
बाजुरा । बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिन्डरबाट भएको आगलागीको क्षतिको विवरण संकलन गरी प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ ।
बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटेलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
ग्यास सिलिन्डर पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग राहत माग गरिएको बताए ।
आगलागीबाट पीडित भएकाहरुको क्षतिपूर्तिका लागि प्रहरीलाई तथ्यांक संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रदेश र संघीय सरकारबाट आवश्यक राहत माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।
घटनास्थलको अध्ययनपछि सोही पालिकामा जनप्रतिनिधि राजनीतिक दलसहित सरोकारवालाको आकस्मिक बैठकले क्षतिको विवरण संकलन गर्ने र सो क्षतिपूर्ति उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र स्थानीय तहका साथसाथै विभिन्न संघसंस्थालाई आग्रह गर्ने निर्णय गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले आगलागीबाट पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिएको छ । जिल्लामा हुने आगलागीका घटना नियन्त्रण गर्न स्थानीय तहमा दमकलको अभाव रहेको पाइएको छ । यहाँ ९ वटै पालिकाले गाडी खरिद गरे पनि दमकलको भने अभाव छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । रासस