विशेष
काठमाडौं । अरुको एटीएम कार्डको पिन नम्बर चोरी गरी आर्थिक ठगी गर्नेहरू नेपालमा बढ्न थालेका छन् ।
नेपालमा करिब ७ वर्षअघि एक चिनियाँ समूहले पिन कोड चोरी गरी एटीएममार्फत ठगीको सुरुवात गरेको थियो । एटीएमबाट पैसा निकाल्न नआउने र अरुले निकालेको सिक्ने भन्दै नजिक गएर पिन कोड चोरी गरी त्यो समूहले रकम चोरी गरेको थियो ।
नेपालमा यसरी ठगी गर्नेहरू बढ्न थालेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अहिलेसम्म अरुको पिन कोड चोरी गरी रकम निकाल्ने ५ नेपाली र ३ जना विदेशीलाई पक्राउ गरिसकेको छ ।
०७० असोज ६ गते ललितपुरका केवलप्रताप राणा र गोरखाका विरबहादुर बोहरा, ०७० कात्तिक ७ गते झापाका भीमबहादुर खड्का र पाँचथरका झमेन्द्र रेग्मी, ०७१ पुष ४ गते टर्किस नागरिक मेहमत गुलेन, ०७१ चैत १० गते रिपब्लिक अफ बुल्गेरियाका पेट्रोस्लाभ रिस्टोभ, ०७३ साउन १७ मा रोमानियाका प्रेडा आउरेलियन र गत भदौ १ गते बागलुङका तेजेन्द्र निरौलालाई अरुको कार्डको पिन नम्बर चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
नेपालका अधिकांश एटीम कार्ड म्याग्नेटिक स्ट्राइप सिस्टमका छन् । चिपमा आधारित कार्डले पुरानो प्रविधिमा आधारित कार्डलाई प्रतिस्थापन गरिसकेको छैन । “पुरानो प्रविधिमा आधारित एटीमबाट अनधिकृत रूपमा पैसा निकाल्न सकिने खतरा बढी छ,” ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, “नेपालजस्तै अल्पविकसित देशमा चोरीका एटीएम र ह्याक गरेका कार्डका आधारमा चोरी गर्ने गिरोह सक्रिय हुने गरेका छन् । हामी त्यसमा सतर्क भएर लागेका छौं । त्यसमा नेपाल राष्ट्र बैंकले पनि ध्यान दिन जरुरी छ ।”
भदौ १ गते पक्राउ परेका तेजेन्द्रले जापानी नागरिकको पिन कोड चोरी गरी अनलाइनमार्फत नेपालमा महँगा सामान खरिद गर्दै आएका थिए । ब्युरोका अनुसार उनले गएको जेठयता पटक–पटक गरी हिमालयन बैंक लिमिटेडबाट अनलाइन पेमेन्ट सुविधा लिएको देखिन्छ । न्युरोटिक नेपालका दुवै शाखामा जापानी नागरिकको नाममा जारी भएको क्रेडिट कार्डको नम्बर प्रविष्ट गरी सामसङ, हुवावे र लेनोभो ब्रान्डका महँगा मोबाइलहरू उनले अनलाइन खरिद गरिरहेका थिए । भिसा कार्डमार्फत भइरहेको ठगीका विषयमा सम्बन्धित व्यक्तिले त्यहाँको कार्ड सेक्सनमा जानकारी गराएपछि हिमालयन बैंक र न्युरोटिकले ब्युरोलाई जानकारी दिएका थिए । त्यसैका आधारमा उनलाई ब्युरोले पक्राउ गर्यो । यसअघि ब्युरोले साउन २० गते एटीएम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई पक्राउ गरेको थियो ।
उनले अन्य व्यक्तिको पिनसहितको एटीम चोरी गरेर दरबारमार्ग, ठमेल तथा लाजिम्पाट क्षेत्रका एटीएमबाट पैसा निकाल्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
साउन १७ गते लाजिम्पाटको एटीम बुथमा प्रवेश गरेका उनको सीसीटिभी फुटेजका आधारमा शंकर होटल प्रवेश गर्ने क्रममा ब्युरोको टोलीले पक्राउ गरेको थियो । प्रहरीले उनी बस्ने होटलको कोठाबाट २ लाख ६४ हजार नेपाली रुपैयाँ, ल्यापटप एक थान, मोबाइल २ थान, गिफ्ट कार्ड, पासपोर्ट तथा आईडी कार्ड बरामद गरेको थियो ।
सन् २०१५ यता तीन पटक नेपाल आएका उनी दुई महिनादेखि शंकर होटलमा बस्दै आएका थिए । “युरोप तथा विभिन्न देशमा बस्ने तस्करहरूले पिन चोरी गर्छन्, अनि जुन देशमा एटीएम सुरक्षा कमजोर छ, त्यहाँ गएर रकम निकाल्छन्,” डीआईजी सिलवालले भने, “यसमा एक–दुई जना हैन, पूरै गिरोह नै सक्रिय हुन्छ । पर्यटक भिसामा नेपाल आयो, यसरी ठगी गर्यो अनि डलरसँग साटेर लियो । यो काम धेरैजसो पर्यटकले गर्ने गरेका छन् ।” काठमाडौंमा भएको एटीएम ठगीमा बुल्गेरियन, टर्किस, भारतीय, बंगलादेशी तथा पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७३ १२:०७
प्रतिक्रिया दिनुहोस्