site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उत्तराखण्ड चारधाम यात्रामा दश दिन
Sarbottam CementSarbottam Cement

सुनेकी थिएँ– पहिलापहिला मानिस चारधाम जाँदा घरव्यवहार नजिकका आफन्तलाई जिम्मा लगाएर जान्थे रे ! चारधाम (यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ) पुगेर घर फर्किएका तीर्थालुलाई बाजागाजासहित अबिरजात्रा गर्दै फूलमाला, कानमा दुबो लगाई स्वागत गरिन्थ्यो ।

तीर्थालुहरू घर फर्केको थाहा पाउनासाथ आफन्त, इष्टमित्र सम्मानस्वरूप भेट गर्न आउँथे । तीर्थ जानेहरूले पनि घर फर्केलगत्तै स्थानीय प्रसिद्ध मन्दिरहरूमा जल लिई दर्शन गर्न जाने, घरमा सत्यनारायणको पूजा लगाई भगवान्मा कृतज्ञता व्यक्त गर्ने, परिवार, आफन्त तथा गाउँछिमेक सारालाई निम्तो गरी तीर्थेभोज खुवाउने गरिन्थ्यो ।

यी सब गर्नुका पछाडि एउटै कारण हुनसक्छ, यस्तो दुर्गमको तीर्थयात्रामा गएकाहरू सबै सकुशल फर्किने आशा कमै हुन्थ्यो । बाटोघाटो, प्रविधिको क्षेत्रमा धेरै सुधार भएको अहिलेको अवस्थामा त ती तीर्थस्थलहरू यति विकट छन् भने पहिले कस्तो थियो होला ?

Prabhu Bank
Agni Group
NIC Asia

त्यस बेला त्यहाँ पुग्ने बाटाहरू साह्रै साँघुरा थिए रे, अझ त्यसमा पनि घोडसवारहरू जोतिन आउने ! छिसिक्क केही भए भीरबाट सोझै खोल्सामा पुग्ने । लासै भेट्न पनि मुस्किल । मन्दिरसम्म पुग्न महिनौँ लाग्थ्यो ।

अहिलेको अवस्थामा पनि यो यात्रा सजिलो छैन । तर, धार्मिक आस्था हो । जीवनमा एकपल्ट चारधाम जानुपर्छ । ती तीर्थस्थल पुगेर श्राद्ध तथा दर्शन गरे आफू तथा पितृले मुक्ति पाउँछन् भन्ने पुरातन सोच धेरै हिन्दु धर्मावलम्बीमा अझै छ ।

Global Ime bank

समुद्र सतहदेखि ३,५८३ मिटर उचाइमा रहेको केदारनाथ शिवजीको बाह्र ज्योतिर्लिंगमध्ये एक मानिन्छ । त्यस्तै, बद्रीनाथ ३,१३३ मिटरको उचाइमा छ । गढवाल, उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा अवस्थित केदारनाथ मन्दिरनजिक मन्दाकिनी नदी बगेकी छन् भने बद्रीनाथमा अलकनन्दा नदी ।

इसापूर्व आठौँ शताब्दीमा आदि शंकराचार्य यस ठाउँमा पुगी केदारनाथ मन्दिरको निर्माण गरेका थिए । यसै ठाउँमा ध्यानमा बसी ३२ वर्षकै उमेरमा उनले निर्वाण प्राप्त गरेका थिए ।

सन् २०१३ को जुन महिनामा आएको बाढीले केदारनाथधाममा निकै ठूलो जनधनको क्षति पुर्याएको थियो । त्यस बेला त्यहाँ झन्डै तीन लाख तीर्थयात्री तथा पर्यटक अलपत्र परेका थिए । एयरफोर्स तथा आर्मीको सहयोगले एक लाख १० हजार मनिसको उद्धार गरिएको भए पनि ठूलो सख्यामा मानिस मरेका तथा बेपत्ता भएका थिए ।

त्यसपछिका दिनमा यहाँ तीर्थ गर्न आउनेका लागि अनलाइन रजिष्ट्रेसन अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यो साइट श्री बदरीनाथ केदारनाथ मंदिर समिति हो । यो ररजिष्ट्रेसन निःशुल्क हुन्छ । यसका लागि भारतीय सिमकार्ड चाहिन्छ ।

