
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन सुरक्षा मापदण्डको अपव्याख्या भएको बताएको छ । आइतबार पत्रकार सम्मेलन गरी प्राधिकरणले दुर्घटना न्यूनीकरणमार्फत यात्रुहरुमा हवाई यात्राप्रति विश्वसनीयता प्रत्याभूति गर्ने मूल उद्देश्य प्राप्तिका लागि लागु गरेको उडान सुरक्षा मापदण्डहरूको अपव्याख्या गरिएको जानकारी दिइएको हो ।
“सन् २०२३ को जनवरीदेखि जुलाईसम्मको छोटो समयावधिमा नेपालको हवाई क्षेत्रमा घटेका अकल्पनीय मानवीय तथा भौतिक क्षतियुक्त घटना/दुर्घटनापश्चात् शिकागो महासन्धि, १९४४ ले प्रत्यायोजन गरेका विश्वव्यापी सिद्धान्तको परिधिमा रही हवाई यातायातको आधारभूत तत्वको रुपमा रहेको उडान सुरक्षालाई थप सुदृढ गरी दुर्घटना न्यूनीकरणमार्फत यात्रुहरुमा हवाई यात्राप्रति विश्वसनीयताको प्रत्याभूति गर्ने मूल उद्देश्य प्राप्तिको लागि लागु गरेका उडान सुरक्षा मापदण्डहरूको अपव्याख्या गरी सर्वसाधारण नागरिकलाई दिग्भ्रमित गर्ने/गराउने गरी विगत केही दिनदेखि प्रकाशित÷प्रसारित समाचार÷टिप्पणीप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
नेपाली आकाशमा घटेका अधिकांश हवाई दुर्घटनाको प्रमुख कारक तत्वको रूपमा औँल्याइएको प्रतिकूल इनरुट मौसमको तुलनात्मक प्रभाव मनसुनको अवधि हुने गरेको बताइएको छ ।
जुन महिनाको दोस्रो सातादेखि सेप्टेम्बरको अन्तिम सातासम्म यस्ता घटना घट्ने सम्भावना नेपालको नियमित मौसमी मापन रेकर्ड रहेको प्राधिकरणले जनाएको छ ।