काठमाडौं । ७४ प्रदेशसभा सदस्यका लागि ३२ जिल्लामा मनोनयन भएको छ । प्रदेशसभा सदस्यको दौडमा दोस्रो तहका मात्रै नभई पार्टीका ‘हेवी वेट’ पनि छन् ।
गठबन्धन गरेर निर्वाचनमा होमिने पार्टीको निर्णयानुसार एमाले– माओवादी केन्द्रका केही ठूला नेताहरू प्रदेशसभा खुम्चिन पुगे पनि केही नेता भने मुख्य मन्त्री र प्रदेशको ‘हर्ताकर्ता’ को आकांक्षी बनेका छन् ।
प्रदेशमा लड्ने एमालेका ठूला अनुहार
एमाले सचिव एवम् संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ ४ नम्बर प्रदेशको मुख्य मन्त्री बन्ने आकांक्षाका साथ मैदानमा खडा छन् ।
०६४ को निर्वाचनमा लम्जुङ–२ बाट १९५८३ मत ल्याएर विजयी भएका गुरुङ ०७० को निर्वाचनमा भने कांग्रेसका चन्द्रबहादुर गुरुङसँग पराजित भएका थिए ।
त्यस्तै एमाले पोलिटव्युरो सदस्य अरुण नेपाल पनि सिन्धुपाल्चोक–१ को प्रदेश क बाट उमेदवार बनेका छन् । नेपाल सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा ०६४ र ०७० को निर्वाचनमा दुवै पटक पराजित भएका थिए । उनी मुख्य मन्त्री बन्ने दौडमा भन्दा पनि सोही वाम तालमेलको कोपभाजनमा परेको बुझ्न कठिन हुँदैन । आफ्नो क्षेत्र माओवादी केन्द्रका नेता अग्नि सापकोटालाई सुम्पनु पर्दा उनी प्रदेशसभा सदस्यको उमेदवार बन्नुपर्यो ।
०७० को निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट २२ हजार १९६ मत ल्याइ विजयी भएका एमाले पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे यसपटक धादिङ–१ को क बाट प्रदेशसभा सदस्यको उमेदवार बनेका छन् । उनी पनि मुख्यमन्त्रीको दावेदार नै हुन् ।
त्यस्तै वाम तालमेलको कोपभाजनमा पर्ने अर्का प्रभावशाली नेता हुन्, पशुपति चौलागाईं । एमाले पोलिटव्युरो सदस्य रहेका चौलागाईं यसअघि ०६४ को निर्वाचनमा दोलखा–१ बाट माओवादी नेतृ देवी खड्कासँग पराजित भएका थिए ।
पोलिटव्युरोका वैकल्पिक सदस्य एवम् पूर्वमन्त्री शेरधन राई पनि १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन् । भोजपुर–२ बाट ११ हजार ९२७ मत ल्याएर विजयी भएका राई यसपटक भाजपुर खबाट प्रदेशसभाको सदस्यमा उठेका छन् ।
त्यस्तै एमालेका युवा नेता तथा राजेन्द्र राई पनि भोजपुर क बाट प्रदेशसभाको उमेदवार बनेका छन् । विद्यार्थी नेता हुँदा सडक तताएका नेता राई िपहिलोपटक चुनावी दाैडमा छन् ।
रामेछाप–२ बाट गत संविधानसभाको निर्वाचनमा पराजित एमाले नेता कैलाश ढुंगेल यसपटक प्रदेशसभा सदस्यको दौडमा छन् । अघिल्लो पटक आफैँलाई हराएका माओवादीका उमेदवार श्यामकुमार श्रेष्ठलाई सघाउनुपर्दा उनी प्रतिनिधिसभा सदस्य बन्न बञ्चित भएका हुन् ।
माओवादी केन्द्रका ‘हेवीवेट’
तुलनात्मक रूपमा माओवादी केन्द्रका ठूला नेता प्रदेशसभा सदस्य बन्ने दौडमा छैनन् ।
माओवादी केन्द्रका नेता एवम् यसअघि ऊर्जा मन्त्री रहेका महेन्द्रबहादुर शाही ६ नम्बर प्रदेशको मुख्य मन्त्री बन्ने दाउका साथ प्रदेशसभा सदस्यमा उठेका छन् । उनी कालिकोट खबाट उमेदवार बनेका हुन् । शाही गत संविधानसभाको निर्वाचनमा १२ हजार ८८ मत ल्याएर एमाले उमेदवारलाई पराजित गरेका थिए ।
त्यस्तै ०६४ सालको संविधानसभाको निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट २५ हजार ७५ मत ल्याएर विजयी बनेका माओवादी केन्द्रका नेता एवम् पूर्व माओवादी निकट ट्रेड युनियन अध्यक्ष शालिकराम जम्कट्टेल यसपटक प्रदेशमा खुम्चिएका छन् । एकअर्काका प्रतिस्पर्धी बनेका एमाले नेता राजेन्द्र पाण्डे र जम्कट्टेल दुवै प्रदेशमा झर्नु अनौठो संयोग बनेको छ ।
त्यस्तै ०६४ सालको संविधानसभाको निर्वाचनमा अपराजित इतिहास कायम गरेका राप्रपा प्रजातान्त्रिक अध्यक्ष पशुपतिशमशेर राणालाई हराएर चर्चामा आएका माओवादी नेता दावा तामाङ यसपटक सिन्धुपाल्चोक–२ ख बाट प्रदेशसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
तामाङले १४ हजार २१६ मत ल्याउँदा राणा तेस्रो भएका थिए त्यतिबेला । उनको १० हजार २३ मत आएको थियो ।
राणा कांग्रेस–राप्रपा प्रजातान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडिरहँदा दावा प्रदेशसभाको उमेदवार बन्न पुगेका छन् ।
त्यस्तै पूर्व कृषि राज्यमन्त्री राधिका तामाङ पनि प्रदेशसभा सदस्यको उमेदवार बनेकी छन् । माओवादी केन्द्रका तर्फबाट समानुपातिकमा परेकी उनी यसपटक प्रदेशसभामा झरेकी हुन् ।
कांग्रेसका ‘हेवीवेट’
कांग्रेसका नेताहरूको आशक्ति प्रदेशसभा देखिएको छैन । त्यसकारण कांग्रेसका ठूला नेता प्रदेशसभा सदस्यको ‘लिगलिगे’ दौडमा छैनन् भन्दा हुन्छ ।
पूर्व पर्यटन तथा खानेपानी मन्त्री रहेका जीवनबहादुर शाही ६ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन् । यसअघि हुम्ला–१ बाट ८ हजार ३३२ मत ल्याएर विजयी भएका शाही यसपटक हुम्ला खबाट उमेदवार बनेका छन् । त्यस्तै नुवाकोटका नेता जगदिशनरसिंह केसी पनि प्रदेशसभाको दौडमा छन् । बाग्लुङका पूर्वसांसद प्रकाश पौडेल, बझाङका पूर्व सांसद चन्द्रा जोशी, पूर्व सांसद्हरू लिलादेवी बोखिम, आगेली शेर्पा, दीपकजंग शाह यसपटक प्रतिनिधिसभा सदस्यबाट रिङ आउट हुँदै प्रदेशसभामा झरेका छन् ।