काठमाडौं । गएको वैशाख १ गते रिलिज भएको चलचित्र ‘जारी’यता कुनै पनि नेपाली सिनेमाले उलेख्य कलेक्सन गर्न सकेका छैनन् । थुप्रै नेपाली चलचित्र रिलिज भए पनि व्यापार टिठलाग्दो छ ।
२० करोड रुपैयाँसम्म कलेक्सन हुने बजारमा दुई/लाखमै चलचित्रको व्यापार सीमित भइरहेको छ । अर्थात्, सिनेमाले होर्डिङ बोर्डको समेत खर्च उठाउन सकिरहेका छैनन् । केही चलचित्रकर्मी यसलाई सिजनको खोट मान्छन् । अर्थात्, बर्सातमा सिनेमा चल्दैनन् ।
त्यसो भए सिनेमाको सिजन हुन्छ ?
जसले सिजनका कारण सिनेमा चलेन भन्छ, त्यो उसको कमजोरी लुकाउने बहाना मात्र भएको निर्देशक मनोज पण्डित बताउँछन् । “कसैले मेरो सिनेमा सिजन नमिलेर चलेन भन्छ भने त्यो उसले आफ्नो कमजोरी लुकाउन गरेको प्रयास मात्रै हो,” मनोज भन्छन्, “सिनेमाको कुनै सिजन हुँदैन । सिनेमाका लागि बाह्रै महिना सिजन हो । यो बाह्रमासे खेती हो, ३६५ दिन नै सिजन हो ।”
कमजोर सिनेमा चलेन भन्न धक मान्नु नपर्ने उनी बताउँछन् । नराम्रा सिनेमा नै नचलेको उनको भनाइ छ ।
कमजोर सिनेमा चल्दाभन्दा नचल्दा नै खुसी हुनुपर्ने उनी बताउँछन् । कमजोर सिनेमा नचल्नु भनेको चलचित्रको गुणस्तर वृद्धिका लागि दर्शकको खबरदारी पनि भएको उनको टिप्पणी छ ।
“अब सिनेमा क्रिएटिब्ली, टेक्निकल्ली र ट्याक्टिकल्ली पनि राम्रो हुनुपर्छ । यी तीनवटै पक्ष मिल्दा मात्रै चलचित्र राम्रो हुने र चल्ने हो । धेरै कुरा मिलेपछि मात्रै सिनेमा कमर्सियल रूपमा चल्छ,” मनोज भन्छन्, “सिनेमा चलेनन् भन्ने न्यारेटिभ स्थापित गराउँन खोजिँदै छ । वास्तवमा त्रास मात्रै सिर्जना गर्ने न्यारेटिभ हो यो । चलेन भनेर होइन, हामी कस्तो सिनेमा बनाइरहेका छौँ भनेर चासो राख्नुपर्नेछ ।”
पानी परोस् वा हावाहुरी चलोस्, हलसम्म गएर हेर्नैपर्ने बाध्यता सिर्जना गर्ने चलचित्र निर्माण गरिए जुन दिन रिलिज गरे पनि चल्ने उनी बताउँछन् । यो सिनेमा हेर्नैपर्ने भन्ने मनोविज्ञान सिर्जना गर्न सक्ने चलचित्र वर्षको जुनसुकै दिन हलमा लागे पनि केहीले नछेक्ने उनको भनाइ छ ।
“मनोवैज्ञानिक रूपमै सिनेमा हेर्न बाध्य बनाउने हो भने दर्शक जाडो होस् वा गर्मी वा पानी परोस् अथवा हिउँ परोस्, दर्शकलाई कसैले रोक्न सक्तैन,” उनी भन्छन्, “जाडो, गर्मी र पानीमा मान्छे खुसी हुन चाहँदैन र ? मान्छेलाई रमाउन सिजनले छेक्दैन । जाडो हुँदैमा कसैले मिठो खान छोड्छ र ?” आफूले कमजोरी गरेर सिजनलाई दोष दिन नहुनेमा उनको जोड छ ।
वितरक मनोज राठी सिनेमा सिजनले नभएर विषयले चल्ने बताउँछन् । विषय र प्रस्तुति राम्रो भए जुनसुकै सिनेमा चल्ने उनको भनाइ छ ।
“सिनेमा सिजनले होइन, कन्टेन्टले चल्ने हो । कन्टेन्ट राम्रो भयो भने जुनसुकै समय र दिन रिलिज गरे पनि चल्छ । कन्टेन्ट राम्रो भएन भने दसैँमा रिलिज गरे पनि चल्दैन,” राठी भन्छन् ।
बिदाको समयमा रिलिज नगरिए सिनेमा चल्दैन भन्नु गलत भएको उनको तर्क छ । यसलाई उनी मेकरले कमजोरी ढाक्नका लागि गरेको कुतर्क भन्छन् ।
“नन् होलिडेज जेठमा रिलिज गर्दा पनि कबड्डी चलेकै हो । राम्रो सिनेमा पानी परे पनि चल्छ । घाम लागे पनि चल्छ,” उनी भन्छन्, “भूकम्पजस्ता प्राकृतिक प्रकोप आए बेग्लै कुरा, होइन भने राम्रो चलचित्र जुनसुकै समय पनि चल्छ ।” हलसम्म दर्शक तान्न सक्ने सिनेमा बनाए सिजनको अर्थ नहुने राठीको बुझाइ छ ।
निर्देशक प्रमोद कँडेल सिजन नै सिनेमा चल्नु/नचल्नुको मुख्य कारण नभएको तर केही हदसम्म प्रभाव पार्ने बताउँछन् । नेपालमा सिजनविशेषले सिनेमाको बजार र व्यापार निर्धारण गर्ने/नगर्ने विषयमा कुनै रिसर्च नभएको उनी सुनाउँछन् ।
“नेपालको त म भन्न सक्तिनँ, तर म इन्डियामा बसेर सिनेमा पढेको र उतैको रिसर्च अध्ययन गरेकाले भारतमा भने फेस्टिभल र बिदालाई सिनेमाको व्यापारको सिजन मानिन्छ,” उनी भन्छन्, “त्यहाँ भएका रिसर्चले नै त्यो देखाउँछ । यसको उदाहरणका लागि त्यहाँका ठूला बजेट र ठूला स्टारका सिनेमा फेस्टिभल र बिदामा रिलिज हुन्छन् ।”
भारतमा आईपीएल भइरहेका बेला वितरकले ठूला फिल्म नलगाउने गरेको प्रमोद बताउँछन् । आईपीएलको सिजनमा त्यहाँका वितरकले नै साना बजेटका सिनेमा जोसँग पब्लिसिटीका लागि बजेट छैन, उसलाई रिलिजका लागि सिफारिस गर्ने गरेको उनको भनाइ छ ।
तर, सिनेमाको विषय नै मुख्य भएको र त्यसले नै दर्शक हलमा जाने/नजाने निर्धारण गर्ने उनी स्पष्ट पार्छन् । विषय राम्रो भए समय र स्टारले फरक नपार्नेमा उनी जोड दिन्छन् ।
“नेपालमा सिनेमाको व्यापार गर्मी, जाडो अथवा पानीले असर गर्छ अथवा गर्दैन, अहिलेसम्म थाहा छैन । हामी कसैले यसले असर गर्छ वा गर्दैन भनेर भनिरहेका छौँ भने त्यो नितान्त अनुमान मात्रै हो,” प्रमोद भन्छन्, “हाम्रो अनुमान पनि मिल्छ कि मिल्दैन भन्ने हो । काठमाडौंको मौसम र चितवनको मौसममा ठूलो भिन्नता छ । त्यसैले यसले पनि प्रभाव पारिरहेको हुनसक्छ ।”
नेपाली चलचित्रको बजारबारे हालसम्म कहीँ कतै रिसर्च नभएको भन्दै उनी यो काम सरकारी तहबाट हुनुपर्ने बताउँछन् । चलचित्र विकास बोर्डले रिसर्च टिम खडा गरेर नेपाली सिनेमाको बजार अध्ययन गर्नुपर्ने उनको धारणा छ ।
“रिसर्च गर्ने काम कोही एउटा व्यक्तिविशेषबाट सम्भव हुँदैन । यो काम बोर्डले गर्न सक्छ,” उनी भन्छन्, “कुनै एक व्यक्तिले गर्यो भने उसको जिन्दगी जान्छ, तर सम्भव हुँदैन । त्यसैले यो रिसर्च बोर्डबाट मात्रै सम्भव छ ।” रिसर्चबाट आउने फाइन्डिङले नेपाली सिनेमालाई गाइड गर्न सक्ने उनको भनाइ छ ।
नेपालमा सामान्य अवस्थामा वर्षमा १०० वटासम्म चलचित्र बनाउन थालिएको उनी बताउँछन् । यो संख्या नेपाली सिनेमा बजारका लागि आवश्यक हो/होइन रिसर्चबाट पत्ता लगाउनुपर्नेमा उनको जोड छ ।
“अहिले जति सिनेमा बनिरहेका छन्, त्यति आवश्यक होइन भने मेकरहरूले जोयन्ट्ली काम गर्ने हो कि ? यसरी काम गर्दा सिनेमाको क्वालिटी बढ्छ र विदेशमा बजार खोज्न पनि सहज हुन्छ कि ?,” प्रमोद अगाडि थप्छन्, “यसका लागि बृहत् रिसर्च आवश्यक छ । यो तत्काल राज्यले गर्नुपर्ने काम हो । यसले सिनेमामा भइरहेको लगानी सुरक्षित गर्न सहयोग गर्छ भन्ने लाग्छ ।”