site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खोजीको सूचीमै नरहेका अडुकियालाई यसरी दिइयो दुःख !

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रोहन अडुकियाको ‘क्विन्टल सुन तस्करी प्रकरण’मा संलग्नता नरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले रोहन अडुकिया सुन तस्करी प्रकरणका आरोपी नभएको बताए ।

“हामीले अडुकियालाई खोजेका थिएनौँ । विमानस्थल प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागको जिम्मा दिएको हो । सुन प्रकरणसँग अहिलेसम्म उनको संलग्नता देखिएको छैन,” डीआईजी कडायतले भने ।

विमानस्थल प्रहरीले भने अडुकियालाई अध्यागमनको कालोसूचीमा रहेको कारण पक्राउ गरेर विभागलाई बुझाएको थियो ।  स्रोतले दिएको जानकारीअनुसार विभागले केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाएको थियो । ब्यूरोले पनि रोहन आफूहरुको सूचीमा नरहेको जवाफ दिएको स्रोत बताउँछ ।

राजश्व अनुसन्धान विभाग स्रोतले दिएको जानकारीअनुसार अध्यागमनले कालोसूचीमा राखेको आधारमा विमानस्थल प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका अडुकियालाई राजश्व अनुसन्धान विभागमा लगिएको थियो ।

विभागले स्रोतले भन्यो, “अडुकियालाई हामीले खोजेका होइनौँ । हामीले बुझ्न मानेनौँ । हामीले अनुसन्धान गरेका पनि छैनौँ । हामीले किन बुझ्ने ? भाँडा एकातिर हुने पानी अर्कोतिर जम्मा हुन्छ ?”

पक्राउ परेका अडुकिया राकेश अडुकियाका छोरा हुन् । राकेशले लगातार मिडियामा छोरालाई भगायो भन्ने लेखेपछि आफूले नेपालमा बोलाएको बताए । तर नेपाल आएपछि अध्यागमन विभागले उनलाई समातेको हो ।

“भगायो भन्ने आरोप लागेपछि नेपाल बोलाएको हुँ । इमिग्रेसनले विभाग र प्रहरीलाई बुझाउने प्रयास गर्‍यो तर ती निकायले खोजी गरेका व्यक्ति होइनन् भनेर लिएन । फेरि इमिग्रेसनमै लगेर राखिएको छ ।”

उनका अनुसार पछिल्लो समयमा जे प्रकरणमा पनि आफूहरुलाई जोडेर लगातार दुःख दिने काम भइरहेको छ ।

“मिडियाले लगातार लेखेपछि बोलाएको हुँ । हामीले केही गरेकै छैनौँ भने किन भागेर हिँड्नु भन्ने लागेर बोलाएको हुँ,” राकेशले भने, “यस्तो असुरक्षित माहोलमा कसरी काम गर्ने ? जसलाई जे मन लाग्यो त्यही गर्न पाउने व्यवस्था छ ?”

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले कालोसूचीमा राखेका व्यक्तिलाई पक्राउ गर्नू भन्ने पत्र आएकाले समातिएको बताए । “हामीलाई यो नम्बरको पासपोर्टबाहकलाई पक्राउ गर्नू भन्ने पत्र आएको थियो, त्यही आधारमा पक्राउ गरेर अध्यागमन विभागलाई बुझाएका हौँ,” उनले भने ।

तर अध्यागमन विभागले भने पक्राउबारे केही बताएको छैन । अडुकिया अहिले पनि अध्यागमन विभागको नियन्त्रणमै रहेको प्रहरी स्रोत बताउँछ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro