site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नाटकीय
Sarbottam CementSarbottam Cement

उसलाई एउटा अनुरोध आयो, रचना पठाउनोस् । उसको मुड ठिक थिएन । मुड यस कारण ठिक थिएन, घरमा उसले चाहेजस्तो व्यवस्था भइरहेको थिएन । बिहानै पत्नीले ताना कसेकी थिई, ‘कस्ताकस्ताका छोरा प्रतिनिधिमण्डलमा दिल्ली गए, हाम्राचाहिँ...।’

पत्नी वाक्य अधुरै छाडेर व्यंग्य कस्नमा माहिर थिई । उसले कैयौँपटक भनिसक्यो, ‘यस्तो गाउँले बानी छाडौँ हौ ।’

पत्नी पश्चिमतिरकी थिई, ऊ पूर्वतिरको । भाषाको थोरै अनमेल थियो । तर, भाषाको छेकबार थिएन । छोराछोरी जन्मेका थिए, त्यसमा पूर्वपश्चिमको अवरोध थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यंग्यात्मक ताना घरमा चलिरहन्थ्यो । रचना माग्नेले पनि व्यंग्य रचना नै मागेको थियो । यस बेला रचना तयार हुने कुरो पनि थिएन । पत्नीसित रिसाएको झोकमा फोन गरेर भनिदियो, ‘भाइ, मैले लेख्न छाडिसकेँ ।’

वास्तवमै ऊ लेख्न छाड्ने विचारमा थियो त ? यसको उत्तर गम्भीर थियो । तर, यो समयको गर्भमा तय हुँदै थियो ।

Global Ime bank

उताको हाँस्यो । भन्यो, ‘दाइ रिसाएजस्तो छ । बिहानको रिस प्रत्युपादक हुन्छ । व्यक्तित्वलाई निस्तेज पार्छ । म त दाइ योगा सेन्टरमा गएर आएको, रिस मार्ने काम पनि गर्छ है दाइ योगले ।’

खग्गु रहेछ । अगिल्ला रचनाहरूका बारेमा केही बोलेन । अहिले रचना माग्न फोन गरिरहेछ ।

दुईचारपटक फोन गरिसकेको थियो, पारिश्रमिक पाइन्छ कि भनेर । जवाफ छैन । घरमा पत्नीको जोड रहन्थ्यो– पैसा नदिए पनि लेखेर पठाउने गर, नाम त हुन्छ ।

उसलाई रिस उठेको बेला अलि कराएरै भन्थ्यो, ‘नामलाई के गर्ने, चाट्ने ?’

पत्नीले भन्थी, ‘चाट मसलाको विज्ञापन पनि आइरहन्छ, चाट्ने बेलामा त्यो मसला पनि छर्कनु नाममाथि । कि लेख्न सक्दिनँ भन्नु कि पैसा नपाई लेख्दिन भन्नु । किन चिच्च्याउनुपर्यो मसँग, तिम्रा रचना मैले छाप्ने गरेकी छु र ?’

यसको जवाफ छैन । उसले भन्यो उताको भाइ भन्नेलाई, ‘योग त गर्नु हुन्थ्यो, तर पेटमा चारो नभएपछि के गर्ने ? भोको पेट नाम कमाउनु छैन ।’

उताकाले उसलाई अलमल्याउन भन्यो, ‘त्यो त हो दाइ । बजेट त आइसक्यो, तर मुलुकमा पैसो छैन । बजेटबारे दाइको विचार पनि होला । तर दाइ, रचना त चाहिने हो । साहित्य धेरै सुकेर गएको छ । मौका छ ।’

उसले कुरो बुझ्यो । साहित्य सुक्यो भनेपछि साहित्यमा बाढी ल्याउन ऊ तम्सिन सक्छ । यति लामो जीवन साहित्यमै अलमलिएर बितायो भनेपछि साहित्यलाई दुर्गतितिर जाकिन दिन सक्दैन ऊ । आवेशमा आएर एउटा रचना सिर्जना गरिहाल्ला, साहित्यको इज्जत जोगाउन ।

‘अनि के भाइ, साहित्य सुकेकोमा मैले के गर्ने ? भनेँ नि, लेख्न छाडिसकेँ ।’ उताको फिस्स हाँस्यो, भर्खर योग गरेर आएकाले हाँसोमा संयमता सुनियो ।

‘ठिकै हो दाइ, नलेख्नु पनि एउटा राहत हो । साहित्यलाई लेखेर गिजोल्नेहरू पनि छन् र नलेखेर कल्याण गर्नेहरू पनि छन् । तर, दाइको क्याटगरी यो होइन ।’

उसलाई एउटा यो सम्बोधनमा पनि रिस उठिरहेको थियो, दाइ दाइ भनिरहेछ र आत्मीयता बटुल्न चाहिरहेछ । दाइभाइको अंशबन्डाको अन्यायमा परेको थियो ।

भाइ भनाउँदोले फोन काटेपछि को हो को हो गर्ने छ । अचेल उसका दाइभाइ ऊ भएतिर फर्केर आउँदैनन् । अहिलेको यो भाइले यताबाट फोनका फोन दिँदा पनि उठाउने होइन ।

एउटा साथी छ उसको, जसले सापट लिएको तिर्न खोज्दैन र फोन त झन् उठाउँदै उठाउँदैन । अहिले यो रचना माग्ने काम पनि सापटी असुल्न उताबाट फोन गरेजस्तो छ । रचना त ऊसँग छैन । लेख्ने कामदेखि उसलाई रिस उठेको छ, विरक्ति लागेको छ ।

‘दाइ यो अवसर गुमाउनु भएन,’ उताको भाइ भनाउँदोले मिठो वचनमा भन्यो । रस त घोलेको थिएन, तर सामान्यतः चिनी कम भयो भन्ने चियाजस्तो थियो बोली ।

‘कस्तो अवसर भाइ ? प्रतिनिधिमण्डलमा दिल्ली जान पाइने अवसर हो कि ?’ 

उताकाले एक चम्चा चिनी थपेर भन्यो, ‘दाइका कुरा पनि ! म गर्छु आग्राका कुरा, दाइका कुरा गाग्राका ।’ उसले बीचैमा आफ्ना कुरा भनिहालेको थियो, थपमा तर्कजाल ओछ्याउन चाहेन ।

मन मारेर भन्यो, ‘लेखिन्न भाइ लेखिन्न, कति लेख्नु ?’ उसको रिस मर्न लागेको थियो, धुकधुकी मात्र बाँकी थियो ।

एक कप चियाको तलतल पनि लाग्यो । भित्रतिर फर्केर माग्नु भनेको अरिंगालको गोलामा हात हाल्नुसरह थियो । भात पाक्नलायक समय भइसकेको छ । अहिले चियाको अवसर छैन ।

घरमा चिनीको अभाव हुनसक्छ, चियापत्तीको पनि । अझ थपमा चामल सकिन लागेको पनि हुनसक्छ र ग्यासले काया फेर्ने समय आइसकेको पनि हुनसक्छ । त्यो झोमलोमा चियाको फर्माइस ! सगरमाथाको चुचुरबाट हामफाल्ने जोखिम मोल्नुसरह थियो ।

बाहिर गएर खानु भनेको चियाको पैसा तिर्न नसकेर रित्तो खल्ती टकटकाएर देखाइदिए पनि साउले मान्ने होइन र जुठा गिलास पखाल्ने काममा भर्ती हुनुपर्ने हुनेछ ।

भित्रभित्रै दिक्दारीले पेल्दै थियो । रचना माग्नेसँगको रिस पनि सामसुम हुनतिर अग्रसर थियो । जन्मँदै गर्भमा तुहिएको शिशुसरह रिस तुहिन चाहिरहेको छ । 

‘भाइ, अब यो कुरा नगरूँ है ।’

उताको भाइले बुझ पचाएरै भन्यो, ‘कुन कुरो दाइ ?’ 

उताको भाइले गरिरहेको दाइ सम्बोधनलाई ऊ निषेध गर्न चाहन्थ्यो, तर आधार बनिरहेको थिएन ।

‘यै कुरो के भाइ, रचना पठाउनोस् भन्ने ।’ उताको भाइ एक छिन मौन बस्यो । यस्तो लाग्यो, फोन काटियो ।

राहतको सास फेर्नै लाग्दा भाइले भन्यो, ‘यो एउटा कुरा हुनै नसक्ने पर्यो दाइ ।’

यताबाट उसले फिक्का स्वरमा सोध्यो, ‘किन ?’

उता दाइको उत्साह मरेको स्वर भाइले बुझ्यो, जवाफमा भन्यो, ‘कामै यत्ति हो । तलब पनि यसैका लागि खाइएको छ । दाइसित नभए अरूसँग माग्ने । माग्ने काम हो नि दाइ, माग्दा खप्की सहनैपर्छ ।’

उसले खप्की सहनैपर्छ भन्ने अंशलाई झिकेर भन्यो, ‘अरूसँग माग्नोस् न त, मलाई नसताउनोस् ।’

‘मागूँला दाइ, तर दाइ पुरानो लेखक, मौकाको उपयोग गर्नुहोला भनेर नि दाइ ।’ 

‘कस्तो मौका ? अगिदेखि यही कुरो दोहोरिरहेको छ ।’

उताको भाइ मुसुक्क परेजस्तो छ । भन्यो, ‘विशेष व्यंग्य अंक हो के दाइ, बायोडाटा र रचना छाप्ने निर्णय गरिएको छ नि ! दाइ पनि व्यंग्य लेख्नुहुन्छ । अनि, रचनाको साथै फोटो त चाहियो चाहियो । यता दाइको फोटा उही पुरानो आइरहेछ । रिसेन्ट फोटो एउटा चाहियो ।’

उसले सोच्यो– त्यो त हो । बायोडाटा पनि जाओस् र फोटो पनि । कसको छोरो कहाँ जन्मेको, किन जन्मेको भनेर सोधिन्न । त्यो सुविधा छ र कहिले जन्मेको आदि सोधिपठाउँछन् ।

कहाँ जन्मेको भनेर सोध्नुमा विचारमा हावापानीको प्रभाव वा लेखनमा मलजलको पर्याप्तता वा अपर्याप्तता बुझ्नलाई होला । फोटो अझ रिसेन्टको चाहियो रे !

कुनै केसमा परेको छैन ऊ अहिलेसम्म । नत्र अनुहार देखाउन लायकको रहने थिएन । कुनै बलात्कार वा घुसकाण्डमा अथवा नक्कली शरणार्थी प्रकरणमा समातिएको छैन । त्यसैले फोटो पठाउन सक्छ । तर, अनुहार त्यति चार्मिङ छैन ।

‘पुरानै छाप भाइ’ भन्न तम्सिएको बेला उताको भाइले भन्यो, ‘सोच्नोस् दाइ, टाइम छ ।’

टाइम छैन । घरमा धेरै अभाव छ । टाइम उसले लेखनमै सक्यो । यता भाइले टाइम छ भन्यो, वार्ता क्लासिक बनाउने प्रयत्नमा छ ऊ । पछि गएर इन्टरभ्युमा उपयोग गर्न पनि सक्छ । क्लासिक नभए ऐतिहासिक वार्ता ।

यताबाट उसले भन्यो, ‘सोच्दै छु भाइ । त्यही एउटा काम बाँकी छ...।’

उसले भन्न्न चाहिरहेको जे थियो, त्यसलाई बीचैमा कुलो काटेर अन्यत्र लगाउन पानी लगेझैँ भाइले भन्यो, ‘सोच्न समय पर्याप्त छ दाइ । तर, लेख्दिनँ नभन्नोस् । त्यसले लेखकीय निराशा व्यक्त हुन्छ ।’

उताको भाइले कुरा लम्ब्याउँदै थियो । अहिले बैँसको जोस होला, त्यै भएर लेख्दिनँ नभन्नोस् दाइ भन्दै छ ।

वार्ता लम्ब्याओस् । जति लम्ब्याउने हो लम्ब्याओस् । पैसा उसैको जाने हो फोनको । उसले पनि सोचेको मुद्रा बनायो, केही सेकेन्ड खर्चिन । आफ्नो जाने के हो र ?

उताबाट भाइले तर्सेको स्वरमा हेलो गर्यो, बुढाले फोन बाटेर बाटो लागे ? बाटो लाग्नुको अनेक अर्थ हुन सक्थ्यो । तर, उसले उताकोलाई उत्साहित गराउन मिठै स्वरमा हेलो भनिदियो र थप्यो, ‘सोच्न भनेकोले सोच्दै थिएँ ।’

भाइ हाँस्यो र भन्यो, ‘फोनमा सोच्ने बानी नगर्ने के दाइ, यसले पैसा बढी माग्छ ! अनि भन्नुस्, के सोच्नु’भो ? यति लामो कुरो गरेदेखि त उताकाले नेपालको विद्युत् उत्पादन सबै किनिदिन्छौँ भन्ने थिए । हाम्रो व्यापार घाटा पनि कम हुने थियो ।’

भाइले यो एउटा कुरोलाई नयाँ बनाउन खोज्यो, जुन पुरानो भइसकेको थियो, व्यापार घाटा । उसले भन्यो, ‘म लेख्न सक्दिनँ भाइ ।’

उताको भाइ एउटै ढिपीको उत्तर सुन्दासुन्दा अलि गरम भएजस्तो लाग्यो । यद्यपि, फोनबाट गर्मी सरेर आउने सवाल थिएन । तर, यति अनुनयविनय गर्दा पनि नपग्लेपछि मनमनै रिसायो होला र रुखो स्वर बनाएर सोध्यो, ‘किन ?’

‘किनभने...,’ यहाँँ वार्ता अन्त्य गर्न एउटा नाटकीय पटाक्षेप चाहिएको थियो, जुन जवाफ सुनेर कममा पनि उताको भाइ चमत्कृत होस् । पाठकका कुरा पछि तर त्यस्तो जवाफ ऊसित थिएन ।

तर, किनको जवाफ त चाहियो चाहियो । उसले भन्यो, ‘किनको जवाफ मसित छैन । मैले लेख्दिनँ भनेपछि...।’

उता भाइले फोन काट्यो । यस्तासित वार्ता गरेर के लाभ !

भित्रबाट पत्नीको असहाय स्वर आयो, ‘ग्यास सकियो, अब भात केले पकाउने हो ?’

   

 
     

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC