काठमाडौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर एक वामपन्थी आन्दोलनको उर्वर भूमि पनि हो । २०४० सालको माघे संक्रान्तिका दिन तत्कालीन पञ्चायती शासकले दमन गर्दा पिस्करमा दुई जनाले ज्यान गुमाए भने कैयौं गिरफ्तार भए । २०४६ सालमा बहुदल आयो र त्यसलगत्तै भएको निर्वाचनमा सोही क्षेत्रका एमालेका अमृत बोहोराले निर्वाचन जिते ।
२०५१ सालको मध्यावधिमा निर्वाचनमा पनि उनैको पोल्टामा गयो त्यस क्षेत्र । त्यसपछि भने एमालेले तेहेर्याएर जित्न सकेन सिन्धुपाल्चोक– १ । २०५१ पछिका ३ वटा निर्वाचनमा दुई पटक कांग्रेसका मोहन बस्नेत र ०६४ को निर्वाचनमा माओवादीले जित्यो ।
२०७० सालको संविधानसभा निर्वाचनमा एमालेका उमेदवार अरुण नेपाल कांग्रेसका मोहन बस्नेतसँग ३२ मतले मात्र पछि परे ।
हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन बनाएको नेकपा एमालेले सिन्धुपाल्चोकको क्षेत्र छाडेको छ र अग्नि सापकोटा गठबन्धनका साझा उमेदवार बनेका छन् । अहिले त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, सुनकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिकासहित चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गतका २, ३, ४, ९, १० वडा समेटेर १ नम्बर क्षेत्र बनाइएको छ ।
सिन्धुपाल्चोक–१ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका तर्फबाट अग्नि सापकोटा, कांग्रेस गठबन्धनका तर्फबाट अहिलेका सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतसँगै १३ जना आकांक्षी मैदानमा खडा छन् । भूकम्पअघि तातोपानी व्यापारिक नाका र धार्मिक महत्वको क्षेत्रसमेत रहेको उक्त क्षेत्र राजनीतिको सामरिक केन्द्रसमेत हो ।
पूर्व सूचना तथा सञ्चारमन्त्री र वर्तमान मन्त्री दुई ‘हेवीवेट’ मैदानमा उत्रँदा सिन्धुपाल्चोक–१ को चुनावी स्पर्धा थप रोचक बनेको छ ।
कस्तो छ विगत ?
यसअघि ३ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोक अहिले २ वटा क्षेत्रमा सीमित गर्दा दुई क्षेत्रका केही तह गाभिएका छन् । दुई नम्बर तुलनात्मक रूपमा कम्युनिष्टको गढ क्षेत्र हो ।
२०४८ को निर्वाचनमा एमालेका कृष्णराज श्रेष्ठले जितेको उक्त क्षेत्र २०५१ मा भने राप्रपाका विष्णुविक्रम थापाले जितेका थिए । ०५६ मा एमालेका सुभास कर्माचार्यको पल्ला भारी भयो भने त्यसपछिका दुई निर्वाचन माओवादी नेता अग्नि सापकोटाले जितेका हुन् ।
२०६४ मा सिन्धुपाल्चोक–१ बाट माओवादीका राजकुमार श्रेष्ठ २१ हजार ३२० मतका साथ विजयी भएका थिए भने एमालेका अरुण नेपाल १३ हजार १२४ मतका साथ दोस्रो र मोहन बस्नेत ७ हजार ६७१ मतका साथ तेस्रो थिए ।
०७० को निर्वाचनमा भने कांग्रेसमा मोहन बस्नेत झिनो मतले विजयी भए । बस्नेतको १५ हजार ०२१ मत आउँदा एमालेका अरुण नेपालको १४ हजार ९८९ र माओवादीका सरल सहयात्री पौडेलको १० हजार ३३० मत आयो ।
स्थानीय तहमा कसको अवस्था कस्तो ?
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रिपुरासुन्दरी गाउँपालिका एमालेले जितेको हो भने सुनकोसी गाउँपालिकामा कांग्रेसले जित हात पार्यो । त्यस्तै चौतारा माओवादी केन्द्रले जित्दा बलेफी, लिसङ्खु–पाखर, जुगल, बलेफी एमालेले जितेका हुन् । भोटेकोसी माओवादी केन्द्रले जितेको हो ।
स्थानीय तहको मत हेर्ने हो भने एमालेका वडाध्यक्षहरूले २४ हजार १९८ मत ल्याएका थिए । कांग्रेसले २१ हजार २९८ मत ल्याउँदा माओवादी केन्द्रले १९ हजार ७८६ मत ल्याएको थियो । त्यस्तै राप्रपाले ३ हजार ६६९ मत ल्याएको थियो भने नयाँ शक्तिको २४४ मत आएको थियो ।
पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकसँग गठबन्धन गरे पनि कांग्रेसको अवस्था कमजोर देखिन्छ । कांग्रेस गठबन्धनको २५ हजार २११ मत देखिन्छ भने वाम गठबन्धनको ४३ हजार ९८४ मत देखिन्छ ।