
काठमाडौं । पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिन संस्थापक सेयर बिक्रीमा राखेको छ ।
गत शुक्रबार हबिब बैंकले हिमालयन बैंकमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर एकमुष्ठ बेच्ने भन्दै सूचना जारी गरेको छ ।
हबिबले हिमालयनको संस्थापक सेयर मूल्य प्रतिकित्ता ११२.८० रुपैयाँ तोकेको छ । प्रस्तावित मूल्यलाई आधार मान्दा एकमुष्ठ सेयरको मूल्य तीन अर्ब १३ करोड ७३ लाख रुपैयाँ हुन आउँछ । हिमालयनमा हबिबको १२.९३ प्रतिशत संस्थापक सेयर छ ।
हबिबले पहिलो प्राथमिकता हिमालयनका संस्थापक सेयरधनीलाई दिएको छ । हाल कायम रहेका संस्थापकहरुलाई ३५ दिनभित्र सेयर किन्न समय दिएको छ । निर्धारित समयभित्र बैंकका संस्थापकले सेयर खरिद गरेनन भने मात्र बाहिर रहेका अन्य व्यक्ति वा संस्थाले किन्न पाउने छन् ।
नेपाल राष्ट्र बैंकले हबिबलाई हिमालयनको सेयर बेच्न दिएको थिएन । तर, निर्वतमान गभर्नर महाप्रसाद अधिकारीले जाँदाजाँदै हबिबलाई सेयर बेच्न स्वीकृति दिएका हुन् । पछिल्लो समय हिमालयन बैंकको वित्तीय अवस्था राम्रो छैन । वित्तीय अवस्था राम्रो नहुँदा लगानीकर्ताले हिमालयनबाट लाभांश पाएका छैनन् ।
गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको बैंकको वित्तीय विवरण हेर्दा संस्थागत लगानीकर्ताले बैंकको सेयर किन्ने सम्भावना कम छ । पहिला ठूलो रकमको र दोस्रो किन्दा स्रोत खुलाउनु पर्ने व्यवस्थाले गर्दा व्यक्तिगत वा संस्थागत लगानीकर्ता आउन सक्ने अवस्था कम छ ।
यस्तो अवस्थामा बैंकको सेयर किन्न सक्ने एउटा मात्र संस्था हो– कर्मचारी सञ्चय कोष । सञ्चय कोष हिमालयन बैंकको संस्थापक लगानीकर्ता हो । उसको हिमालयनमा १४ प्रतिशत हिस्सा छ । हिमालयनको सञ्चालकमा कोषका प्रशासक जितेन्द्र धिताल रहेका छन् ।
सञ्चय कोषले हिमालयमा २५ प्रतिशतसम्म स्वामित्व राख्न पाउने व्यवस्था छ । कोषले अझै ११ प्रतिशतसम्म सेयर किन्न सक्नेछ ।
राष्ट्र बैंकले स्वीकृति दिएमा हबिबले बेच्न राखेको सबै सेयर किन्न तयार रहेको कोषका एक अधिकारीले बाह्रखरीलाई बताए । स्रोत खुलाउनु पर्ने व्यवस्थाका कारण व्यक्तिले सबै सेयर किन्न सक्ने अवस्था नभएकाले सञ्चय कोषले मात्र लिन सक्ने दाबी स्रोतको छ ।
“मूल्य मिलेमा र राष्ट्र बैंकले स्वीकृति दिए हामी सबै सेयर किन्न तयार छौं,” कोष स्रोतले भन्यो । यद्यपी, सेयर किन्ने प्रस्ताव सञ्चय कोष सञ्चालक समितिले पास गर्नुपर्ने हुन्छ । हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर पटक पटक प्रयास गरेकोमा नेपाल राष्ट्र बैंकले स्वीकृति नदिँदा बेच्न पाएको थिएन ।
२०७६ सालमा नै बिक्री गर्ने प्रयास गरेको थियो । बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी) ले सेयर खरिद गर्ने पक्का भएको थियो । कर्मचारी सञ्चय कोषले संस्थापक सेयर किन्न तयार भए पनि उसले पाएन ।
हिमालयन बैंकले सिभिल बैंकलाई आफूमा समाहित (मर्जर) गरेपछि वित्तीय अवस्था कमजोर देखिएको छ ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाशसम्म कूल ५० करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले गत वर्षको यही समयमा एक अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाशमा हिमालयन बैंककको वितरणयोग्य नाफा सात करोड ८० लाख रुपैयाँ मात्रै छ ।
तेस्रो त्रैमाशमा आइपुग्दा बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशत रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । हाल हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रूपैयाँ छ । सिभिलसँग मर्जरअघि हिमालयनमा हबिबको २० प्रतिशत स्वामित्व थियो ।
अहिले घटेर १२.९६ प्रतिशत स्वामित्व छ । हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ । हिमालयनमा हिमालयन शम्शेर जबरा, भीम पाँडे, पृथ्वी पाँडे, नरसिंहबहादुर श्रेष्ठ र आनन्दभक्त राजभण्डारीको धेरै सेयर रहेको छ ।
यसैगरी एन ट्रेडिङ कम्पनीको १२.७१, खेतान ग्रुपको म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेशनलको ११.३८ प्रतिशत, छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत र उद्योगपति शशिकान्त अग्रवालको २.६५ प्रतिशत स्वामित्व छ ।