site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आदिवासी भोक, बेग्लै आकाश र अनेक आयाममा क्रान्तियोद्धा : प्रेमकृष्ण पाठक
Sarbottam CementSarbottam Cement

आदिवासी भोक 
(कवितासंग्रह : देवकी अभिलाषी)
समकालीन काव्य परिवेशमा क्रियाशील कवि हुन्, देवकी अभिलाषी । उनका कविताले पाठकको मन जित्दै आएको छ । केही समयअघि अभिलाषीले कविताकृति सार्वजनिक गरेकी छन्, ‘आदिवासी भोक’ ।

कृतिभित्र कवि तुलसी दिवसले आफ्नो शुभकामना मन्तव्यमा लेखेका छन्, “...उनको प्रस्तुत कवितासंग्रह (आदिवासी भोक)मा उनले अत्यन्त कलात्मक तथा काव्यात्मक रूपले परम्परागत महिलाहरूले भोग्नुपरेको पीडालाई अत्यन्त मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको देख्दा म अत्यन्तै हर्षित भएको छु । उनले मूलतः महिलाहरूको अधिकार र भूमिकालाई वर्तमान नेपाली समाजले विशेष गरेर पुरुषले बुझ्नुपर्ने सूक्ष्म र मिहिन कुरालाई मौलिक र काव्यात्मक रूपले प्रस्तुत गर्ने प्रशंसनीय प्रयत्न गरेकी छन् ।...।”

‘सहयात्रा’ शीर्षकको कवितामा लेखिएको छ–
जिन्दगीको अँध्यारोमा 
एक हत्केला उज्यालो बोकेर आउनु तिमी
म पनि आउँला बोकेर एक पोल्टो खुसी 
तिमी र म भेट भएपछि
बाटो आफैँ उज्यालो हुन्छ ।
... (पृष्ठ — ५४)

Prabhu Bank
Agni Group
NIC Asia

कवि रमेश क्षितिजले शुभकामना सन्देशमा लेखेका छन्, “...नयाँनयाँ भन्नुपर्ने कुराहरू, सामाजिक–सांस्कृतिक मिथक अनि अहिलेको समय कवितामा प्रखर रूपमा चित्रित छ । देवकी अभिलाषीका कविताहरू यस सन्दर्भका गतिला प्रमाणहरू हुन् ।...।”

कृतिकार देवकीले आफ्नो भनाइमा लेखेकी छन्, “...रहरले भन्दा पनि एउटा सामाजिक उत्तरदायित्व बोधले लेख्ने प्रयास गर्छु म कविता । हल्ला, ताली, मिडियाबाजी, पदक र पुरस्कारको लागि मात्र कविता लेख्नुपर्छ भन्ने मान्यतामा मलाई विश्वास लाग्दैन ।...।”

Global Ime bank

यस कृतिभित्र देवकीका ४२ कविता संगृहीत छन् ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनद्वारा प्रकाशित १०२+४ पृष्ठको कविताकृतिको मूल्य २९९– रुपैयाँ राखिएको छ ।  

०००

बेग्लै आकाश 
(व्यक्तिवृत्त : घनेन्द्र ओझा)
पत्रकार तथा कवि लेखक घनेन्द्र ओझाको पछिल्लो कृति हो, ‘बेग्लै आकाश’ । यो पुस्तक केही महिनाअघि सार्वजनिक गरिएको हो । ओझा कुशल कवि तथा गजलकार पनि हुन् । उनका गजलका कृति र कवितासंग्रह पनि प्रकाशित छन् ।

आफ्नो भनाइ ‘भन्नुपर्ने कुराहरू’मा सर्जक ओझाले लेखेका छन्, “आफूले सिर्जना गर्ने कुरा त आफ्ना लागि हो विशेष तर लेखनमा आफूबाहेक पनि विषय हुन्छन्, आफूबाहेकका पनि व्यक्ति हुन्छन् । ती व्यक्तिहरूको विभिन्न क्षेत्र र विषयमा अमूल्य योगदान हुन्छ । उनीहरूलाई साहित्य, समाज, राष्ट्र र हामीले सम्झिनु तथा सम्मान गर्नुपर्छ भन्ने लाग्छ ।”

पुस्तकको अन्तिम पृष्ठको ब्लर्बमा प्रकाशन संस्थाका तर्फबाट लेखिएको छ, “लामो समयको संगतपछि सान्दर्भिक र अत्यावश्यक प्रसंगहरूलाई मथेर तयार पारिएको यस जीवनी–संग्रहले यी ‘बेग्लै आकाश’हरूको जीवन, संघर्ष र सफलताका सूत्रमा प्रवेश गर्न चाहने र तिनबाट प्रेरणा लिन चाहने समस्त पाठकहरूका लागि यो पुस्तक एउटा अनिवार्य पाठ्य सामग्री बन्न पुगेको छ ।”

कृतिभित्र प्रा. डा. कृष्णहरि बराल, कृष्ण धरावासी, दिनेश अधिकारी, प्रतीक ढकाल, डा. भोजराज घिमिरे, यादव खरेल, डा. विमल कोइराला, शंकर कोइराला, शक्तिबल्लभसहित १४ जनाको जीवनवृत्त प्रस्तुत छ ।

पेज टर्नरले प्रकाशनमा ल्याएको २००+४ पृष्ठको यस पुस्तकको मूल्य ५००– रुपैयाँ राखिएको छ ।

०००

अनेक आयाममा क्रान्तियोद्धा : प्रेमकृष्ण पाठक
(स्मृतिग्रन्थ : सं. विमल भौकाजी/नम्रता शर्मा)
समाजवादी चिन्तक, क्रान्तियोद्धा, राजनीतिज्ञ एवम् कानुन व्यवसायी प्रेमकृष्ण पाठकको स्मृतिमा प्रकाशित ग्रन्थ हो, ‘अनेक आयाममा क्रान्तियोद्धा : प्रेमकृष्ण पाठक’ । यो ग्रन्थ विमल भौकाजी र नम्रता शर्माको संयुक्त सम्पादनमा प्रकाशित भएको हो ।

यस ग्रन्थभित्र प्रकाशकीयमा लेखिएको छ, “राजनीतिमा पाइला राखेको एक दशक पनि नपुगी ‘कतै कुनै मूल्यांकन भएन’ भनेर ठाउँ खोजी हिँड्नेहरूलाई, पाउने आशा नराखी विवेक र विश्वासको साथ, स्वाभिमान र सत्यताका आधारमा कर्तव्यपथमा नथाकी जीवनभरि लडिरहने क्रान्तियोद्धा प्रेमकृष्ण पाठकको विभिन्न आयाम समेटिएको यो किताबले सही मार्गदर्शन गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

ग्रन्थको सम्पादकीयमा विमल भौकाजीले लेखेका छन्, “यो कृति प्रेमकृष्ण पाठकको जीवनको दस्तावेज हो । भविष्यका पुस्ता, जसले अघिल्लो पुस्तालाई बिर्सिंदै जाने जुन विसंगति आजको दुनियाँमा देखापर्दै गइरहेको छ, त्यो खाडललाई धेरै हदसम्म पुर्न यसले सघाउ पुर्याउनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

पाठककी छोरी पत्रकार नम्रता शर्माले ‘आभार व्यक्त’ गर्दै ग्रन्थमा लेखेकी छन्, “युवावस्थामा त उहाँको जीवन सडक आन्दोलन, पार्टी कार्यालय, न्यायालय एवम् नेपाल र नेपालीको हकहितको आवाज उठाउँदा उठाउँदा नै बित्यो । वृद्धावस्था पनि आफ्नो मोटरसाइकल चढेर विविध प्रकारका आन्दोलनमा सरिक हुनुहुन्थ्यो भने मोटरसाइकल नै चढी प्रत्येक साँझ बागबजारस्थित शिव श्रेष्ठको हिमालयन बुक्समा आफ्ना साथीभाइका साथ विचारविमर्श गर्नुहुन्थ्यो ।...।”

विशेष भूमिकामा साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ले लेखेका छन्, “हो, प्रेमकृष्ण पाठकले जीवनभर आफ्नो लागि होइन, परिवारको लागि पनि होइन, समाजको लागि र देशको लागि उज्यालो निम्त्याउने काम गर्नुभयो । जीवनभर उहाँको कामको खासै मूल्यांकन भएन राज्यबाट ।...।”

यो ग्रन्थ पाँच खण्डको छ । पहिलो खण्डमा पाठकद्वारा लिखित लेखरचना, व्यक्तिविशेष लेखहरू, अंग्रेजी लेखहरू, पाठकका अन्तर्वार्तालगायत पठनीय सामग्री छन् ।

दोस्रो खण्डमा पाठकको ‘व्यक्तित्व : कृतित्व’अन्तर्गत विभिन्न व्यक्तिका लेखरचना र स्मृति समेटिएको छ ।

बाँकी तीन खण्डमा विभिन्न दस्तावेज प्रस्तुत गरिएको छ ।

स्वप्न वाटिकाद्वारा प्रकाशित ५१४+४ पृष्ठको यस ग्रन्थको मूल्य ८५०– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय