site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपालमा डेट चल्छ कि सिनेमा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सिनेमा उद्योगमा चलचित्र रिलिजका लागि सधैँ डेट (प्रदर्शन मिति)मा लडाइँ हुन्छ । एउटै मितिमा धेरै मेकर आफ्नो चलचित्र रिलिज गर्न चाहन्छन् । दसैँ, तिहार, नयाँ वर्ष, तिज, शिवरात्रिलगायत बिदाको समयमा चलचित्र लगाउन मेकरहरूबीच तँछाड मछाड हुँदै आएको छ । 

किन चाहियो बिदा ? 

चलचित्र निर्माता तथा कलाकार नवल खड्का नेपालमा सिनेमा नभएर डेट चल्ने बताउँछन् । “नेपालमा सिनेमा होइन, डेट चल्छ । यहाँ राम्रो सिनेमा बनाएर मात्रै हुँदैन, राम्रो डेट चाहिन्छ,” नवल भन्छन्, “नेपाली मेकरलाई लेखेर राख्न म भन्छु– नेपालमा सिनेमा होइन, डेट चल्ने हो ।” त्यसैले मेकर तथा वितरकबीच डेटका लागि लडाइँ हुने गरेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कलाकार विजय बराल भने डेट होइन, सिनेमा नै चल्ने बताउँछन् । कन्टेन्ट नै चल्ने उनको जिकिर गर्छन् । “डेट होइन, सिनेमा चल्ने हो । हाम्रो चलचित्र ‘जारी’ लामो समय चल्यो । यो कन्टेन्ट नै बलियो भएर चलेको हो, डेट बलियो भएकाले चलेको होइन,” विजय भन्छन् ।

त्यसो भए डेटका लागि किन सधैँ झगडा ? लामो बिदाको लोभ भने मेकरलाई हुने गरेको उनी स्वीकार गर्छन् । इनिसियल शुक्रबार र शनिबार सिनेमा राम्रो चले आइतबार र सोमबार पनि बिदा छ भने थप राम्रो व्यापारको अपेक्षा हुने गरेको उनको अनुभव छ ।

Global Ime bank

“शुक्रबार र शनिबार सिनेमा राम्रो चलेर तीन/तीन करोडको ग्रस कलेक्सन गर्‍यो भने आइतबार पनि बिदा छ भने अर्को तीन करोड व्यापार होला भन्ने लोभ मेकरमा हुन्छ,” विजय भन्छन्, “यही नै डेटका लागि हुने गरेको लडाइँको कारण हो । तर, यो आफैँमा झगडा गरिहाल्नुपर्ने कारण भने होइन ।”

डेटमा भन्दा पनि राम्रो सिनेमा कसरी बनाउने भन्नेमा आफूलाई केन्द्रित गर्नुपर्नेमा उनी जोड दिन्छन् । राम्रो सिनेमा बनाए जुनसुकै समय र दिन रिलिज गरे पनि दर्शकले हेर्नेमा उनी ढुक्क सुनिन्छन् ।

निर्देशक समेत रहेका चलचित्र निर्माता संघका अध्यक्ष नवल भने सपरिवार सिनेमा हेर्न नगएसम्म राम्रो कलेक्सन नहुने बताउँछन् । बिदामा मात्र सिनेमा चल्ने भएकाले आफ्नो कन्टेन्टमाथि मेकरलाई विश्वास समेत हुन छाडेको नवलको भनाइ छ ।

ठिकठाक चलचित्र पनि लामो बिदामा रिलिज गरिए राम्रो व्यापार गर्ने उनको धारणा छ । “तर, त्यति नै ठिकठाक चलचित्र बिदामा रिलिज भएन भने त्यसले बिदामा रिलिज हुने चलचित्रले जति कलेक्सन गर्दैन । यो तथ्यलाई कसैले चाहेर पनि नजरअन्दाज गर्न सक्तैन ।”

कलाकार विजय नवलको मतमा शतप्रतिशत सहमत छैनन् । उनी डेट होइन, सिनेमा नै चल्नुपर्नेमा जोड दिन्छन् । डेट चल्न थाले त्यसले सिनेमाको श्रीवृद्धिमा अर्थ नराख्ने उनको भनाइ छ ।

कन्टेन्टमा ध्यान दिइएको सिनेमा जुनसुकै समय आए पनि चल्नुपर्ने विजय बताउँछन् । त्यसले चलचित्रको गुणस्तर वृद्धिमा योगदान गर्ने उनको बुझाइ छ ।

नेपाली सिनेमा मेकरमा बिजनेसको ‘आइडिया’ नहुँदा पनि डेटका लागि झगडा हुने गरेको उनी सुनाउँछन् । सोलो रिलिजको सम्भावना हुँदा पनि मेकरहरू इगो प्रब्लमका कारण जुध्ने गरेको उनको गुनासो छ । आफ्नो सिनेमाप्रति ‘ओभर कन्फिडेन्स’ हुँदा पनि मेकरले सिनेमा जुधाइरहेको विजय बताउँछन् ।

“मेरोजस्तो राम्रो सिनेमा अरूको छैन भन्ने मेकरमा रहेको ओभर कन्फिडेन्सका कारण पनि एउटै डेटमा धेरै सिनेमा आइरहेका हुन्छन्,” उनी अगाडि थप्छन्, “बिजनेसको आइडियाको अभावले पनि यो भइरहेको हो भन्ने लाग्छ । वाइवाई चाउचाउको राम्रो व्यापार हुँदाहुँदै सीजीले अर्को चाउचाउ उत्पादन गरेर बिक्री गरिरहेको हुन्छ । यो बिजनेसको ट्रिक हो । हामी चलचित्रकर्मीले पनि यसमा ध्यान दिनुपर्छ ।”

वितरक प्रचण्डमान श्रेष्ठ नवलको धारणामा सहमत छैनन् । डेट होइन, सिनेमा नै चल्ने उनको भनाइ छ । “बिदाको समयमा लगाइने चलचित्रलाई पक्कै पनि फाइदा हुन्छ । राम्रो सिनेमालाई राम्रो डेटले प्लस पोइन्ट भने गर्छ,” उनी स्पष्ट पार्छन् ।

राम्रो चलचित्रको इनिसियल व्यापार राम्रो हुने र वर्ड अफ माउथ पनि धेरै हुने भएकाले बिदामा आफ्नो सिनेमा रिलिज गर्न खोज्नु मुख्य कारण भएको उनी बताउँछन् । “राम्रो सिनेमाको इनिसियल बिजनेस राम्रो हुँदा वर्ड अफ माउथ पनि धेरैमा हुन्छ भन्ने अपेक्षा हुन्छ,” प्रचण्डमान भन्छन्, “जति धेरै वर्ड अफ माउथ हुन्छ, त्यति धेरै पछिका बिदामा त्यसको सकारात्मक असर देखिन्छ ।”

बिदामा चलाउँदैमा त्यसै नचल्ने भन्दै उनी चलचित्र चल्नका लागि कन्टेन्टले नै भूमिका खेल्ने बताउँछन् । “राम्रो डेटले होल सिनेमालाई असर गर्दैन र गर्नु पनि हुँदैन । कन्टेन्टकै मूल्यांकन हुनुपर्छ,” उनी भन्छन् ।

नेपालमा पुस–माघको जाडोमा चलचित्र चल्दैन, असार–साउनको झरीमा पानी पर्दैन भन्ने गरिएको उनको भनाइ छ । निर्देशक समेत रहेका वितरक प्रचण्डमान भन्छन्, “हामीले सिनेमा चल्दैन भनेकै समयमा क्रिसमस पर्छ, त्यही समयमा बाहिर सिनेमाले ब्लकबस्टर व्यापार गरिरहेका छन् त !”

कलाकार, निर्माता तथा निर्देशक समेत रहेका माओत्से गुरुङ मेकर र वितरकमा रहेको केही मनोविज्ञानले पनि यसमा काम गरेको बताउँछन् । लामो बिदा रहेकै समयमा चलचित्र रिलिज गर्दैमा चल्छ भन्ने नरहेको उनको तर्क छ । वितरक र निर्मातामा रहेको भ्रमका कारण पनि धेरै चलचित्र बिदाको समय पारेर ल्याइने गरेको उनी बताउँछन् ।

“हाम्रोमा मनसुन सिजनमा सिनेमा चल्दैन, जाडोमा चल्दैन, जेठमा पनि चल्दैन भन्ने मनोविज्ञान छ । यो मनोविज्ञानले गर्दा पनि धेरैले बिदामै सिनेमा रिलिज गर्न खोज्छन्,” माओत्से भन्छन् । चलचित्र राम्रो भए सधैँ चल्नेमा उनी जोड दिन्छन् ।

सिनेमा ‘दयारानी’ निर्माण सम्पन्न भएको चार वर्ष भइसक्यो । तर, आजसम्म यो चलचित्र रिलिज गरिएको छैन । पटक–पटक रिलिज डेट लिएर पनि विविध कारणले पछि सारियो । यो सिनेमा किन रिलिज हुन सकेको छैन ? लामो बिदा नपाएर होइन ?

निर्देशक एक्लैले चाहेर सिनेमा रिलिज गर्न नसक्ने माओत्से बताउँछन् । निर्माता र वितरकसँग पनि सल्लाह गर्नुपर्ने उनको अनुभव छ । चलचित्रको काम सामूहिक र निर्णय पनि सामूहिक रूपमै हुने उनको भनाइ छ ।

“सिनेमा बिदामा रिलिज गर्दैमा चल्दैन । चल्नलाई सिनेमा स्वयंमा क्वालिटी हुनुपर्छ । दोस्रो वा तेस्रो पक्षको आडभरोसामा सिनेमा चल्दैन,” माओत्से भन्छन्, “जति धेरै सिनेमा बलियो छ, त्यति धेरै समय चल्ने हो । र, हुनुपर्ने पनि यही नै हो ।”

दसैँ, तिहार, तिज, शिवरात्रि, नयाँ वर्षजस्ता लामो बिदामा सिनेमा रिलिजका लागि नेपालमा हरेक वर्ष आधा दर्जन चलचित्रको लाइनअप हुन्छ । बिदामा परिवार नै सिनेमा हेर्न जाने लोभले मेकर सकेसम्म यो डेट छोड्न चाहँदैनन् । सिनेमा घोषणासँगै क्यालेन्डर हेरेर बिदाको दिन पारेर रिलिज डेट पनि अनाउन्स गर्छन् । एउटै डेटमा धेरै सिनेमा ल्याइने हुँदा निर्माता, निर्देशक र वितरकबीच दुस्मनी समेत हुने गरेको छ । एउटै मितिमा धेरै चलचित्र रिलिज गरिँदा त्यसको कोपभाजनमा सिनेमा तथा निर्माता पर्ने गरेका छन् ।

वितरक र निर्देशकको ‘इगो’को लडाइँमा निर्माता परेका उदाहरण प्रशस्त छन् । सिनेमा बनाएर मात्र नहुने भन्दै विजय यसलाई बेच्न पनि जान्नुपर्ने बताउँछन् । सिनेमा आर्टको व्यापार भएको र बेच्न जान्नुपर्ने उनको धारणा छ । नेपाली सिने उद्योगमा यसको अभाव टड्कारो रहेको आफूले अनुभव गरेको विजय बताउँछन् । व्यापारको उचित योजना भए मात्र चलचित्रको बिजनेस राम्रो हुने उनको मत छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC