यसको क्षतिपूर्ति हुन सक्दैन । त्यसैले पनि निर्दोषले सजाय पाउनु हुँदैन भनेर यो सिद्धान्त निर्माण भएको हो,” वरिष्ठ अधिवक्ता पोखरेलले बाह्रखरीसँग भने, “कुनै पनि व्यक्तिको एक चरणको अनुसन्धान पूरा भएपछिमात्र पक्राउ पुर्जी लिने हो । तर, हाम्रोमा प्रहरीले पहिला समातिहाल्ने त्यसपछि देखा जायगा भन्ने प्रचलन बढ्दो छ ।”
डा. यादवको हकमा पनि त्यही भएको उनको भनाई छ ।
पोखरेलका अनुसार डा. यादवसहित जो कोही पनि निर्दोष पक्राउ परेको र गलत तरिकाले व्यवहार गरेको भए क्षति पूर्तिको माग गरेर अदालत जान सक्नेछन् ।
“एउटा निर्दोष व्यक्ति पक्राउ परेको छ । नाम सार्वजनिक भएको छ र हिरासतमा बसेको छ । उसले क्षतिपूर्ति दाबी गरेर अदालत जान सक्छ,” पोखरेलले भने, “अदालतमा जाँदा क्षतिपूर्ति प्रहरी, मेडिकल काउन्सिल वा अरु जोबाट आफू पीडित भएको हो उनीहरुबाटै दाबी गर्नैपर्ने हुन्छ ।”