चारधाम पुगेमा म स्वर्ग पुगिहाल्छु वा मुक्ति प्राप्त गर्छु भन्ने विश्बास मभित्र छैन । तथापि, उमेर उकालो लाग्दै जाँदा आध्यात्मिक चिन्तन बढ्नु र आफ्नो धर्ममा आस्था बढ्दै जानु मानवीय स्वाभाव हो ।

आफ्नो परिवारका सदस्य वा विश्वासिला साथीबाहेक अरूको साथ यस्तो ठाउँमा जान हुन्न नै भन्छु । परिवारका सदस्य वा साथीसँगीसँगको साथ पाए यात्रा सुरक्षित मात्र हैन, रमाइलो पनि हुन्छ ।

यसपटक मलाई हेमराज भाइको भरपर्दो साथ मिलेका कारण धारधामका लागि जोस्सिएँ ।

हाम्रो यात्रा सन् २०२३ को मे महिनाका लागि तय गरियो । भाइ हेमकै नेतृत्वमा १० जनाको समूह गन्तव्यका लागि हिँड्यो । १२ मेका दिन हामी काठमाडौंबाट धनगढीतर्फ उड्यौँ । त्यस दिन त्यहीँ बास बसी भोलिपल्ट बिहान महेन्द्रनगर हुँदै साँझ करिब ५ बजेतिर हरिद्वार पुग्यौँ ।

गंगास्नानपछि साँझको हरिकी पैडीको आरती अवलोकन गर्यौँ । त्यहाँ साँझ आकाशबाती, पटाका पनि हुनेरहेछ । यो दृश्य पनि हेर्ने मौका मिल्यो । त्यसपछि बासका लागि नजिकैको एक आश्रममा पुग्यौँ ।

सुत्ने कोठा पंखाजडित, कोठासँगै जोडिएको बाथरुम, राम्रै व्यवस्था रहेछ आश्रममा । स्वयंपाक्यका लागि पनि भान्सा तथा भाँडाको व्यवस्था रहेछ । दाल, चामल, तरकारी पकाउन समान पनि त्यहीँ किन्न पाइने ।

दोस्रो दिन गंगा नदी किनारमा श्राद्ध तथा पूजापाठ सकेपछि हामी सबै यमुनोत्रीका लागि हिँड्यौँ । यात्रा देहरादुन, मसुरी, क्याम्टीफल झरनाको दृश्यावलोकन गर्दै अगाडि बढ्यो । सुन्दर बस्ती, हरियाली, पहाडी घुमाउरो बाटो, चिसो हावा, फिरफिर पात झरेको दृश्य मनमोहक थिए ।

करिब आठ घण्टाको यात्रापछि हामी जानकी चट्टी भन्ने स्थानमा पुग्याैँ । यो गाडी पुग्ने अन्तिम गन्तव्य रहेछ । यो ठाउँ निकै चिसो थियो । साँझ त्यहीँको होटेलमा बास बस्यौँ ।

दोस्रो दिन आफ्ना सबै सरसामान होटेलको एउटा कोठामा थन्क्याएर बिहानै ५ बजे यमुनोत्रीका लागि हिँड्यौँ । ६.५ किलोमिटरको उकालो यात्रा । उकालो हिँड्न भने लट्ठीले सहज गरायो । बाटोमा घोडसवार तथा तामदान सवारहरू थुप्रै भेटिन्थे । तामदानमा नेपाली गीत घन्केको हुन्थ्यो ।

तामदान बोक्ने मजदुरहरू नेपाली भएका कारण नेपाली गीत बजाइने रहेछ । सिँढीसिँढी भएको चौडा उकालो बाटो । बाटोमा ठाउँठाउँमा आराम गर्न फलामका बेन्चहरू बनाइएका थिए । साढे चार घण्टाको निरन्तर हिँडाइपछि हामी यमुनोत्रीधाम पुग्यौँ । त्यहाँको मौसम निकै चिसो थियो ।

यमुनोत्रीमा महिला र पुरुषका लागि स्नान गर्ने छुट्टाछुट्टै तातोपानीको कुण्ड रहेछ । नजिकैको धाराबाट बाफसहितको तातोपानी बगिरहेको । स्नानपछि हामी यमुनोत्री मन्दिर पुग्यौँ ।

यमुनोत्रीमा उम्लँदो पानीको मूलअगाडि एकजना पण्डा बसेका थिए । उनको हातमा कपडामा पोको पारेर ल्याएको चामल दिएपछि उनले तातो पानीमा केही बेर चोपे । कपडामा राखिएको चामल पाकेर भात बन्यो । त्यही भात प्रसादका रूपमा खाने÷बाँड्ने चलन रहेछ ।

यमुनोत्री माईको दर्शन गरेपछि हामी ओरालो लाग्यौँ । करिब ४ बजेतिर जानकी चट्टी बेसमा पुग्यौँ । त्यहाँ आफ्ना सामान गाडीमा हालेर गंगोत्री जान उत्तरकाशीतर्फ बढ्यौँ ।

उत्तरकाशी बाक्लो सुन्दर पहाडी बस्ती रहेछ । धेरैजसो घरहरू निलो तथा गुलाबी रङका । मन्द चिसो हावा बगेको आनन्ददायी मौसम । सफा सहर । मानिस पनि त्यस ठाउँका सरल स्वभावका । करिब १०० किलोमिटरको यात्रापछि हामी सबैजना त्यहीँ एउटा होटेलमा बास बस्यौँ ।

भोलिपल्ट बिहान सबेरै उठेर गंगोत्रीतर्फ लाग्यौँ । गंगोत्रीकोे यात्रा यमुनोत्रीजस्तो उकालो होइन रहेछ । मन्दिरको छेवैसम्म गाडी पुग्यो ।

उप्रान्त हामी मन्दिरनजिक बगेकी गंगेस नदीतिर लाग्यौँ । गंगाका बीचबीचमा ढुंगामा अड्केका लुगा माटाझैँ हल्लिरहेका । पछि थाहा भयो, मरेका पितृको नाममा तिनले लगाउने गरेको लुगा बगाइने रहेछ । खोलामा बगाएर नदी दूषित पार्नुको साटो यी लुगाफाटा आवश्यकता भएका कसैलाई दिएदेखि जिउ न्यानो हुन्थ्यो भन्ने सोचेँ ।

गंगाछेउमा श्राद्धकोे काम सकेर गंगोत्री देवीको दर्शन गर्न लाइनमा बस्यौँ । गंगोत्री मन्दिर १८औँ शताब्दीमा नेपालका जनरल अमरसिंह थापाले बनाएका थिए भन्ने पढेका कारण यो मन्दिर हेर्ने विशेष मन थियो । लाइनमा बसेर देवीको दर्शन गरेपछि त्यसै दिन साँझ हामी उत्तरकाशीनजिक अघिल्लो दिन बास बसेकै होटेलमा आयौँ ।

अर्को दिन बिहानै ६ बजे सोनप्रयागका लागि हिँड्यौ । दिउँसो ३ बजे त्यहाँ पुग्दा जोडले पानी परिरहेको थियो । चिसो हावासहितको वर्षा । हामी एउटा होटेलमा गयौँ । त्यही होटेलका मालिकले ठूलो पानी परेमा केदारनाथ जाने बाटो बन्द हुने हुँदा यात्रुलाई प्रवेशको अनुमति नदिइने कुरा सुनाए । उनले मन्दिर जान अपनाउनुपर्ने नियमका विषयमा पनि केही जानकारी दिए ।

बिहानै २ बजे त्यहाँबाट हिँडेर गौरीकुण्डतर्फ सक्दो चाँडो पुगे यात्रा सम्भव हुने कुरा उनले सुझाए । यति टाढा आएर दर्शन नगरी फर्किनपर्ने हो कि ! मन खिस्रिक्क भयो । सम्भव भए जाऊँला नभए यहीबाट ‘दर्शन भगवान्’ भनौँला भन्ने निष्कर्षमा हामी पुग्यौँ ।

योजनाअनुसार गौरीकुण्ड पुग्यौँ । नियमानुसार त्यहाँ सबैको यात्रा रजिष्टे«सन, चेकजाँच गराई गौरीकुण्डतर्फ लाग्ने सानो गाडीहरूको लाइनमा लाग्यौँ । गेट नखुलेका कारण पूरा दुई घण्टा त्यहीँ लाइनमा उभियौँ । बिहान ४ बजे पुलिस प्रशासनले गेट खोलेपछि लोकल भाडाको गाडी चढेर ५ बजे गौरीकुण्ड पुग्यौँ ।

त्यहाँबाट केदारनाथको २२ किलोमिटरको उकालो पैदलयात्रा सुरु भयो । बाटो चौडा नै थियो, तर पानी परेका कारण हिलाम्य । मान्छेको भीड त्यत्तिकै । यात्री चढ्न हिँडाइएका घोडाका ताँती (त्यहाँ दैनिक १४ हजार ५०० घोडा ओहरदोहर गर्ने रहेछन्) ।

डोको तथा डोलीमा सवारहरू पनि त्यत्तिकै धेरै । उकालो हिँडाइ सबैका लागि गाह्रो नै हुन्छ । त्यसमाथि अस्तव्यस्त व्यवस्था । हामीले हेलिकोप्टरको कुरा पनि सुनेका थियौँ । तर, यो पाउन सामान्य मानिसलाई गाह्रो मात्र हैन, असम्भव नै रहेछ ।

मैले आफू भने डोकोमा चढेर जाने निश्चय गरेँ । जाजरकोटे नेपाली रहेछन्, डोकोवाला रेशम । गफ गर्दै डोकोमा यात्रा गरियो । बाटोमा न कतै सुग्घर खाने ठाउँ न कतै ट्वाइलेटको नै प्रबन्ध । बाटोमा घोडाको लिदी गन्हाएर सासै फेर्न मुस्किल ।

मलाई रेशमले नौ घण्टामा माथि पुर्याए । मेरो समूहमा पैदल हिँडेकाहरू सबै १२ घण्टामा मन्दिरछेउ पुगे । अग्लाअग्ला हिउँ जमेका सुन्दर, लोभलाग्दो हिमालको फेदमा केदारनाथको सुन्दर मन्दिर देखिएपछि भने यात्राको चरम थकान मेटिएजस्तो भयो ।

दर्केर परेको पानीले लगाएका लुगा आधाउधी भिजेकोे थियो । केदारनाथमा असिनापानी कति बेला पर्छ थाहै नहुने । मसिनो पानी त दिनहुँ परिहेको हुँदो रहेछ । रुझेकै लुगामा लुगलुग काम्दै हामी मन्दिर दर्शनका लागि लाममा लाग्यौँ ।

साँझ ५ बजे खुल्ने भनिएको मन्दिरको ढोका ६ बज्ने बेलासम्म पनि खुलेको थिएन । लाइनमा उभिने सेडको छाना पनि सामान्य प्लास्टिकको रहेछ । लाइन मिच्दै अगाडि पुग्न खोज्ने मानिस पनि कम थिएनन् ।

साँझ साढे ६ मा बल्लतल्ल खुल्यो मन्दिरको ढोका । मन्दिरको द्वारमा पुग्दा ७ नै बज्न लागेको थियो । जसोतसो भगवान् दर्शन गर्ने मूलढोकानजिक पुग्यौँ । मूलकोठीमा सुन्दर कुँदिएका चाँदीका थुम्काजस्ता मूर्तिहरू देखिए ।

तर, केदारनाथ भगवान्को सक्कली स्वरूप कुनचाहिँ हो, ठम्याउन सकिनँ । १० सेकेन्ड नपुग्दै पण्डाले भक्तलाई चाँडै जान धकेलेर लाइनबाट पर पुर्याए । दोहोर्याएर लाइन बस्न पाउने व्यवस्था थिएन । यति दुःख गरेर पुगेको मन्दिरको दर्शन यति क्षणिक ! मन अशान्त भयो ।

बाहिर वातावरण निकै चिसो थियो । जोगीहरू भक्तहरूले बालेका धूपबत्ती मात्र हैन, कागज, प्लास्टिक, धूपका खोल बालेर हात सेकाइरहेका थिए ।

‘बाबाका प्रसाद लगाइए, यहाँ पे भेटी रखिए,’ उनीहरू आफूतिर मानिस बोलाइरहेका थिए । यस्तो चिसोमा भक्तहरूका लागि न्यानो, तातो हुने कुनै व्यवस्था, सुविधा कतै केही देखिएन ।

सन् २०१३ को बाढीपछि बिजुलीबत्तीको व्यवस्था अस्थायी रहेछ त्यहाँ । पाँच मिनेट आउने १० मिनेट जाने ! होटेल गर्नेहरू धेरैजसो कर्णाली प्रदेशका नेपाली थिए । त्यहीमध्येको एउटा छाप्रो होटेलमा हामी खाना खान पस्यौँ ।

यहाँ होटेल व्यवसाय वर्षमा चार/पाँच महिना मात्रै चल्ने रहेछ । अरू बेला चिसोले बस्न नसकिने । बत्ती गएका कारण दुई/तीनवटा मोबाइल बालेर होटेल उज्यालो पार्यौँ र हतारहतार खाना खायौँ । अनि, बास बस्न बुक गरिएको टेन्टमा पुग्यौँ ।

खुला मैदानमा बनाइएका टेन्टहरू । ओछ्यानका लागि फोम र तन्ना थिए । ओढ्नलाई स्लिपिङ ब्याग र ब्ल्यांकेट । चिसा भएका गोडा तताउन हातले समाउँदै ‘कसरी निद आउला यस्तोमा !’ भनी सोच्दै थिएँ, ‘भोजनभन्दा भोक मिठो, ओछ्यानभन्दा निद छिटो’ भन्ने उखान चरितार्थ भइहाल्यो !

मोबाइलको अलार्म बजेपछि निद खुल्यो । बिहानको ५ बजिसकेछ ।

टेन्टहरूको पछाडिपट्टि टेन्टकै चर्पी बनाइएको थियो । पालैपालो त्यसमा पसेपछि हामी फर्किन ओरालो लाग्यौँ ।

मेरो यात्रा डोकोमा थियो, बसेँ । रेशमले सटकट बाटोबाट पो ओराल्न थाल्यो ! यसो हेरँे ठाडो न ठाडो भीर । ढुंगे गड्याङगुडुङ कच्ची बाटो । भीर तल गंगा वेगमा बगेकी । कतै कुनै संयोगले भरिया लडिहाले आफू पहिला डोकोसहित गंगामा पुग्ने निश्चित छ ।

मन एक छिन त निकै डरायो । तर, बुझाएँ आफैँले । यहीँ मर्न लेखेको भए मरिएला, किन चिन्ता गर्नु ? केदारनाथ शरण ! चार घण्टामा रेशमले मलाई गौरीकुण्ड बेसक्याम्प सकुशल पुर्याए ।

केदारनाथको बेसक्याम्प गौरीकुण्ड नामले प्रख्यात छ । यो सबभन्दा बढी तीर्थयात्री पुग्ने स्थल हो । पार्वतीले शिवजीको मन जित्न यसै ठाउँमा आएर तपस्या गरेकी थिइन् भन्ने किंवदन्ती छ । भनिन्छ– यो ठाउँमा स्नान गरेमा शिवपार्वती दुवैबाट मागेको वरदान पाइन्छ ।

यही भनाइ पछ्याउँदै हामी गौरीकुण्डमा स्नानका लागि अग्रसर भयौँ । तर, कुण्ड निकै सानो र पानी अति नै फोहर देखेपछि त्यसैनजिक बग्ने मन्दाकिनी नदीमा गंगा स्नान गर्न गयौँ । बहाव ठूलो भए पनि पानी निकै धमिलो थियो ।

तीर्थ आएका बेला सफा पानी कहाँ खोज्ने ? भन्दै स्नान गर्न जब हामी नदीमा पस्यौँ, यताउताबाट दुर्गन्ध आयो । अगाडि–पछाडि हेर्दा त नजिकै मलमूत्र तथा नाली बगिरहेको । छिः छिः हामी घिनाउँदै हत्तपत्त पानीबाट बाहिरियौँ । गौरीकुण्ड त गुहु कुण्ड पो पारेछन् मान्छेले !

तीर्थको जल घर लैजाने प्रचलन छ । अब यस्तो ठाउँको जल कसरी लैजान श्रद्धा हुन्छ र ? धर्मिकस्थलहरूमा यस्तो अचाक्लीको बेथिति हुँदा धर्मिक आस्था नै खलबलिन्न र ? के हेर्छ होला यो ठाउँको व्यवस्थापन समितिले ? किन पुर्याउँदैन यस्ता कुरामा ध्यान ?

हामी छक्क र दिक्क भयौँ । कलिमा धर्म र इमानको चोखो बिउ खोज्ने मान्छे नै मूर्ख र अन्धभक्त हुन् कि कतै ? प्रश्न आफैँलाई सोधँे । त्यसपछि हाम्रो यात्रा बद्रीनाथधामका लागि अघि बढ्यो ।

त्यसै दिन हामी सोमप्रयागमा पुग्यौँ । अपराह्न त्यहीँ होटेलमा खाना खाएर बद्रीनाथको मन्दिरतिर अघि बढ्यौँ । रातको ९ बजेतिर बीचबाटोमै रहेको एउटा होटेलमा बास बस्याँै । भोलिपल्ट बिहान ६ बजे त्यहाँबाट फेरि यात्रामा अघि बढ्यौँ ।

बद्रीनाथ जाने बाटो भने फराकिलो । पिचरोड भर्खर भएजस्तो सललल चिल्लो । करिब १२ बजे हामी बद्रीनाथ मन्दिर पुग्यौँ । मन्दिरनजिक अलकनन्दा नदी वेगमा बगेकी । तर, यहाँ पनि जताततै फोहोर । मलमूत्र भने वरपर देखिएन ।

त्यहाँ पनि श्राद्ध र पूजाको काम सम्पन्न भयो । त्यहीँ गंगामा स्नान गर्दागर्दै मानिस बगेको पनि प्रत्यक्ष देखेँ । धर्मका नाममा धेरै भावुक हुँदा ज्यानै जान सक्ने कुरामा सतर्कता अपनाउनु जरुरी हुन्छ । श्राद्ध सकिएपछि हामी सबै बद्रीनाथ मन्दिर दर्शनका लागि लाइनमा उभियौँ ।

मन्दिर पुग्ने सिँढीमा रेलिङ थिएन । बलियाबांगाहरू धक्कामुक्का गर्दै अगाडि पुग्न आतुर थिए । यस्तै भीडमा सर्दैसर्दै विस्तारै हामी मन्दिरको मूलद्वारमा पुग्यौँ । तुलनात्मक हिसाबमा यहाँ भगवान्को आकृति राम्ररी दर्शन गर्र्न पाइयो ।

दर्शनपश्चात् त्यसै दिन हामी मन्दिरबाट १० किलोमिटर तल आएर बास बस्यौँ र अर्को दिन नैनितालको बाटो हुँदै राति ८ बजे हलद्वानी पुग्यौँ । २१ तारिख एक रात हलद्वानीमा बिताएर यात्रा सुरु गरेको १०औँ दिनमा हामी साँझ ६ बजे धनगढी आइपुग्यौँ ।

साँझ एकान्तमा सोच आयो– ओहो ! यति कठिन यात्रा गरेर पनि धार्मिक आस्था प्रकट गर्न भक्तहरू चारधाम पुुगेका छन् । तीर्थयात्रीमा नेपाली पनि बाटोमा धेरै देखिए । हाम्रो देशमा पनि पशुपतिनाथ, गुह्वेश्वरी, गोकर्णेश्वर महादेव, मुक्तिनाथ, बागलुङ कालिका, गोसाइँकुण्ड, चतराधाम, पाथीभरा, रामजानकी मन्दिर, खप्तडधाम, उग्रतारा, त्रिपुरासुन्दरी, बडीमालिकालगायत थुप्रै साक्षात् देवीदेवता अवस्थित धार्मिक–सांस्कृतिक तीर्थस्थलहरू छन् ।

गण्डकी, कोसी, कर्णाली, मेची, महाकालीजस्ता थुप्रै विशाल नदीहरू छन् । सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालुजस्ता अनेक प्राकृतिक मनमोहक हिमशिखरहरू छन् । ती ठाउँहरूमा सुलभ तथा सहज रूपमा ठूलो संख्यामा धार्मिक पर्यटक पुर्याउन सके पर्यटकले धार्मिक आस्था पूरा गर्नुका साथै मनोरम प्रकृतिको आनन्द लिँदै जीवनको यथार्थ बुझ्ने मौका पाउँथे ।

यति मात्र होइन, धार्मिक–सांस्कृतिक पर्यटन विकास गर्न सके देश नै समृद्ध हुने थियो । यसका लागि राज्यका सबै क्षेत्रबाट पहल होस् भन्ने आशा राख्दछु ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC