काठमाडौं । भारतको मणिपुरमा रहेको आफ्नो सबै कुराहरु हिंसाका कारण गुमाएको भन्ने थाहा पाउँदा मे ३ मा भारतीय फुटबलर चिग्लेनसाना सिंह एएफसी कपको प्लेअफमा हैदराबाद एफसीबाट मोहन बगानविरुद्ध खेलिरहेका थिए ।
डे«सिङ रुममा पुग्दा उनको मोबाइलमा म्यासेज र ‘मिस्ड कल’को लस्कर थियो । आफूलाई सम्पर्क गर्न खोज्नेहरुलाई पुनः सम्पर्क गर्न खोज्दा उनले कसैबाट पनि जवाफ पाउन भने सकेनन् ।
“यसले (हिंसा) हामीसँग भएको सबै कुरा लिएर गयो । हामीले कमाएको, हामीसँग भएको सबैथोक,” चिग्लेनसानालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । चुराचन्दपुर जिल्लाको खुमुजामा भन्ने स्थानमा उनको स्थायी ठेगाना थियो ।
“मैले हाम्रो घरहरुमा आगो लगाइएको र चुराचन्दपुरमा मैले बनाएको फुटबल टर्फ पनि जलाइयो भन्ने सुने । यो निकै हृदयविदारक थियो । युवाहरुलाई एक मञ्च उपलब्ध गराउने मेरो ठूलो सपना थियो । तर, मेरो यो सपना खोसियो । भाग्यवश, मेरो परिवारले भने हिंसालाई छलेर राहत केन्द्रमा आइपुग्न सक्यो,” चिग्लेनसानाले आफ्नो भावना पोखे ।
उनले बल्लतल्ल आमासँग सम्पर्कमा रहन सफल भए । आमासँगको कुराकानीमा हिंसात्मक र बन्दुकका आवाज सुनेका चिग्लेनसानाले तत्कालै घर पुगेर परिवारसँग भेट्ने निर्णय गरे ।
परिवारसँगको भेटपछि त्यहाँ के भएको थियो भन्ने बुझेका चिग्लेनसानाले आफ्नो भावनालाई नियन्त्रण गर्न सकेनन् । “त्यहाँका युवाहरुलाई मञ्च उपलब्ध गराउने मेरो सपना भताभुङ्ग भएको छ । तर, हामी फेरि यसलाई शून्यदेखि सुरुआत गर्ने प्रयास गर्नेछौँ,” उनी भन्छन् ।
बहुसंख्यक मेइतेइलाई अनुसूचीत जनजातिको दर्जा दिने, उनीहरूलाई अल्पसंख्यक कुकीजस्तै सरकारी जागिर र शिक्षामा समान आर्थिक लाभ र कोटाको हकदार बनाउन अदालतले सरकारलाई मार्चमा आदेश दिएपछि हिंसा भड्किएको थियो ।
यसले मेइतेइहरूलाई कुकीहरुको बाहुल्यता रहेको पहाडी क्षेत्रमा जग्गा किन्ने अनुमति पनि दियो । जसले कुकीहरूको जग्गा, जागिर र अवसरहरू खोसिने डरलाई थप उकासिदिएपछि हिंसाले झनै बढावा पाइरहेको छ ।